• ८ मंसिर २०८१, शनिबार

मुक्तक

blog

धागै चुँडी गयो आज थुँगा–थुँगा गाँसु भन्दा

अझै आँसु थपिदियौ पीडा छोपी हाँसु भन्दा,

यस्तै रै’छ जिन्दगानी हाँसो भन्दा आँसु धेरै

पराई भयौ तिम्रो माया मुटुभरी साँचु भन्दा ।


विवशता  र बाध्यताको छालमा परी हुत्तिएँ म 

आफन्तको स्वार्थबाट एक्लो परी छुट्टिएँ म,

आफू भलो जगत् भलो भन्ने सोच भ्रम रहेछ 

स्वार्थरहित मुटु राख्दा कैयौँपल्ट लुटिएँ म । 


तिमीले छाडी गएपछि सत्य–सत्य हाँस्या छैन

तिम्रोबाहेक तस्बिर अरूको यो छातीमा टाँस्या छैन,

तिमीले त भुल्यौ होला वा अर्कैकी बनिसक्यौ

अतीत सम्झी रमाउँदैछु, अन्त माया गाँस्या छैन ।


विछोडको पीडा भुलाउन नदी किनारमा रोएर बसेँ

सावनझैँ बर्सिएका अश्रुभेलले मुहार यो धोएर बसेँ, 

एक्लै गोधुलीमा फर्किएको चरीलाई तिम्रो खबर सोधी

मनभित्र कैद तिम्रै सम्झनाको प्यारो तस्बिर छोएर बसेँ । 


डल्लु–१५, काठमाडौँ