• ९ मंसिर २०८१, आइतबार

आदर्श पुरुषको स्मरण

blog

स्वर्णभूमि लङ्का विजयपछि भाइ लक्ष्मणले दाजु रामलाई यतै बसौँ अब भन्दा श्रीरामले भन्नुभयो, “मलाई जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारो लाग्छ, त्यसैले यता नबसौँ, आफ्नैतिर जाऊँ।” सायद अहिले पनि यो भनाइ सार्थक नै छ। आज चैत्रशुक्ल नवमी अथवा रामनवमी हो। 

भागवतमा अहं सर्वेषु भूतेषु भनिएको छ, अर्थात् ईश्वर सबै प्राणी जगत्मा रहेका छन्। पूर्वीय चिन्तनमा परमेश्वरको चर्चा सबैतिर छ। परमेश्वर, परमतत्व, ब्रह्मभाव सबै जीवात्मामा निराकार रूप लिएर चित् स्वरूपमा रहेको र जगत्मा सगुण, साकार स्वरूप लिएर सर्वत्र, सर्वव्यापी भएको धर्मशास्त्रले पुष्टि गरेका छन्। हाम्रा श्रुति (वेद)हरूले परमतत्व जीवात्मामा आराम तत्व लिएर हरप्राणीमा राम रहेको बताएका छन् भने स्मृति (पुराण)हरूले परमेश्वरका परमलीला प्रसङ्ग, अवतार कथा रसिलो ढङ्गले प्रस्तुत गरेका छन्। 

परमेश्वरका अनेक अवतारमध्ये त्रेतायुगीन ज्ञानको युग मानव जीवनको अध्ययनको आरम्भको दिन स्मरणस्वरूप चैत्रशुक्ल मध्याह्न १२ बजे धर्तीमा अवतरित श्रीराम अवतारलाई श्रीहरिको पूर्र्ण र शान्त अवतारका रूपमा मानिएको छ। अयोध्या नरेश दशरथका कुलमा कौशल्याको गर्भबाट प्रकट भएका श्रीराम अघि स्वायम्भूमनु एवं शतरूपा महारानीका तीनवटा वरदान पूरा गर्ने क्रममा प्रथम पुत्रका रूपमा श्रीराम भई धर्तीमा अवतरित भएका प्रसङ्ग छन्।

संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायणको विशद् चर्चा गरे। यद्यपि वाल्मीकि सुरुमा ब्याधा थिए। मरा, मरा भन्ने नाम जप्दा राम राम भन्ने शब्द उच्चारण हुन पुगी तपश्वी साधकका रूपमा श्रीरामका पावन कथा प्रसङ्गको सविस्तार उल्लेख गर्न पुगेका वाल्मीकिका मुखबाट स्वयं वेद प्रस्तुत भई रामायणको एक रूप लिएको प्रसङ्ग छ। सबैका लागि वेद सहज छैन तर आज वेदको सविस्तार वर्णित रामायणको गाथा विभिन्न भाषामा समेत प्रस्तुत हुँदै संसारभरि फैलिएको छ।

रामको गाथा गाइएको रामायण साँच्चै साहित्यको आधार हो। भनिन्छ, जसले रामको नाम लिन्छ, रामायण काव्यको अध्ययन गर्छ ऊ स्वयं कवि बन्छ। आज विश्वभरि नै चर्चा पाएको रामायण, महाभारत र गीताशास्त्रले सम्पूर्ण भवरोगको औषधि दिन्छ। शोक, भय, चिन्ता, ब्याकुलतामा परेकाहरूको सही र शुद्ध औषधि भनेको रामायण पाठ, रामको स्मरण मन्त्रोच्चारण, रामको कथा अवतार र पावन लीलाहरूको सङ्कीर्तन नै हो। व्यवहारपरस्त तुलसीदास सन्त भए रामकै कृपाले, हिन्दी भाषाका कवि मैथिली भाषादेखि नेपाली भाषाका अदिकवि भानुभक्त आचार्यसमेतले रामायणको चर्चा गरे। 

अजन्मा भएर पनि स्वर्गलाई भन्दा धर्तीलाई प्यारो गर्ने, धर्तीका समस्त जीवको उद्धार गर्ने मानव जीवनका आदर्शको सङ्केत दिने श्रीराम स्वयं महालक्ष्मी सीतालाई लिएर धर्तीमा प्रस्तुत हुँदा बह्माण्डका सारा विषय वासनासमेत मोहित बन्न पुग्छन्। धर्तीमा रहेको प्रदूषणलाई हटाई आदर्श घर, परिवार र राज्य स्थापना गर्न बेलाबखत धर्तीमा देखिने दुष्ट राजाहरूको अन्त्य गर्न पूरै धर्तीलाई दुष्परिणामबाट बचाउने क्रममा श्रीनारायणबाट श्रीरामको उदय भएको पावन दिनलाई रामनवमीले पुकारिन्छ।

दशरथले राममा पाएको पितृस्नेह, पत्नीव्रता धर्म अर्धाङ्गिनी सीताको स्वभाव, भरतप्रतिको उदारभाव, शत्रुघ्नको सेवाभावले आज पनि जीवनोपयोगी र आदर्श समाज निर्माणमा थप सन्देश दिएको छ। रामायण मानव जीवनको यथार्थपरक आस्था हो, व्यवहारतः एउटै कडी हो; जसबाट नजिकै आएको राज्य सुख, भोग, ऐस–आरामलाई तिरस्कार गरी सरल र पवित्र जीवन सञ्चालन गर्न सबैलाई प्रेरित गर्छ। राम वनवास जाँदा दुःखी छैनन् र राज्य प्राप्तिमा हर्षित पनि। बाबुको वचनलाई रत्तिभर उल्लङ्घन नगर्ने मर्यादाका प्रतीक श्रीराम आदर्श पति, आदर्श पुत्र, आदर्श भाइ र आदर्श राजासमेत हुन्। सदाचारको आदर्श र व्यवहार प्रयोगको असल नमुना रामायणले हरमानवलाई अनुशासित बन्न प्रेरित गर्छ। 

नेपाल भूमि, जानकीको जन्मभूमि, जनक राजाको जन्म र कर्मथलो पूर्वीय चिन्तनको भण्डार जनकपुर क्षेत्रमा सत्सङ्गकै क्रममा राजा जनकले देवर्षि नारदसँग भगवान्को अवतार प्रसङ्गबारे प्रश्न राख्दा भगवान्का अंशांश, अंश, आवेश, कला, पूर्ण एवं परिपूर्णतम गरी मुख्य छ अवतार बताइएको थियो। पूर्वीय दर्शनमा बहुदेवता विविधताको चर्चा छ। सृष्टिका उषाकालमा मरिचि आदि ऋषिमुनिहरूलाई अशांशका अवतारका रूपमा लिएको पाइन्छ भने ब्रह्मा आदिलाई अंश अवतार कपिलदेव, कच्छप अवतारलाई कला अवतार, परशुरामलाई आवेश अवतार, रामलाई पूर्ण अवतार र श्रीकृष्णलाई परिपूर्णतम अवतार मानिन्छ।

युगयुगमा परमेश्वरले आवश्यकतानुसार अवतार लिनेबारे शिवगीतादेखि रामगीता, महाभारतदेखि श्रीमद्भागवत गीतासम्ममा चर्चा पाइन्छ। शिवगीतामा देवी पार्वतीलाई र रामगीतामा भाइ लक्ष्मणलाई यी प्रसङ्ग सुनाइएको छ। कसैलाई दिइएको वरदान पूरा गर्नदेखि कसैलाई गरिएको श्राप पूर्णताका लागि पनि देवताले अवतार लिएको देखिन्छ। सृष्टि सञ्चालनका लागि, बाधा फुकाउन लौकिक, अलौकिक दुवै कार्यका लागि अवतारको प्रसङ्ग देखा पर्छ।

हिरण्यराजले उपद्रव गरिएकी पृथ्वीलाई बचाउन बराह, हिरण्यकशिपुको आवेगबाट प्रह्लादलाई बचाउन नृसिंह, समुद्र मन्थनबाट प्राप्त अमृतको दुरुपयोगबाट रोक्न मोहिनी, समुद्र मन्थनलाई साथ दिन कुर्म, वेदको रक्षा गरी धर्तीलाई त्राण दिन मत्स्य, धर्ममा विकृति रोक्न हंस अवतारदेखि सांख्य योग सिद्ध गर्न कपिल एवं ऋषभ अवतार र रावणादि असुरहरूबाट धर्तीलाई संरक्षण दिन राम अवतार भएको हो। दुष्ट राजाहरूको संहार गर्न परशुराम अवतार लिने भगवान् कंस आदिको भयबाट दूर गर्न कृष्णदेखि संसारमा अहिंसा धर्म स्थापनाका लागि बुद्ध अवतार लिने प्रसङ्ग पनि छ। त्यस्तै महाकलिका अन्त्यमा उनै परमेश्वरले कल्की अवतार लिने पनि भविष्यवाणी गरिएको छ। यो समय आउन धेरै बाँकी छ।

सूर्य वंशमा मध्याह्नमा धर्ती अवतरित श्रीरामको जन्म दिन रामनवमी पर्व हामी सबैका लागि महìवपूर्ण दिन हो। यस पर्वमा मुलुकभरका राम मन्दिर एवं अन्यान्य देव, तीर्थस्थलमा विशेष भीडभाड नै हुन्छ। त्रेतायुगमा रावणले ब्रह्माण्डलाई नै असह्य कष्ट दिएपछि धर्तीमाता गाईका रूपमा ब्रह्मासामु पुगेको र ब्रह्मा आदि देवताले क्षीर सागरवासी श्रीनारायणसामु रोदन प्रकट गरेपछि आपूm धर्तीमा मानव रूपमा आई संसारलाई त्राण दिने वचन पूरा गर्न अयोध्या नरेश दशरथका कुलमा चार भाइ चार अंशका रूपमा जन्म लिने वाचा पूरा गर्न श्रीविष्णुले राम अवतार लिएका हुन्। 

सूर्यवंशी अयोध्या नरेशको सन्तान नहुँदा गुरु वशिष्ठसामु दुःख प्रस्तुत हुँदा गुरु आज्ञाले पुत्रेष्टि यज्ञ गर्ने सन्दर्भमा श्रृङ्गि ऋषिबाट सो महायज्ञ हुँदा यज्ञबाट अग्निदेव प्रकट भई हातमा रहेको पायस राजालाई दिई रानीहरूलाई बाँड्नु भनेपछि रानीहरूमा गर्भ रहँदा खीर पायसका प्रभावले वीर चार पुत्ररत्न प्राप्त भएको प्रसङ्ग छ। रामायणको विविधताअनुसार पायसको चर्चा पनि फरक फरक देखिन्छ। 

रानी कौशल्या र कैकेयी नजिक रहेकी र सुमित्रा पछि आइपुगेकीले दुई भागमा विभक्त कौशल्या र कैकेयीका खीर भाग रानी सुमित्रालाई बाँडेर दिँदा सुमित्रामा दुई गर्भ रही लक्ष्मण र शत्रुघ्न दुई पुत्र प्राप्त भएको छ। कौशल्याको भागको पायसबाट लक्ष्मण र कैकेयीको भागबाट शत्रुघ्न भएकाले स्वभाव पनि उस्तै उस्तै राम र भरतसँग मिल्दोजुल्दो छ। 

पायस वितरणको प्रसङ्गले हनुमान उदयको चर्चा जोडिन्छ। रानीहरूले पाएको खीर पायस दरबारको कौसीमा गएर खाँदा आकाशबाट एउटा चिल आएर सुमित्राको हातको पायस टपरी लिएर गयो। आफ्नो पायस उडाएर लैजाने चिल भने देव सभाकी अप्सरा भएकी र इन्द्र सभामा नृत्य प्रस्तुत गर्दागर्दै खुसी भएका इन्द्रको आग्रहमा मोतीको माला लगाइदिँदा ब्रह्माले यो देखेर रिसाएर चिलले सिनो झम्टेर लिएझैँ माला लिएकीले चिल योनिमा जन्म होस् भनी श्राप दिएपछि देवताहरूको आग्रहमा चिलले देवताको सहयोगमा सुकर्म गरेपछि यो योनि छुट्ने वचन ब्रह्माजीले नै दिएकाले सुमित्राको पायस लिने यही चिलले त्यो पायस लगेर किष्किन्धाको गुफामा बसेकी पवनपत्नी अञ्जलीसामु राखिदियो। 

देवलोकबाट प्रसाद प्राप्त सम्झी अञ्जलीले त्यो पायस खाँदा पवन पुत्रका रूपमा शिव स्वरूप हनुमानको जन्म भएको र रामलाई आपत् पर्दा उद्धारहेतु सहयोग गरेको चर्चा रोचक छ। तिथिका हिसाबले रामनवमीको लगत्तैपछि चैत्रशुक्ल पूर्णिमा हनुमान जयन्ती यही चैत्र २३ गते परेको छ। सरयु किनारको अयोध्या क्षेत्रमा सूर्य मेष राशिमा, पाँच ग्रह उच्च भएका बेला, कर्कट लग्न, पुनर्वसु नक्षत्र, अभिजित मुहूर्तमा श्रीरामले धर्ती अवतरण गर्नुभएको र यो समय देवताहरूले पुष्प वृष्टि गरेका थिए। 

धर्तीमा बालरूप अवतार प्रसङ्गको दर्शन गर्न नपाएका आकाशका चन्द्रमाले अयोध्या प्रवेश गरी आपूmले सो दृश्य हेर्न नपाएको गुनासो गरेपछि अर्काे अवतार चन्द्रवंशमा, मध्यरात्रि, द्वापर युगमा श्रीकृष्ण अवतारका पूरै बाललीला अवतरणको दृश्य हेर्न पाइने आश्वासन दिँदा एक युगसम्म आपूm पर्खन नसक्ने दृढता व्यक्त गरेपछि हालै आफ्नो मस्तकमा विराजमान गर्न चन्द्रमालाई आदेश दिँदा श्रीरामको नाम रामचन्द्र बन्न पुगेको, नामले पूर्णता प्राप्त गर्न भक्त चन्द्रमाले सहयोग गरेका र कोमल मस्तकमा चन्द्रशोभा भएको प्रसङ्ग पनि काव्यकारले प्रस्तुत गरेका छन्। 

लेखक समाज, संस्कृति क्षेत्रका जानकार हुनुहुन्छ ।