• ९ मंसिर २०८१, आइतबार

सिकाइ प्रभावकारिता

blog

औपचारिक, अनौपचारिक र अनियमित गरी शिक्षाका तीन किसिमका प्रारूप छन् । प्राणी जगत्मा सिक्ने र सिकाउने सम्पूर्ण कार्य यी तीन प्रारूपबाट नै हुने गर्छ । शिक्षाका थरिथरिका परिभाषा पाइन्छ । पूर्वीय संस्कृतिका महान् दार्शनिक स्वामी विवेकानन्दले मानिसभित्र लुकेर रहेको प्रतिभा उजागर हुने प्रक्रिया नै शिक्षा हो भनेका छन् । शिक्षा बाहिरबाट अप्रत्यासित प्राप्त हुने चिज हैन । 

स्याउले ‘म झर्छु अनि न्युटनलाई गुरुत्वाकर्षणको सिद्धान्त बताइदिन्छु’ भनेर पत्ता लागेको सिद्धान्त होइन । गुरुत्वाकर्षणको सिद्धान्त न्युटनकै दिमागमा लुकेर बसेको थियो । उनले त्यसलाई मौका मिल्नासाथ उजागर गर्न सकेका हुन् । संसारका सबै पुस्तकालय, गुगल, च्याट, जीपीटी आदिमा रहेका ज्ञान मानिसका मगजकै उपज हुन् । कुनै पनि चिज अन्तबाट तथास्तु गरी आएका होइनन् । चार दिवारभित्र प्रदान गरिने, पाठ्यक्रमलाई अनुसरण गर्ने, उत्तीर्ण–अनुत्तीर्ण, श्रेणीगत प्रणाली भएको, प्रमाणपत्र प्रदान गरिने, समय–सीमा भएको कडा नियम कानुन भएको, शिक्षकबाट विद्यार्थीमा ज्ञान प्रवाह हुने शिक्षाको प्रारूपलाई औपचारिक शिक्षा भनिन्छ । 

विश्वविद्यालय, क्याम्पस, विद्यालय, शिक्षालय, गुरुकुल, गुम्बा, मदरसा, शैक्षिक प्रतिष्ठानमा प्रदान गरिने शिक्षा यसअन्तर्गत पर्छन् । २००७ सालको क्रान्तिपछि नेपाल सरकारले औपचारिक शिक्षामा क्रमिक रूपमा ठूलो लगानी गरेको देखिन्छ । २०४६ सालको प्रजातन्त्रको पुनः प्राप्ति र २०६२/६३ को जनआन्दोलनपश्चात् गणतन्त्रको प्राप्ति भएपछि औपचारिक शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा कलेज अझ व्यापक रूपमा खुलेको देखिन्छ । औपचारिक शिक्षाका लागि सन् २०२१ को अध्यावधिक तथ्याङ्कअनुसार नेपालमा १५ वटा विश्वविद्यालय तथा प्रतिष्ठान सञ्चालित छन् । 

विक्रम संवत् २०७४ को शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार यी विश्वविद्यालयअन्तर्गत एक हजार ४०७ वटाभन्दा बढी कलेज छन् । आर्थिक सर्वेक्षण सन् २०२१/२२ अनुसार २६ हजार ४५४ पब्लिक स्कुल, छ हजार ७६० निजी विद्यालय, एक हजार १५४ धार्मिक विद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत एक हजार १८९ शिक्षालय सञ्चालनमा छन् । चिकित्सा शिक्षा ऐनको पूर्वाधार प्रावधानका कारण केही शिक्षालय स्तरोन्नतिको क्रममा रहेकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका शिक्षालयको सङ्ख्या अझ बढ्ने देखिन्छ ।

चार पर्खालबाहिर दिइने, सिक्ने व्यक्तिको आवश्यकतामा आधारित वस्तु भएको, लचकदार पाठ्यक्रम भएको, उत्तीर्ण–अनुत्तीर्ण श्रेणीगत प्रणाली नभएको, लचकदार नियम कानुन भएको, प्रयोगात्मकमुखी र छोटो अवधिका शिक्षाका प्रारूपलाई अनौपचारिक शिक्षा भनिन्छ । तालिम केन्द्रबाट प्रदान गरिने एकदिनेदेखि एकवर्षे अवधिसम्मका तालिम यसअन्तर्गत पर्छन् । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमबाट नेपालीको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्न, जीविकोपार्जनमा सहयोग गर्न, सीपयुक्त नेपाली निर्माण गरी राष्ट्रिय समृद्धितर्फ अगाडि बढ्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को व्यवस्था गरिएको छ । 

शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, कृषि मन्त्रालय, सामाजिक मन्त्रालयलगायत अन्य प्रदेश मन्त्रालय र स्थानीय तहबाट विश्व बैङ्क, एसियाली विकास बैङ्क, युरोपियन युनियन, कृषि तथा खाद्य सङ्गठन, यूएनडीपी, स्विस सरकारलगायत थुप्रै बहुराष्ट्रिय निकाय र द्वैराष्ट्रिय निकाय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अनौपचारिक शिक्षा क्षेत्रमा क्रियाशील छन् । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत एक हजार ३४२ (सीटीईभीटी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९/८०) संस्था आबद्ध छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले एक महिनेदेखि दुईवर्षेसम्मका २५ वटा क्षेत्रमा २९५ भन्दा बढी पाठ्यक्रम, ३०४ राष्ट्रिय पेसागत सीपको प्रमाण तयार गरी अनौपचारिक शिक्षालाई समेत पाठ्यक्रमको प्रारूपसँग जोडेर औपचारिक शिक्षाको स्वरूपसँग जोड्ने प्रयत्न गरेको पाइन्छ । आमजनताको व्यावसायिक तथा प्राविधिक दक्षता अभिवृद्धि गरी जीविकोपार्जनमा समेत टेवा पु¥याउने उद्देश्यले अनौपचारिक शिक्षालाई नेपालमा प्रोत्साहन गरेको पाइन्छ । सीमान्तकृत जनसमुदाय तथा आवश्यक नागरिकसमक्ष यस्ता कार्यक्रम पुग्न सकेको छैन भन्ने आलोचना पनि प्रशस्त छन् । 

औपचारिक र अनौपचारिकबाहेक शिक्षाको अर्को पनि प्रारूप हुन्छ, त्यसलाई अनियमित शिक्षा भनिन्छ । सुन्दा सामान्य लागे पनि शिक्षाको धेरै हिस्सा ८० प्रतिशतभन्दा बढी अनियमित शिक्षाले ओगटेको हुन्छ । शिक्षाको यही प्रारूपको अस्तित्वका कारण हामीले शिक्षालाई जीवनपर्यन्त प्रक्रिया भन्न सकेका हौँ । मातृभाषा बोल्न, हिँड्न, नाच्न, घरमा चिया खाना बनाउन, खेतीपाती गर्न, साइकल हाँक्न, मोबाइल फोनलगायतका ग्याजेट चलाउन, शिष्टाचार गर्नुका साथै जीवनमा आइपर्ने धेरै कुरा बुढेसकालसम्म हामीले जसोतसो सिकिरहेका हुन्छौँ । हामीले घाँस–दाउरा गर्न जाँदा साथीभाइसँगै गुनगुनाउन थाल्यौँ र लोकगीत गाउन सिक्यौँ, आमालाई सहयोग गर्दागर्दै घरधन्दा सिक्यौँ, बुवालाई सहयोग गर्दागर्दै खेतीपाती सिक्यौँ, गाईभैँसी दुहुन सिक्यौँ, साहुको सम्पत्ति र ऋण तिर्दातिर्दै हरहिसाब गर्न सिक्यौँ, भद्रभलादमीको व्यवहार देखेर शिष्टाचार गर्न सिक्यौँ । 

अनियमित शिक्षाको यो आयाम बहुत ठूलो छ । घर, छरछिमेक, साथीभाइ, बजार, धार्मिकस्थल, विद्यालय, कालेज, कार्यालय आदि जताततै यो शिक्षा विद्यमान छ । घरमा काम गर्दागर्दै खानाको परिकार बनाउन जान्नु अनियमित शिक्षा हो, कुकको तालिम लिएर जान्नु अनौपचारिक शिक्षा हो भने विश्वविद्यालय तथा कलेज गएर होटल व्यवस्थापन तथा पाक शिक्षा अध्ययन गरी पकाउन जान्नु औपचारिक शिक्षा हो । साथीभाइको सहयोगमा मोटरसाइकल सिक्नु (अनियमित शिक्षा), ड्राइभर इन्स्टिच्युटमा गएर सिक्नु (अनौपचारिक शिक्षा) र कलेजमा अटोमोबाइल इन्जिनियरिङ पढ्दा मोटरसाइकल चलाउन सिक्नु (औपचारिक शिक्षा) एकै भए पनि यसमा शिक्षाका तीनवटै प्रारूप छन् । नेपालमा अनियमित रूपका थुप्रै व्यावहारिक एवं व्यावसायिक शिक्षा छन् । गाइनेको सङ्गीत, पन्चे बाजा सारङ्गी, मादल एवं अन्य वाद्यवादनका सामग्रीको निर्माण, सल्यानी, भोजपुरी वा पेस्तोल खुकुरी तथा अन्य घरेलु र कृषि औजारको निर्माण, जुत्ता तथा कपडाको निर्माण, माटोबाट विभिन्न सामग्री बनाइने शिक्षालगायत थुप्रै हस्तकला, काष्ठकला, वस्तुकला, डकर्मी, सिकर्मीजस्ता अनगिन्ती शिक्षा हाम्रो देशमा व्यापक रूपमा छन् । 

हाम्री आमाले पकाएकोजस्तो मिठो सेलरोटी त मैले आजसम्म अन्त खाएको छैन, सावित्री दिदीले बनाउनुभएको चुकाउने त जिब्रोमै झुन्डिएको छ । राम, श्याम र वीरे नखट्ने हो भने यो गाउँमा भोजभतेर नै गर्न सकिन्नजस्ता धेरैथरिका वाक्य हामीले हाम्रै समाजमा सुन्दै आइरहेका छौँ । राम, श्याम र वीरेको व्यवस्थापकीय क्षमता, मेरी आमा र सावित्री दिदीको पकाउने कला कुनै औपचारिक वा अनौपचारिक शिक्षाको उपज नभई हाम्रै समाजमा रहेको अनियमित शिक्षाको उपज हो ।

अनियमित शिक्षाबाट सिकेका सीप हाम्रा समाजमा धेरै थिए र आज पनि छन् । विदेशी संस्कृतिको उपजबाट मान्यताप्राप्त विश्वविद्यालय र कलेजका शिक्षा र सोही विश्वविद्यालय कलेजका सर्टिफिकेटले मात्र मान्यता पाउँदा हाम्रो समाजमा परापूर्वकालदेखि चलिरहेको अनियमित शिक्षालाई लगातार प्रहार भइरहेको कारण नै यो शिक्षाको पुस्तान्तरणमा क्रमिक ह्रास हुँदै आएको देखिन्छ । राज्यबाट शिक्षाका सबै प्रारूपलाई स्वीकार गरी अनियमित शिक्षालाई पनि मान्यता दिँदै शिक्षाको मूल प्रवाहमा लैजान सके शिक्षाको पुस्तान्तरणमा सुदृढीकरण हुन सम्भव देखिन्छ ।

लेखक कृष्णसेन बहुप्राविधिक शिक्षालय दाङका प्रमुख हुनुहुन्छ ।