• ९ मंसिर २०८१, आइतबार

‘चैत ३’ को त्यो दिन

blog

वि.सं. २०४६ को जनआन्दोलन उत्सर्गमा पुगेको बेला थियो, त्यो चैतको महिना । त्यसो त, माघ महिनामै जनआन्दोलनका कमान्डर लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा सिंहकै निजी निवास चाक्सीबारी, क्षेत्रपाटीबाटै जनआन्दोलनको घोषणा भइसकेको थियो । त्यसपश्चात्, करिब एक महिना पुग्दानपुग्दै फागुन ७ गतेदेखि औपचारिक आन्दोलन सुरु भएको थियो । आन्दोलनको सुरुवात् हुनु के थियो त्यसअन्तर्गत सडक–सडक, गल्ली–गल्ली, चोक–चोकमा तत्कालीन पञ्चायतको विरुद्ध प्रत्येक दिन दिनभर जुलुस, कोणसभाहरू हुन्थे भने प्रायः बेलुकीपख ‘ब्ल्याक आउट’को आह्वानका साथ मसाल जुलुसहरू निस्कन्थे । त्यतिखेरै हो राजधानीवासीले सिधै तत्कालीन राजा–रानीमाथि तथानाम गालीगलौज मिसिएका अश्लील खालका समेत नारा सुनेका । डरभर कसैलाई थिएन, स–साना केटाकेटीदेखि लिएर युवा मात्रै होइन बूढापाका पनि आन्दोलनका समर्थनमा निस्फिक्री सडकमा उत्रन्थे ।

एक हदसम्म पूरै जनता पञ्चायती व्यवस्थाका विरुद्ध देखिन्थे । कविहरू विरोधका कविता लेखेर पत्रपत्रिकामा छपाइ मात्र रहेका हुँदैनथे, सडकका छेउकुनो यत्रतत्र वाचन गरिरहेका हुन्थे । कलाकार व्यङ्ग्यचित्र बनाउनेदेखि लिएर सडक नाटक देखाइरहेका हुन्थे । ठाउँ–ठाउँमा विद्रोही गीतहरू गुञ्जिरहन्थे भने त्यसबेलाका साप्ताहिक अखबार पूरै आन्दोलनका समाचारले ढाकिएका हुन्थे ।

सत्ता भन्ने विषय गजबकै हुँदो रहेछ । कतै पनि आफ्नो विरोध नभए जस्तो गरेर सत्ताधारीहरू करिब–करिब मौनता अँगालेर बसेका थिए । उनीहरू भन्ने गर्थे– “मुठीभरका मान्छेहरू सहभागी भएको यो आन्दोलनको कुनै अर्थ छैन ।” अर्थात् उनीहरूले त्यो आन्दोलनको अस्तित्व नै स्वीकारेका थिएनन् । यही क्रममा आन्दोलनले बृहत् आकार लिँदै गएको उनीहरूले शायद पत्तो नै पाएनन् । र, यसैबीच फागुन महिना सकिनासाथ त्यति ठूलो योजना नबनाइकनै चैत ३ गतेको दिन त्यो आन्दोलनको एउटा भिन्नै रूप देखियो । 

त्यस दिन, रानीपोखरीको डिलको पातलो फलामे बारसँगै जोडिएको त्रिचन्द्र कलेजको प्राङ्गणमा अचानक केही मान्छे जम्मा भएका देखिए । जम्मा हुनेहरू केवल जम्मा मात्रै हुँदै गएनन् त्यहीँ बस्दै–बस्दै गए । एकैछिनमा त्यो जमघट बढ्दै गयो र हेर्दाहेर्दै बाटोका बटुवाले त्यहाँ अनौठोको दृश्य देख्न पुगे । उनीहरू अडिएरै हेर्न थाले । त्यहाँ जम्मा हुनेहरू सबैका मुखमा कालो पट्टी बाँधिएको थियो । यति छिटो र छरितोसँग त्यो काम भयो कि देख्नेहरूले एक–आपसमा प्रश्नवाचक दृष्टि फालेर मुखामुख गर्न लागे । तर, त्यसको जवाफ पाउन निमेषभर नै लागेन, प्रहरीका जत्था आएर ती सब ‘कालो पट्टी’ वालालाई घेराबन्दी गरेपछि थाहा भइहाल्यो– आफ्नो मुखमा बाँधिएका त्यो कालो पट्टी ‘तत्कालीन व्यवस्थाले वाक्स्वतन्त्रता नदिएको जनाउने सङ्केत’ रहेछ । न कुनै भाषण, न कुनै वक्तव्य, न त कुनै नारा नै लाग्यो त्यहाँ । व्यवस्थाविरुद्ध त्यस किसिमको मौन विरोध सम्भवतः नेपालकै इतिहासमा पहिलो पटक भएको थियो । कार्यक्रमका संयोजकमध्येका एक लेखक तथा नाट्यकर्मी अशेष मल्ल सम्झन्छन्– “हामीले मुखमा कालो पट्टी बाँधेर व्यवस्थाको विरोध जनाउने कार्यक्रम बनाएर मोटरसाइकलबाट रातारात घर–घरमा पुगी सूचना प्रवाह ग-यौँ, जसका निम्ति उचित स्थान प्रज्ञाप्रतिष्ठानको प्राङ्गण तय गरेका थियौँ । तर, निश्चित दिन र समयमा हामी एकेडेमी पुग्दा त्यहाँ हामीभन्दा अघि नै प्रहरीको चहलपहल बढिसकेछ । तसर्थ तत्कालै ठाउँ परिवर्तन गरेर त्रिचन्द्र क्याम्पसमा भेला भयौँ ।” 

पञ्चायतको विरुद्धमा गरिने कुनै पनि कार्यक्रमप्रति तत्कालीन प्रशासन दिनानुदिन निरङ्कुश बन्दै गइरहेको अवस्था थियो त्यो । सडकमा उत्रने विरोधी प्रदर्शनकर्तामाथि लाठीचार्ज, अश्रु ग्यासलगायतका प्रहरी–दमन सामान्य दैनिकी नै बनेको थियो । तर पनि ती सबलाई खपेर–पचाएर आन्दोलनकारी आन्दोलनको अभियानमा थपमाथि थप आन्दोलित बन्दै गइरहेका थिए । विद्यार्थी, शिक्षक, निजी कर्मचारी, व्यापारी, उद्योगीलगायत हरेक तप्का र वर्गका नागरिक मात्रै होइनन्, सरकारी जागिरे–कर्मचारीले समेत आफ्नो खाइपाई आएका तलब–सुविधालाई समेत जोखिमा राखेर कतिपय त खुल्लमखुल्ला आन्दोलका कार्यक्रममा सहभागी भइरहेका थिए । यस्तो अवस्थामा को पो अछूत रहिरहन सक्थे र ! 

अप्रत्याशित दृश्य देखिएको थियो त्यो दिन, प्रशासक र दर्शकका सामुन्ने । थुप्रै वरिष्ठ कवि–साहित्यकार मोहन कोइराला, कृष्णचन्द्र सिं प्रधान, वासु शशी, कमलमणि दीक्षित, गोविन्दप्रसाद लोहनी, आनन्ददेव भट्ट, डा. धु्रवचन्द्र गौतम, अशेष मल्ललगायत कलाकारहरू रामेश–रायन, मदनकृष्ण–हरिवंशहरू सबै नै आफ्ना मुखमा ‘कालोपट्टी’ बाँधेर चुपचाप बसेका थिए । सम्भवतः सय जनाको त्यही ऐतिकासिक भेला बीचोबीच शारीरिक असहजताका बावजुद पनि पारिजात उक्त कालो पट्टी आन्दोलनका विशेष आकर्षण देखिन्थिन् ।

तर त्यो दृश्य धेरैबेर यथावत् रहिरहेन । केहीक्षणमै प्रहरीको जत्था त्यो स्थलमा प्रवेश ग-यो र उक्त आन्दोलनमा सहभागी सबैलाई घेराबन्दी ग¥यो । दृश्य गजबको थियो । प्रहरीको त्यो हस्तक्षेपको विरुद्ध कोही–कसैले एक शब्द आवाजसमेत उठाएनन्, राजीखुसीले सबैले स्वतःस्फूर्त गिरफ्तारी दिए । गिरफ्तार गरिएका अभियुक्तलाई सडकमा राखिएका आफ्ना गाडीमा प्रहरीहरूले एक–एक हाल्दै गए, अथवा यसो भनूँ– अभियुक्तहरू गाडीमा आफैँ नै चढ्दै गए । 

ती सबलाई प्रशासनले दिनभर आफ्नो हिरासतमा राख्यो र फेरि यस प्रकारको आन्दोलन नगर्ने सर्तमा मुक्त पनि गरिहाल्यो । तर, त्यो क्षणभरको मुक्तिलाई साँच्चो मुक्तिको रूपमा कसले मानिरहन सक्थ्यो र ! पूर्ण स्वतन्त्रताको कविता लेख्ने, गीत गाउनेहरूलाई त्यस्तो तथाकथित मुक्ति कदापि मञ्जुर थिएन । नामञ्जुरीको त्यो स्पष्ट सङ्केत क्रमशः झन्–झन् सल्किँदै गएको आन्दोलनमा देखिँदै गयो, जसको राँकोले निरङ्कुशताका प्रत्येक घेरालाई खरानी बनाउँदै लग्यो । 

पङ्क्तिकारले आफ्ना आँखा सामुन्ने त्रिचन्द्रको पर्खालबाहिरबाट देखेको त्यो चैत ३ को कालोपट्टी–आन्दोलनको दृश्यले सम्भवतः २०४६ सालको जनआन्दोलनलाई पूर्णता दिनमा सबैभन्दा ठूलो योगदान दिएको थियो भनेर भनिहाल्न नमिले पनि यतिचाहिँ भन्न सकिन्छ– आन्दोलन सफल पार्ने बाटोलाई सहज भने त्यसले अवश्यै बनाएको थियो । चैतको २६ गते मध्यरातको समयमा बहुदल स्थापना गरिएको घोषणाले यसको पुष्टि गरेको तथ्य इतिहासमा सुरक्षित छ ।

लेखक साहित्यकार हुनुहुन्छ ।