• १३ असोज २०८१, आइतबार

कोशीको भित्तो संरक्षण गरिँदै

blog

गाईघाट समाचारदाता

गाईघाट, चैत ८ गते । सप्तकोशीको बहाव गाउँतिर मोडिएपछि नदी कटानको उच्च जोखिममा परेको उदयपुरको बेलका नगरपालिका–८ स्थित मेखबारी क्षेत्रको जमिन र बस्ती जोगाउन रिभेटमेन्ट अर्थात् कटान क्षेत्रको भित्तो संरक्षणको काम सुरु गरिएको छ।

बीचमा बग्नुपर्ने नदी पूर्वतर्फबाट पश्चितिर मोडिएर पानीको सम्पूर्ण बहाव पश्चिमी किनारामा एकीकृत हुँदै गएपछि सुनसरी मोरङ सिँचाइ आयोजनाले छ करोडभन्दा बढी रुपियाँको लगानीमा दुई सय मिटर लामो ‘लन्चिङ एप्रोच’सहितको यस किसिमको भित्ता संरक्षण गरी बेलकातर्फको कटान नियन्त्रणको काम अगाडि बढाएको हो।

कोशीमा बाढी आउँदा डुबाउला भन्ने चिन्ता र बाढी घट्दा जमिन कटान गरेर झन छिटो गाउँ सखाप पार्ला भन्ने भयले स्थानीयमा चिन्ता पैदा भइरहेको अवस्थामा सो आयोजनाले अबको दुई महिनाभित्रमा निर्माण सम्पन्न गर्नेगरी १८ मिटर चौडाईमा दुई तह पानीभित्रैबाट जालीमा ढुङ्गा भरेर छ मिटर अग्लो भित्ता संरक्षणको काम गरिरहेको सुनसरी मोरङ सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेशभक्त पोखरेलले बताउनुभयो।

आयोजनाका सीडीई पोखरेलका अनुसार छिटो छिटो धार परिवर्तन गरिरहने प्रमुख विशेषता भएको ७२० किलोमिटर लामो सप्तकोशी नदी बालुवा र लेदो बगाएर ल्याउनेमा चीनको ह्वाङ हो पछिको एशियाकै दोस्रो ठूलो नदी हो। बालुवा र लेदो पूर्वी किनारामा थुप्रिँदै जाँदा त्यहाँ रहेको आयोजनाको ‘इन्टेक’मा पानी पठाउन निकै समस्या उत्पन्न भएको छ।

पश्चिमी किनारामा पानी एकत्रित हुँदा एकातिर उदयपुरको बेलका नगरपालिका–८ को कोठु, चम्पापुर, मेखबारी र सोमबारेसम्मको गाउँबस्ती र खेतीयोग्य जमिन कोशी कटानको उच्च जोखिममा रहेको छ भने अर्काेतिर सुनसरी र मोरङ जिल्लाको सिँचाइका लागि बनाइएको आयोजनाको पुरानो इन्टेकमा पानीको अभाव हुने गरेको हो।

यस क्षेत्रको कटान नियन्त्रण र आयोजनाको नहरमा नियमित पानी पठाउन अरू संरचनाको समेत खाँचो रहेकोले थप तीन सय मिटर लामो यस किसिमको भित्ता संरक्षण गर्न र थप तीनवटा ‘स्पर’हरू यसै क्षेत्रमा निर्माण गर्न अति आवश्यक भएकोले आवश्यक लगत इस्टमेटसमेत तयार पारेर मूल्याङ्कन गरी स्वीकृतिका लागि जलस्रोत तथा सिँचाइ विभागमा पेस गरिएको उहाँले बताउनुभयो।

हाल निर्माण भइरहेको दुई सय मिटर लामो ‘रिभेटमेन्ट’का लागि रौताहा आशिर्वाद रेग्मी जेभी निर्माण कम्पनी उदयपुरसँग अगामी वैशाख मसान्तभित्रमा सम्पूर्ण काम सम्पन्न गर्ने गरी भ्याटसहित छ करोड २७ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको र सोअनुसार द्रुत गतिमा निर्माणको काम भइरहेको उहाँले बताउनुभयो।

कोशी कटानबाट बेलका नगरपालिका–३ स्थित चिलिया टप्पु, श्रीलङ्का टप्पु, सिसौली टप्पु, एबीसी टप्पु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष उच्च जोखिममा रहेको बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले बताउनुभयो। 

उहाँका अनुसार सिँचाइ तथा यातायात क्षेत्रको विकास गर्ने उद्देश्यले नेपाल र भारतबीच सन् १९५४ अप्रिल २५ मा कोशी सम्झौता भएको हो। सो सम्झौताअनुसार चतरादेखि ब्यारेजसम्म दुवैतर्फ भारत सरकारले तटबन्ध निर्माण गर्नुपर्ने भए पनि सोअनुसार अहिलेसम्म काम हुन सकेको छैन।

नगरप्रमुख कार्कीका अनुसार भारतीय विशेषज्ञ टोलीले सन् १९८१ मा गरेको अध्ययन प्रतिवेदनअनुसार सप्तकोशीको बाढीले भारततर्फका सात हजार ६८० हेक्टर र नेपाल तर्फका ७३८ हेक्टर भूमि बर्सेनि क्षति हुने गरेको छ। जापान सरकारको जाइका कम्पनीले सन् १९८५ मा गरेको अध्ययन प्रतिवेदनले सप्तकोशी संसारकै बढी लेदो बोक्ने नदी भएको र यसको अत्यधिक पहिरो र भूक्षय हुने ९२ हजार ५३८ वर्गकिलोमिटर जलाधार क्षेत्र मध्ये ४१ हजार ३३३ वर्गकिलोमिटर नेपालमा पर्दछ भनी उल्लेख गरेको नगरप्रमुख कार्की बताउनुहुन्छ।