• २४ वैशाख २०८१, सोमबार

क्रिकेटरलाई दशरथ रंगशालामा सम्मान

blog

फाइल तस्बिर ।

काठमाडौं, चैत ४ गते । शहीद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई दशरथ रंगशालामा सम्मान गरेको छ । 

लिग अन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लब र एपीएफ क्लबबीचको खेलको मध्यान्तरमा सम्मान गरिएको हो । खेलाडीले उक्त समयमा उपस्थित दर्शकसँग खुशी साटेका थिए ।

नेपाली टोलीलाई विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै सम्मान गरिएको एमडीएसी स्पोट्र्सले जनाएको छ । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्यत नेपालमा भएको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई नौ रनले

पराजित गर्दै विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो । टोलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह लगायत, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ लगायत पदाधिकारीले सम्मान गर्नुभएको थियो ।

एमडीएसीले मनाङ र एपीएफबीचको खेलमा टिकटबाट उठेको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषमा हस्तान्तरण गर्ने जनाएको छ । 

दशरथ रंगशालामा भएको खेलमा मनाङले एपीएफ क्लबलाई २–१ गोलले हराएको छ । मनाङको जितमा कमल थापा र सेदजामोल दाभ्लातजोनोभले गोल गर्नुभयो । एपीएफका अर्मान्ड बिडोमले गोल गर्नुभयो ।