• १३ साउन २०८१, आइतबार

कलाकार रागिनीकाे ४५ वर्षे कला प्रदर्शनीमा

blog

कलाकार रागिनी उपाध्याय ।

काठमाडौं, चैत ५ गते । कलाकार रागिनी उपाध्यायले आफ्नो कला–अध्ययन, सिकाइ र व्यावसायिक कार्यकौशलको ४५ वर्षे अवधिमा सिर्जना गरिएका चित्रकलाको प्रतिनिधिमूलक प्रदर्शनीमा राख्नुभएको छ । सन् १९७८ मा लखनउ कलेज अफ आर्ट्समा विद्यार्थी हुँदादेखि पाँच वर्षे कोर्सका 'पेन्सिल स्केच', 'लिनोकट', 'लिथोकट', 'लिथोग्राफ', 'वुडकट', 'गमएचिङ'लगायत स्केचहरूको नेपालमा पहिलो प्रदर्शनी गरिएको हो । 

प्रदर्शनीमा १२ हजारदेखि ४२ लाखसम्मका करिब तीन सय वटा राखिएका स्केचहरू प्रदर्शनीमा राखिएको छ । 

“मेरो जीवन कला हो र आर्ट रागिनी उपाध्याय हो ।” 

"प्रदर्शनीमा राखिएका सबै स्केचहरू मेरो जीवनसँग जोडिएको छ । मैले जीवनमा भोगेका उत्तारचढावहरु, सुख र दु:ख मैले स्केचमा उतार्ने गर्छु," उहाँ भन्नुहुन्छ, "कलेजको समयमा वर्षमा एक हजार स्केच बनाउनुपथ्र्याे जुन सबै बाकसमा थन्किएका थिए ।" 

यस्तै, सन् २०१६ मा कान्छी छोरी गुमाएपछि उपाध्यायले आफ्नी छोरीसँगको सम्बन्धसमेत स्केचमार्फत देखाउनुभएको छ । आमा बनेर २० वर्षकी छोरी गुमाएको दुखमा स्केच बनाउँदै आफ्ना बच्चाको सम्झनाहरू मनमा र चित्रमा सधैँ रहने उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, "गर्भावस्था एक सुन्दर क्षण हो जहाँ आमाको शरीर परिवर्तन हुन्छ, उनको स्तन र योनी कोमल हुनुसँगै शरीरमा हर्मोनको परिवर्तन हुने, मन खुसी हुने र गर्भमा जीवनको अस्तित्वसँग जोडिन्छ ।" 

उपाध्यायले आफ्नो छोरीलाई गर्भमा लिँदाको अवस्था र भावनालाई एक सुन्दर कमलको फूलको रूपमा चित्रण गर्नुभएको छ ।

"कलाकार रागिनीका लागि कला श्वरको आराधना हो । त्यसैले उपाध्यायका थुप्रै कला महिलासँग जोडिएका छन् ।" 

"मैले आफ्नो कलाकर्ममार्फत लैङ्गिक सशक्तीकरण र सामाजिक न्यायको सन्देशलाई विभिन्न प्रतीकमार्फत देखाउने प्रयास गरेकी छु ।’ जस्तै, काली अर्थात् म रागिनी मात्र नभएर सबै उमेरका महिलाहरूलाई कालीको रूपमा प्रस्तुत गरिएको छ," उहाँले भन्नुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वकुलपतिसमेत रहनुभएकी ६३ वर्षीया रागिनी आफ्नो कलाकर्ममा प्रायः हिन्दु देवीदेवताका मिथकीय अर्थ र बिम्बमा खेल्न मन पराउनुहुन्छ।

नेपाल आर्ट काउन्सिल बबरमहलमा जारी रहेको प्रदर्शनी मार्च २२ सम्म चल्नेछ । 

तस्विरहरु : केशब गुरुङ ।