• ९ पुस २०८१, मङ्गलबार

खानेपानीको अभावले सार्छ बसाइँ

blog

ललित बसेल

सुर्खेत (रेक्चा, चौकुने), चैत ५ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चामा खानेपानीको चरम अभाव भएपछि सर्वसाधारण बस्ती नै छोडेर बेँसी तथा अन्यत्र बसाइँ सरिरहेका छन्। पानीको कुनै मुहान नहुनु र भएको पनि गर्मी नलाग्दै सुकेपछि त्यहाँका बासिन्दा बर्सेनि बसाइँ सरिरहेका छन्। 

पाँच वर्षअघिसम्म सो ठाउँमा करिब ११५ घरधुरी थिए, अहिले ८० घरधुरी छन्। घरधुरी घट्नुको मुख्य कारण नै खानेपानीको अभाव हो। स्थानीय बासिन्दा जितन बीसीले सो ठाउँमा चार/पाँच वर्षको अवधिमा ३५ घरधुरी खानेपानीकै कारण बसाइँ सरेको बताउनुभयो। रेक्चामा रेक्चा, खाडगाडी, हाडकाँध, खेल र ढुङ्गालोटे बस्ती पर्छ। यी बस्तीबाट प्रत्येक वर्ष कुनै नै कुनै परिवार बसाइँ सरिरहेको उहाँले जनाउनुभयो। 

बस्तीमा खानेपानीको जोहो गर्न १८ वटा इनार छन्। तीमध्ये १२ वटा इनार फागुनमै सुके। अब चारवटा इनारमा पानी छ। त्यो पनि देख्दा दूषित देखिन्छ। ५१ वर्षीय गजराज बीसी इनारको पानीजस्तो देखिए पनि खानैपर्ने बताउनुहुन्छ। पानीका लागि प्रतिघर दुई गाग्री पालो लगाइएको छ। कुनै पनि घरले दैनिक दुई गाग्रीभन्दा बढी पानी लैजान पाउँदैन। पानीको पालो रेखदेख गर्न चौकीदार राखिएको छ। सोही चौकीदारले प्रतिघर दुई गाग्री पालो लगाउने गरेको बीसीले बताउनुभयो। सोबापत चौकीदारलाई एक घर एक पाथी गहुँ दिने गरिन्छ। 

पानीको सङ्कट, त्यसमाथि प्रत्यक्ष अनुभव गर्ने गरी विभेद हुन थालेपछि यहाँका दलितले बस्ती नै छाडेका छन्। अहिले सो स्थानमा ब्राह्मण र क्षेत्री समुदायको मात्र बसोबास छ। त्यहाँबाट  बसाइँ सर्नेहरू गुट, बिजौरा, कैलाली तथा पञ्चपुरीतिर जाने गरेका छन्। 

पानीको चौकीदार जगत शाहीले दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म पानी वितरण गर्ने गरेको बताउनुभयो। पुसदेखि असार महिनासम्म चौकीदार राख्ने गरिएको छ। अरू बेला इनार भरिएर पानी धेरै हुने भएपछि चौकीदार राखिँदैन तर पानीको अभाव हुन थालेपछि पालो लगाउन चौकीदार राख्ने गरिएको छ। विवाह, व्रतबन्ध तथा मृत्यु संस्कार भएमा केही बढी गाग्री पानी दिने गरिए पनि अरू बेला दैनिक दुई गाग्रीभन्दा बढी पानी वितरण नगरिने 

उहाँले बताउनुभयो। 

त्यही दुई गाग्री पानीले खाना पकाउने, खाने, मुख धुने, शौचालयमा प्रयोग गर्नुपर्ने हुन्छ। नुहाउन, कपडा धुनका लागि करिब दुई घण्टा टाढाको खोलामा जानुपर्ने सोही स्थानका नन्दा जोशीले बताउनुभयो। 

उहाँको घरमा नौ जनाको परिवार छ। दुई गाग्री पानीले पुग्दैन। बढी पानी लिनका लागि करिब तीन/चार घण्टा लगाएर रानागैरा भन्ने ठाउँमा जानुपर्छ। उहाँका अनुसार घरको एक जनालाई पानी ल्याउनै ठिक्क हुने गर्छ। पानी लिन जाँदा ओरालो र आउँदा दुई/तीन घण्टा उकालो हिँड्नुपर्छ। अघिल्लो वर्ष ती इनारहरूलाई व्यवस्थित गर्न कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ४५ लाख बजेट दिएको थियो। 

त्यो बजेटबाट जीर्ण तथा पुराना इनार मर्मत गर्ने र पानी झिक्नका लागि सहज हुने उपकरण जडान गरिएको वडा नं. ५ का वडा सदस्यसमेत रहनुका तपेन्द्र बीसीले बताउनुभयो। सोही बजेटबाट बस्तुभाउलाई पानी खुवाउने इनारसमेत बनाइएको छ। १८ वटा इनार मर्मत गरिए पनि गर्मीका बेला धेरैजसो सुक्ने र एक/दुईवटाको मात्रै पानी खान पाइने उहाँले जनाउनुभयो।  

पानीको चरम अभाव भएपछि प्रदेश सरकारको लगानी र चौकुने गाउँपालिकाको समन्वयमा एक करोड २६ लाखको लागतमा लिफ्ट खानेपानी आयोजना निर्माण गरिँदै छ तर त्यो विद्युत् नहुँदा आयोजना अलपत्र छ। मुहानसम्म विद्युत्को ट्रान्सफर्मर पु¥याउने सडक नहुँदा खानेपानी आयोजना बन्न सकेको छैन। चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले लिफ्ट खानेपानी आयोजना निर्माणका क्रममा रहेकोले बस्ती सर्ने क्रम रोकिने आशा व्यक्त गर्नुभयो। 

पालिकाले मुहानसम्म पुग्ने बाटो बनाउनका लागि बजेटको व्यवस्था गर्ने जानकारी दिँदै उहाँले बाटो बनेपछि विद्युत्को ट्रान्सफर्मर पु¥याउने र पानी सञ्चालन गर्न सकिने बताउनुभयो। यद्यपि आयोजना बन्नुअघिको अवस्था भने त्यहाँका बासिन्दाले खानेपानीको चरम अभाव भोग्नु परेको उपाध्यक्ष बान्तोलाले बताउनुभयो।