• ९ मंसिर २०८१, आइतबार

त्रिभुवन विश्वविद्यालयमा अनुसन्धान

blog

टाइम्स हाइअर एजुकेसन वल्र्ड युनिभर्सिटी र्‍याङ्किङ, २०२३ अनुसार त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्ख्याका आधारमा संसारकै ठूलो विश्वविद्यालय हो। उक्त संस्थाका अनुसार नेपालको स्थान विश्वस्तरमा ८०१–१००० र एसियालीस्तरमा २०१–२५०औँ स्थानमा रहेको उल्लेख छ। उक्त संस्थाले गरेको श्रेणीकरणको आधार भनेको शिक्षण अभ्यास विश्वविद्यालयको आय, विद्यार्थी–शिक्षक अनुपात, अनुसन्धान र प्रकाशन हो। नेपालको उच्च शिक्षाको विकासमा त्रिविको भूमिका उल्लेखनीय मात्र होइन, प्रशंसनीय भएको भन्दा अतिशयोक्ति हुँदैन। 

विश्वविद्यालयको बृहत् भौतिक, आर्थिक, प्रशासनिक संरचनाको व्यवस्थापन उचित तवरले हुन नसक्दा विभिन्न समस्या देखा परेका छन्।। २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् विश्वविद्यालयमा अति राजनीतीकरण भयो। प्राध्यापक, कर्मचारी तथा विद्यार्थी विभिन्न दलमा आबद्ध भए। त्यसैले यसको नकारात्मक प्रयोग र सोको दुष्प्रभाव यस प्राज्ञिक थलोमा परेको छ। विश्वविद्यालयका विविध खालका चुनौती छन्। विश्वविद्यालयमा समस्याको समाधानका लागि वर्तमान उपकुलपतिबाट १५ सूत्रीय सुधार कार्ययोजनाबाट सम्बोधन गर्न खोजेको अनुभूति हुन्छ। २०७६ मङ्सिर १३ गते सार्वजनिक १५ सूत्रीय कार्ययोजनामा प्रविधिमैत्री विश्वविद्यालय, अनुसन्धान कार्यलाई प्राथमिकता, निश्चित शैक्षिक पात्रोको व्यवस्था र त्यसको पालना, परीक्षा प्रणालीमा व्यापक सुधार तथा विकेन्द्रीकरण, बजारमुखी, स्वरोजगारमूलक तथा देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादन, प्राध्यापकहरूको क्षमता अभिवृद्धि गरी पेसाप्रति उत्प्रेरणा जगाउने कामको थालनीलगायतका रहेका छन्। 

यसका साथै आङ्गिक तथा सम्बन्धनप्राप्त कलेजहरूको प्रभावकारी नियमन, पाठ्यक्रम परिमार्जन, उच्च शिक्षातर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने, कलेजहरूमा खेलकुदको व्यवस्था र सम्बन्धनप्राप्त कजेलहरूले १० प्रतिशत छात्रवृत्तिलाई कार्यान्वयन गर्ने, त्रिवि अल्मुनाईलाई विश्वविद्यालयको हितमा प्रयोग, सुशासनमा जोड, त्रिवि ऐन–नियमको समयसापेक्ष परिमार्जन तथा संशोधन गर्दै कानुनी रूपमा विश्वविद्यालयलाई सबल बनाउने रहेका छन्। यथार्थमा शिक्षा र ज्ञानको उद्देश्य भनेकै मानवीय चेतनालाई पर्गेल्दै सत्यता र सामाजिक न्यायको रक्षा गर्नतर्फ उन्मुख गर्नु हो।

अर्कोतर्फ व्यावहारिक रूपमा ज्ञान र शिक्षाको उद्देश्य अर्थोपार्जनका लागि योग्य हुनु पनि हो। विद्यार्थी भर्नाका आधारमा सबैभन्दा ठूलो र नेपालकै सबैभन्दा पुरानो विश्वविद्यालय त्रिवि मूलतः अध्ययन अध्यापन गर्ने विश्वविद्यालयका रूपमा स्थापित छ। अनुसन्धानमा विशेष जोड दिँदै अनुसन्धानमय विश्वविद्यालयतर्फ त्रिविको अग्रसरता रहेको छ। यस सम्बन्धमा त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको कथन छ– पठनपाठनमा हाम्रा प्राध्यापकले आफ्नो कर्म राम्रो गर्नुभएको छ तर अनुसन्धानमा न्यू्न मात्र काम भएकाले त्यसमा विशेष जोड आवश्यक देखिन्छ। 

उहाँको तर्क छ– अनुसन्धान गरेपछि आविष्कार हुन्छ। आविष्कार भएको प्रविधि वस्तु, सूत्र वा ज्ञानबाट समाज, राष्ट्र, विश्व, समग्रमा मानव जाति नै लाभान्वित हुन्छन्। हुन त विश्वविद्यालयमा अनुसन्धानले प्रश्रय पाउँदा धेरै नै शुभपरिणाम देखिन्छन्। जस्तो– शैक्षिक गुणस्तरमा वृद्धि, अनुसन्धाताको व्यक्तित्वमा वृद्धि, विद्यार्थीमा सकारात्मक प्रभाव र प्रेरणा, प्रकाशनमा अभिवृद्धि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक आदानप्रदान हुने वातावरणको सिर्जना, विश्वविद्यालयको प्रतिष्ठामा अभिवृद्धि भई यसबाट राष्ट्रकै गौरव बढेर जान्छ। अनुसन्धान भनेको आविष्कार, कुनै कुरा खोज्ने वा पत्ता लगाउने काम, नयाँ सत्य वा तथ्यको खोजी भन्ने व्याख्या गरिएको छ। 

अनुसन्धानको अर्थ कुनै पनि विषय वा क्षेत्रमा व्यवस्थित तथा वैज्ञानिक रूपमा नयाँ ज्ञानको खोजी वा स्थापित ज्ञानको पुनः परीक्षण भन्ने अर्थ लाग्छ। अनुसन्धानमा आधारित विश्वविद्यालयका निमित्त अनुसन्धान हुन आवश्यक हुन्छ। त्रिविले ज्ञान विस्तार गर्ने कार्य निकै अघिदेखि गर्दै आएको छ तर ज्ञान निर्माण गर्ने कार्य अनुसन्धानले गर्छ। हाम्रो विश्वविद्यालयलाई ज्ञान निर्माण गर्ने तहमा पु¥याउने आधार सिर्जना अनुसन्धानले गर्छ। त्यसका निमित्त आर्थिक स्रोतको सङ्कलन सबैभन्दा सर्वोपरि हुन्छ। जसका निमित्त नेपाल सरकार र त्रिविको आन्तरिक स्रोतबाट ३८ करोड विनियोजन गरिएको छ। 

जसको परिचालन अनुसन्धान समन्वय तथा विकास परिषद्बाट हुन्छ। जसको अध्यक्षता शिक्षाध्यक्षले गर्दछन् र सो परिषद्को सचिवालयका रूपमा अनुसन्धान निर्देशनालय रहेको छ। अनुसन्धान निर्देशनालयका निर्देशक अनुसन्धान समन्वय तथा विकास परिषद्को सदस्य–सचिवका रूपमा रहने व्यवस्था छ। मुख्यतः यसले राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रमा अनुसन्धान गर्नका लागि समन्वयकारी भूमिका निर्वाह गरेको पाइन्छ। नेपाल सरकारको दिगो विकासको लक्ष्य, आवधिक योजना, नीति तथा कार्यक्रमद्वारा निर्धारण गरिएका प्राथमिकताप्राप्त क्षेत्रलाई नै राष्ट्रिय प्रथामिकताप्राप्त क्षेत्र भन्ने बुझिन्छ। 

जसअन्तर्गत स्वास्थ्य तथा शिक्षा, प्राकृतिक स्रोतसाधनको व्यवस्थापन, जनसङ्ख्या, बसाइँसराइ तथा मानव बस्ती, सुरक्षित बसोबास, राष्ट्रिय अर्थत्रन्त्र, गरिबी निवारण तथा समृद्धि, जलवायु तथा अनुकूलन, विपत् व्यवस्थापन, जैविक विविधता, सुशासन, सङ्घीयता तथा वित्तीय व्यवस्थापन, ऊर्जा, सहरीकरण तथा सहरी पर्यावरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा, पूर्वधार विकास तथा योजना, कृषि पर्यटन तथा उद्यमशीलता, प्राविधिक विकास र प्रयोग, भाषा, कला साहित्य, संस्कृति एवं समाज विकास र विज्ञान प्रविधि तथा इन्जिनियरिङ राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रअन्तर्गत पर्दछन्। त्रिविमा विभिन्न तहका अनुसन्धान कार्य पनि भइरहेको छ। 

नवप्रवर्तनात्मक अनुसन्धान अनुदान

यो अनुसन्धान अनुदान त्रिवि अनुसन्धान केन्द्रलाई मात्र प्रदान गरिन्छ। त्रिविअन्तर्गत चार अनुसन्धान केन्द्र रहेका छन्। नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), अर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र। यो परियोजनाको रकम एक करोड रुपियाँसम्मको राखिएको छ र यसको अवधि तीन वर्षको तोकिएको छ।

उत्कृष्टता अनुसन्धान अनुदान

त्रिविले शिक्षण सिकाइ र अनुसन्धानको माध्यमबाट शिक्षकको अनुसन्धान क्षमता र क्रियाकलापमा अभिवृद्धि गर्दै अनुसन्धान संस्कृतिको विकास गर्ने उद्देश्यले यो अनुदानको व्यवस्था गरिएको हो। यो अनुसन्धान परियोजनको रकम पचास लाख रुपियाँसम्मको र समय अवधि तीन वर्षको तोकिएको छ। 

विशेष अनुसन्धान अनुदान

त्रिविले अनुसन्धान परियोजनामार्फत शिक्षकको अनुसन्धान क्षमता र गतिविधिलाई अभिवृद्धि गरी अनुसन्धान संस्कृतिको वृद्धि गर्ने ध्येयले यो अनुदानको व्यवस्था गरिएको छ। यो अनुसन्धान परियोजनाको अनुदान रकम २० लाख रुपियाँसम्मको र समय अढाई वर्षको तोकिएको छ। 

उदीयमान अनुसन्धानकर्ता अनुसन्धान अनुदान

यो अनुसन्धान अनुदानले त्रिविमा कार्यरत शिक्षकको अनुसन्धान क्रियाकलापमा पहुँच बढाउँदै विश्वविद्यालयमा अनुसन्धान संस्कृतिको विकास गर्ने र त्रिविका उदीयमान अनुसन्धानकर्ताको अनुसन्धानको स्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। यो अनुसन्धान परियोजना दुई वर्ष अवधिको र अनुदान रकम दस लाख रुपियाँसम्मको तोकिएको छ। 

विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार मातहतका विभिन्न परिषद्, संस्थान, सङ्काय, क्याम्पस र तिनका सञ्चालकका साथै सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीको अन्तत्र्रिmयाबाट त्रिवि सञ्चालित छ। त्रिविपछि नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा, काठमाडौँ, लुम्बिनी बौद्ध, मध्यपश्चिम, सुदूरपश्चिम, कृषि तथा वन विज्ञान, खुला र राजर्षि जनक विश्वविद्यालय सञ्चालनमा छन्। संस्कृत विश्वविद्यालय हुँदै राजर्षि जनक विश्वविद्यालय सञ्चालनमा आए पनि त्रिविमा विद्यार्थीको चाप कम हुन सकेको छैन। झन्डै ८० प्रतिशत उच्च शिक्षाको भार अझै त्रिविमा नै छ। 

सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार चार लाखभन्दा बढी विद्यार्थी त्रिविअन्तर्गतका विभिन्न संस्थान र सङ्कायमा भर्ना भएका छन्। हाल त्रिविअन्तर्गत आठ हजार ३४० प्राज्ञिक तथा शैक्षिक जनशक्ति तथा सात हजार ६७४ प्रशासनिक जनशक्ति देखिएको छ। त्रिविले पछिल्लो समयमा गुणस्तर सुधार, अनुसन्धानलाई प्राथमिकता, शिक्षामा प्रविधिको प्रयोग, बजार र अर्थतन्त्रको प्राथमिकताका क्षेत्रमा आङ्गिक क्याम्पसमा विभिन्न कार्यक्रम विस्तार, सेमेस्टर प्रणालीको विस्तार, क्रेडिट ट्रान्सफरको व्यवस्था, खुला तथा दूर शिक्षाबाट पनि पठनपाठन सञ्चालन, परीक्षामा प्रविधिको प्रयोग, प्रशासनिक प्रणालीमा प्रविधिको विस्तार, ई–हाजिरीको व्यवस्था आदि सुधारका कार्यक्रमले गर्दा त्रिविमा उल्लेखनीय सुधारको अनुभूति गर्न थालिएको छ। 

लेखक त्रिवि अनुसन्धान निर्देशनालयका उपप्राध्यापक हुनुहुन्छ।