• ९ पुस २०८१, मङ्गलबार

नागरिकको मन जित्दै स्थानीय सरकार

blog

वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै महावु गाउँपालिकाका उपाध्यक्ष लगायतको टोली । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, चैत ४ गते । स्थानीय सरकारले सेवामार्फत नागरिकको मन जित्न नसकिरहेको आरोप लागिरहेका बेला जिल्लाका केही स्थानीय सरकारले नागरिकको मन जित्ने प्रयास गरेका छन् । 

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले निर्वाचनको बेला गरिएका प्रतिबद्धता पूरा नगरेको भन्दै दोहोरिएर निर्वाचन लडेका उम्मेदवार पराजित भएसँगै २०७९ वैशाखमा भएको स्थानीय निर्वाचित भएका जनप्रतिनिधिले त्यस्तो प्रवृत्ति दोहोरिने डरले नागरिकको मन जित्न लागिपरेका छन् । 

जिल्लाको नारायण नगरपालिकाले नागरिकको मन जित्न ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच, औषधि वितरण, असल आमा प्रोत्साहन, किशोरीलाई आइरन चक्की वितरण, गर्भवतीसँग उपमेयर, कृषकलाई कृषिमा प्रोत्साहन गर्न किसान घरभेट, विपन्न नागरिकका मुन्ना घर विस्थापित, खानेपानी महसुलमा छुट, विद्यालय नर्सलगायतका कार्यक्रम सञ्चालन गरिएको छ । 

नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले नगरपालिकाको आम्दानीअनुसार नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेखालका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले नागरिकको अपेक्षा धेरै भए पनि पालिकाले गर्न सकिने विभिन्न कामहरू सञ्चालन गरेको बताउनुभयो । 

त्यस्तै, गुराँस गाउँपालिकाले नागरिकको मन जित्न घरदैलोमै सामाजिक सुरक्षा भत्ता, वडामै योजना सम्झौता, प्रत्येक वडामा जेष्ठनागरिकका लागि निःशुल्क शिविर, दीर्घरोगीलाई घरमै औषधि वितरण, मोतीबिन्दुको निःशुल्क शिविर, विकास निर्माणमा यूथ प्यानल, युवा संसद्लगायतका कार्यक्रम सञ्चालन गरेको छ । 

गाउँपालिका –८ का वडाध्यक्ष एवम् प्रवक्ता दीपेन्द्र ओलीले गाउँपालिकाबाट प्रवाह गरिने सेवा सुविधाको प्रभावकारितालाई विशेष ध्यान दिएको बताउनुभयो । उहाँले जनप्रतिनिधिप्रति नागरिकको आक्रोश नभएर मन जित्ने पात्रका रूपमा कम गरिरहेको बताउनुभयो । 

महावु गाउँपालिकाले नागरिकको मन जित्न घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण, ज्येष्ठनागरिकको स्वास्थ्य परीक्षण, प्रत्येक वडाका २५ घरधुरीलाई नमुना पोषणमैत्री टोल, गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की वितरण, बालविवाह, बहुविवाहसम्बन्धी कानुनी सचेतनालगायतका कार्यक्रम सञ्चालन गरेको छ । 

महावु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउन विविध कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले नागरिक सेवा लिन आएमा तत्काल सेवा प्रदान गर्ने गाउँपालिकाको उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिक समस्या भएर पालिकामा आएका हुन्छन् उनीहरूका समस्या तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्नेगरेका छौ ।” 

त्यस्तै भगवतीमाई गाउँपालिकाले श्रम रोजगार बैक, १५ शय्याको अस्पताल निर्माण, निःशुल्क स्वास्थ्य शिविर, घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी, पर्यटकीय क्षेत्रको, पूर्वाधार विकास, जनमैत्री सेवालगायतका कामहरू गरिरहेको छ । 

सोहीअनुसार नौमुले गाउँपालिकाले पनि नागरिकको मत जित्न विभिन्न कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका अध्यक्ष छवि सुबेदीले स्थानीय सरकारले नीति निर्माण, आवश्यक पूर्वाधार निर्माण, कर्मचारीको व्यवस्थापन, निःशुल्क औषधि वितरण, स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।