काठमाडौं, चैत ११ गते। नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताउनु भएको छ। कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको ओलीको भनाइ छ।
शनिबार काठमाडौंमा आयोजित पार्टी निकट जनवर्गीय सङ्गठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले विदेशमा काम गरेर फर्केकाले बनाएको सङ्गठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरूको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताउनु भयो।
विदेशमा बसेर फर्केकाले केही ज्ञान, केही सीप, केही सङ्कल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिनुभयो। अध्यक्ष ओलीले नेपाल बसोबासको हिसाबले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाले काम गर्नुपर्ने बताउनुभयो।
अध्यक्ष उहाँले भन्नुभयो, ‘‘तापक्रमको हिसाबले, बसाइको हिसाबले नेपाल स्वर्ग हो। कामको हिसाबमा हामी विदेशमा जानु परेको छ। जाने बाध्यता हुन्छ। परिस्थिति हुन्छ। त्यस परिस्थितिलाई पार गरेर हामी स्वदेश फर्किएका हुन्छौँ। स्वदेश फर्किदा केही ज्ञान, केही सीप, केही सङ्कल्प, केही अठोट बोकेर आएका हुन्छौँ। तपाईँहरूले रिटर्नी फेडेरेशन भनेर सङ्गठन बनाउनुभएको छ। देशव्यापी सङ्गठन, जसले गर्दा यस सङ्गठनले अर्को एउटा काम गरे हुन्छ। रिटर्नीका बेथा, विदेश जानेका व्यथा, फर्केका आउनेका व्यथा उस्तै छन्। समाधान मिलेर गर्नुपर्छ। यहाँ साम्प्रदायिकताको ठाउँ छैन। साम्प्रादायिक नारा लगाएर समस्याको समाधान हुँदैन। रिटर्नी फेडेरेशनले बुझेको छ। हाम्रो आफ्नो आर्थिक अवस्थामा परिवर्तन ल्याउने मात्रै होइन, अरू स्थानीय वा देशवासीको समस्या पनि समाधान गर्नु पर्दछ भनेर तपाईँहरूले सङ्गठन बनाउनु भएको छ।’’
अध्यक्ष ओलीले विदेशबाट फर्केकाको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकता रहेको पनि औँल्याउनुभयो।