• १३ साउन २०८१, आइतबार

किसान चैते धानखेतीतर्फ आकर्षित

blog

चैते धानको अनुगमन गर्दै कृषि ज्ञान केन्द्र बाँकेको टोली । तस्विर : गोविन्द शर्मा, बाँके ।

गोविन्द शर्मा

बाँके, चैत ३ गते । बाँकेमा यसवर्ष गतवर्षभन्दा दोब्बर बढी क्षेत्रफलमा चैते धान लगाइने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार किसानहरुले चैते धान लगाउन राखेको ब्याडको आधारमा यसवर्ष गतवर्षभन्दा दोब्बर बढी क्षेत्रफलमा चैते धान रोपाई हुनेछ । 

किसानहरुले एकल र सामुहिक रुपमा चैते धान लगाउन सुरु गरेका छन् । यसवर्ष केही दिनयता चैते धान रोपाई सुरु भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदले जानकारी दिनुभयो । गतवर्ष बाँकेमा १६ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा यसवर्ष करिब ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनसक्ने अनुमान कार्यालयको छ ।

“किसानहरुलाई चैते धान लगाउन उत्प्रेरित गर्नका लागि सचेतनामूलक अभियान पनि सञ्चालन गरेका छौं,” कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख अहमदले भन्नुभयो, “किसानलाई सहुलियत पनि दिएका छौं ।” 

कृषि ज्ञान केन्द्रका अनुसार किसानलाई चैते धानप्रति आकर्षण गराउन अनुदानमा धानको बीउ प्रदान गरिएको छ । साना सिँचाइका लागि सहयोग गरिएको छ । धानबालीमा कुनै कीरा वा अन्य रोग देखिएमा नियन्त्रणका लागि सहयोग गर्ने र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने तयारी कार्यालयको गरेको छ । 

चैते धान मसिनो लगाउने गरिन्छ । बाँझो खेतमा चैते धान लगाएमा धानको समग्र उत्पादन बढ्ने र भारतबाट चामल आयातमा कमी ल्याउन सकिने भएकाले चैते धानप्रति किसानलाई आकर्षित गराउन खोजिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । वर्षामा लगाइने धानभन्दा चैते धानमा किरा रारोगव्याधि कम लाग्ने, गर्मी बढी हुने भएकाले छिटो फल्ने र झारपात पनि कम उम्रिने कृषि प्राविधिकहरुको भनाइ छ । 

चैते धान प्रति हेक्टरमा ४ मेट्रिक टन उत्पादन हुन्छ । बाँकेमा करिब पाँच वर्षदेखि चैते धानको सुरुवात भएको हो । पछिल्लो समय सिक्टा सिँचाइ आयोजनाले मूल नहर र शाखा नहरमा पानी छोड्न थालेपछि चैते धान लगाउनेहरु बढ्न थालेका छन् । 

जिल्लाको डुडुवा, खजुरा, राप्ती–सोनारी, बैजनाथलगायतका क्षेत्रमा चैते धान लगाउने कार्य भइरहेको छ । वैजनाथ ८ झिंगौरमा पाँच जना किसानको समूहले यसवर्ष परीक्षणको रुपमा ३५ कठ्ठा जग्गामा चैते धान लगाएका छन् ।