• १३ साउन २०८१, आइतबार

समका दुःखान्त नाटकमा द्वन्द्वविधान

blog

महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट्् बालकृष्ण समलाई नेपाली साहित्यमा ‘त्रिमूर्ति’का रूपमा सम्मान प्रकट गरिँदै आएको छ । यद्यपि, देवकोटालाई महाकवि र समलाई नाट्यसम्राट्को उपाधि जनबोलीले मात्रै दिएको हो । पौड्याललाई चाहिँ सरकारद्वारा नै ‘कविशिरोमणि’को उपाधि प्रदान गरिएको थियो । उहाँहरूका कृतिमाथि अनेक कोणबाट अनुसन्धान एवं चर्चा–परिचर्चा भएका छन् । यसै सेरोफेरोमा प्रा.डा. कुमारप्रसाद कोइरालाद्वारा लिखित ‘समका दुःखान्त नाटकमा द्वन्द्वविधान’ शीर्षकमा भर्खरै अनुसन्धानमूलक कृति प्रकाशित भएको छ । कोइरालाले वि.सं. २०६५ मा पूरा गरेको आफ्नो विद्यावारिधिको शोधलाई सङ्क्षेपीकृतसहित परिमार्जन गरेर कृतिका रूपमा सार्वजनिक गर्नुभएको हो ।

प्रस्तुत कृतिमा जम्मा १० खण्ड छन् । पहिलो खण्ड द्वन्द्वको परिभाषा, सैद्धान्तिक आधार, साहित्य एवं नाटकमा द्वन्द्व, दुःखान्त नाटकमा द्वन्द्व र विश्लेषणको प्रारूपमा केन्द्रित छ । यसैगरी दोस्रो खण्डमा समको नाट्यव्यक्तित्व निर्माण र विकासमा द्वन्द्वको भूमिकालाई लिएर विश्लेषण गरिएको छ । समको नाट्ययात्रा र दुःखान्त नाटकको पहिचानको सन्दर्भमा लेखकले तेस्रो खण्डमा गहन विश्लेषण गर्नुभएको छ । खण्ड चारदेखि नौसम्ममा समका नाटक– तानसेनको झरी, मुटुको व्यथा, अन्धवेग, प्रेमपिण्ड, स्वास्नीमान्छे र भीमसेनको अन्त्यमा सिर्जित द्वन्द्वका बारेमा कोइरालाले शोधशैलीगत विश्लेषण गर्नुभएको छ । लेखकले आफ्नो कृतिको मूल विषय सन्दर्भमा समको नाट्यरचना र नाट्यव्यक्तित्वको विकासमा कारक बनेको द्वन्द्व पहिचान गर्ने, समको नाट्ययात्राको विवेचन र विश्लेषण गरी दुःखान्त नाटकको पहिचान गर्ने र समका दुःखान्त नाटकमा पाइने द्वन्द्वको निरुपण गर्नमा केन्द्रित भएको उल्लेख गर्नुभएको छ । नाटकमा हुनुपर्ने तŒवमध्ये द्वन्द्व सबैभन्दा महŒवपूर्ण मानिन्छ । अध्येता कोइरालाले प्रस्तुत ग्रन्थमा समका पूर्णाङ्की दुःखान्त नाटकमा प्रयुक्त द्वन्द्वको मात्र द्वन्द्व सिद्धान्तका आधारमा विश्लेषण गरेको कृतिमा स्पष्ट पार्नुभएको छ ।

बालकृष्ण समको जन्म १९५९ सालमा भएको थियो भने निधन २०३८ सालमा भएको हो । बहुआयामिक व्यक्तित्व हुँदाहुँदै पनि आफूलाई महान् नाटककार सेक्सपियरद्वारा प्रभावित बताउने समले नाट्य क्षेत्रमा पु¥याउनुभएको योगदानलाई अहिलेसम्म कसैले पनि चुनौती दिनसक्ने सामथ्र्य देखाउन सकेका छैनन् । लेखनका हिसाबले पछि लेखिएको भए पनि वि.सं. १९८६ मा प्रकाशनमा आएको पहिलो पूर्णाङ्की नाटक ‘मुटुको व्यथा’ उहाँको चर्चित नाटक मानिन्छ । श्रीमतीका कल्ली बेचेर नेपाली भाषा प्रकाशिनी समितिमार्फत बनारसमा छपाएको मर्मस्पर्शी सन्दर्भ लेखकले उल्लेख गर्नुभएको छ । समको छ दशकको नाट्ययात्रामा एकाङ्की र पूर्णाङ्की गरी पाँच दर्जन नाट्यकृति प्रकाशित छन् । तर कोइरालाले यस कृतिमा मूलतः छवटा दुःखान्त नाटकमा प्रयुक्त द्वन्द्वका सम्बन्धमा मात्र विश्लेषण गर्नुभएको छ । 

द्वन्द्व भनेको दुई विपरीत वस्तु, परिस्थिति, अवस्था, गुण, भावना, विचारलगायतका कुराको संयोजन हो । यो व्यक्तिगत र पारस्परिक हुन्छ भने यसलाई आन्तरिक र बाह्य द्वन्द्व पनि भनिन्छ । नाटकमा द्वन्द्व नै सम्पूर्ण कुराको कारक मानिन्छ । दुःखको कारण नै द्वन्द्वबाट उत्पन्न हुन्छ, चाहे त्यो आन्तरिक कारण होस् वा बाह्य । दुःखान्त नाट्यसंरचक घटकमा कथानक, पात्र, परिवेश, संवाद, भाषा, शैली, द्वन्द्व र उद्देश्यबीच अन्योन्याश्रित सम्बन्ध स्थापित हुन्छ; जसले गर्दा नाट्य सिर्जना सफल बन्दछ । 

समका नाटकमा अनेक कोणबाट अनुसन्धान र विश्लेषण गरिएको पाइन्छ । सबैभन्दा धेरै त वरिष्ठ समालोचक केशवप्रसाद उपाध्यायले गर्नुभएको छ । ईश्वर बराल, तारानाथ शर्मा, देवीप्रसाद सुवेदी, प्रचण्ड मल्ललगायतले समको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गर्नुभएको छ । यसै मेसोमा कोइरालाको यस कृतिले समका दुःखान्त नाटकको थप महŒवबोध गराएको छ । नेपाली आख्यानको अध्ययन, केही आधुनिक नाटक र नाटककार, आख्यान विमर्श, केही आख्यान र आख्यानकारजस्ता समालोचनात्मक कृतिका स्रष्टा कोइरालाको यस बृहत् ग्रन्थले समका दुःखान्त नाटकमा भएको द्वन्द्व पक्षलाई केलाउने काम मात्र नगरेर द्वन्द्व सिद्धान्तका बारेमा विस्तृत रूपमा प्रकाश पारिएकाले खोज–अन्वेषणमा लाग्न चाहने पाठकका लागि पठनीय एवं सङ्ग्रहणीय कृतिका रूपमा आएको छ । 

पुस्तकका अघिल्ला तीन खण्ड अर्थ, परिभाषा, आधार र समको व्यक्तित्व निर्माणको पाटो, नाट्ययात्रा र दुःखान्त नाटकको पहिचानमा केन्द्रित छन् । यसपछिका खण्ड छवटा पूर्णाङ्की नाटक– तानसेनको झरी, मुटुको व्यथा, अन्धवेग, प्रेमपिण्ड, स्वास्नीमान्छे र भीमसेनको अन्त्यमा पाइने द्वन्द्वपक्ष, दुःखान्तीय कथानकमा पाइने द्वन्द्व, द्वन्द्वगत वैशिष्ट्य, पात्रगत चरित्र र दुःखान्तीय परिवेशमा द्वन्द्वको अवस्थामाथि विस्तृत विश्लेषण गरिएको छ । यति गहन कृतिका माध्यमबाट स्रष्टा डा. कोइरालालाई उहाँको शोध–अनुसन्धानका कारण द्वन्द्वविज्ञका रूपमा मूल्याङ्कन गर्न सकिन्छ । 

कोइरालाले द्वन्द्वको निष्कर्ष प्रस्तुत गर्दै उल्लेख गर्नुभएको छ– द्वन्द्व भनेको दुई विपरीत वस्तु गुण, अवस्था, प्राणी, विचार, भावना आदिको जोडा हो । यो मानसिक द्विविधा, विपरीत परिस्थिति, व्यक्ति समूह, समुदाय, समाज, राष्ट्र र अन्तर्राष्ट्रबीचको लडाइँ, झगडा, सङ्घर्ष पनि हो । मान्छेको मनबाट उत्पन्न हुने द्वन्द्व नै सम्पूर्ण कुराको कारक हो । पौराणिक, दार्शनिक, मनोवैज्ञानिक एवं पूर्वीय र पाश्चात्य अवधारणाका आधारमा गरिएको विस्तृत खोज–अनुसन्धानको दस्तावेजका रूपमा प्रकाशित यस ग्रन्थले कोइरालाको अनुसन्धानको क्षेत्रलाई अझै फराकिलो बनाएको अनुभव हुन्छ । ओरिएन्टल पब्लिकेसन हाउस प्रालिले प्रकाशन गरेको यस पुस्तकको पृष्ठ सङ्ख्या ५६४ र मूल्य ७५०/– रुपियाँ रहेको छ ।