• ९ पुस २०८१, मङ्गलबार

साक्षर जिल्ला घोषणामा सीमित, बालबालिका अझै विद्यालयबाहिर

blog

जाजरकोट समाचारदाता

जाजरकोट, चैत ६ गते । साक्षर जिल्ला घोषणा भएको सात वर्षपछि पनि जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकाका १० देखि १४ वर्ष उमेर समूहका १८८ जना बालबालिकाले विद्यालय टेक्न पाएका छैनन्।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले भेरी र नलगाड नगरपालिकामा सञ्चालन गरेको एक वर्षीय (द्रुत) संश्लेषित सिकाइ कार्यक्रममा विद्यालयभन्दा बाहिर रहेका बालिकालाई फेला पारिएको हो। घरको गरिबी, सिजनल बसाइँसराइ, विद्यालय र घरको दूरी टाढा, कमजोर शिक्षण सिकाइजस्ता कारणले १८८ जना भेरी र नलगाड नगरपालिकाका बालिका विद्यालयभन्दा बाहिर रहेको बताइएको छ।

केयर नेपालका कार्यक्रमविज्ञ नवराज शर्माले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले भेरी नगरपालिकामा २४ र नलगाड नगरपालिकामा १५ जना गरी ३९ जना सहजकर्तामार्फत विद्यालयभन्दा बाहिर रहेका १८८ जना बालिकालाई दैनिक तीन घण्टा संश्लेषित शिक्षण सिकाइ गराइरहेको जानकारी दिनुभयो।

कार्यक्रमविज्ञ शर्माले दिएको जानकारीअनुसार भेरी नगरपालिका र नलगाड नगरपालिकाका १० वटा विद्यालयमा कक्षा ६ देखि ८ सम्म अध्ययनरत आर्थिक तथा सामाजिक कारणले विद्यालय छोड्ने जोखिममा रहेका २५३ जना बालिकालाई उपचारात्मक शिक्षण सिकाइ तथा नेतृत्व सीप विकासमार्फत विद्यालय नियमिततामा जोड दिइएको छ। 

नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाहले सात वर्ष पहिले साक्षर जिल्ला घोषणा भएको तर अहिले १८८ जना बालबालिका विद्यालय तथा शिक्षाको पहुँचभन्दा बाहिर भेटिनुले जिल्लाको शैक्षिक अवस्थालाई उजागर गरेको बताउनुभयो।