• १३ असोज २०८१, आइतबार

आईसीपीमा थप संरचना निर्माण

blog

नवराज कट्टेल

विराटनगर, चैत ६ गते । विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रमा एक साथ तीन संरचना निर्माण सुरु भएको छ । विराटनगर महानगरपालिका–१८, बुधनगरस्थित रेल मार्गको नेपाल कस्टम यार्ड र आईसीपीलाई जोड्ने लिङ्क रोड, रेलमार्फत आएका कन्टेनर राख्ने यार्ड र चोरी पैठारीबाट आयात भएका वस्तु बरामद भएपछि भण्डारण गर्न ‘लिटिगेसन’ गोदाम निर्माणको काम एकसाथ सुरु गरिएको हो । 

नेपाल इन्टरमोडल यातायात विकास समितिले ५० करोड रुपियाँको लागतमा कन्टेनर यार्ड, ६० लाख रुपियाँको लागतमा पहुँच मार्ग र चार करोड ८० लाख रुपियाँको लागतमा ‘लिटिगेसन’ गोदाम निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता गरेर प्रारम्भिक चरणको काम सुरु गरेको हो । 

नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर प्रमोद आचार्यका अनुसार २८ हजार वर्गमिटरको कन्टेनर यार्ड १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । रेलबाट आएका कन्टेनर आईसीपी परिसरसम्म आएपछि यार्डमा राखिनेछ । एकमाथि अर्को खप्टाएर तीन कन्टेनर एकै स्थानमा राख्न मिल्ने गरी यार्ड निर्माण गरिनेछ । 

आईसीपी जोड्ने पहुँच मार्ग विस्तारको काम धमाधम भइरहेको छ । रेल मार्गको नेपाल कस्टम यार्डबाट आईसीपीसम्म मालवस्तु भएका कन्टेनर तत्काल सडकबाट भिœयाइनेछ । यो आईसीपी विस्तारको अल्पकालीन योजनाअनुसार सडक सञ्जाल प्रयोग गरिने भए पनि दीर्घकालीन रूपमा कस्टम यार्ड र आईसीपीलाई रेलवेले जोड्ने लक्ष्य राखिएको छ । 

यसैगरी भारतबाट अवैध रूपमा चोरी–पैठारी भई आएका मालवस्तु प्रहरी तथा भन्सार गस्ती टोलीले नियन्त्रणमा लिएपछि राख्नका लागि छुट्टै गोदाम घर निर्माणको काम सुरु गरिएको छ । लिटिगेसन सेड हाउस ५२८ वर्गमिटर क्षेत्रफलको निर्माण हुनेछ । यसको निर्माण एक वर्ष अवधिमा सकिनेछ । 

भारतको बथनाहादेखि विराटनगर बुधनगर आईसीपीस्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालनमा ल्याउन नेपालले गर्नुपर्ने आवश्यक तयारीअन्तर्गत कन्टेनर यार्ड र लिङ्क रोडको काम सुरु गरिएको हो । 

पहिलो चरणमा कार्गो रेल नेपाल कस्टम यार्डसम्म आएपछि कन्टेनरलाई मालवाहक सवारीसाधनमार्फत आईसीपीको भन्सार यार्डसम्म नापजाँचका लागि ल्याइनेछ । कस्टम यार्ड र आईसीपीबीचको भागमा रेल यार्ड निर्माण गर्ने कार्यसमेत यो काम सकेपछि सुरु गरिनेछ । गत भदौ १७ गते बोलपत्र आह्वान गरिएको थियो । 

मोरङको कटहरीसम्म विस्तार भइरहेको रेल मार्ग, निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरको नेपाल कस्टम यार्डसम्म कार्गो रेल ल्याउने तयारी छ तर आवश्यक संरचना नहुँदा निर्माण सम्पन्न भइसकेको रेल मार्ग नेपालले प्रयोगमा ल्याउन सकेको छैन । 

रेल मार्गको १८ दशमलव छ किलोमिटरमध्ये बथनाहा रेलवे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किलोमिटर दूरीमा २०७६ कातिकमा रेलवे लिङ्क परीक्षण गरिएको थियो । त्यसपछि बारम्बार रेल मार्ग विस्तार प्रयोजनका लागि आवश्यक सामग्री बोकेर रेल आइरहेको छ ।