• ८ मंसिर २०८१, शनिबार

लुम्बिनीमा पाँचसय अल्पकालीन भिक्षु

blog

मायदेवी मन्दिर परिषरमा प्रव्रज्या (अल्पकालिन भिक्षु) । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत २ गते । लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकै दिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका सय वटा नियमहरू पालना गर्नुपर्नेछ । 

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा बिहीबार मायादेवी मन्दिर प्राङ्गणमा पाँच सय जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो । 

अखिल नेपाल भिक्षु महासङ्घका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गर्नुभयो । अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका सयवटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ ।

फागुन २७ गते काठमाडौं र फागुन २८ गते लुम्बिनीमा गरी ५ सय जनाको केश मुन्डन गरिएको थियो । केश मुन्डन गरिए पनि बिहीबार मात्रै उहाँहरूले प्रवज्या गरी अल्पकालीन भिक्षुका रूपमा पहेलो चीवर लगाउन योग्य हुनुभएको हो । 

चीवर प्रदान एवं कुलपुत्र प्रवज्या कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय) ले भगवान् बुद्धको जन्मस्थलमा अल्पकालीन समयका लागि भए पनि प्रव्रज्यामा सहभागी हुनेलाई स्वागत गर्नुभयो । 

उहाँले बुद्ध जन्मेकै देशका नागरिकहरू यसरी बुद्धको शिक्षा ग्रहण गर्नु नै महान् काम रहेको बताउनुभयो । बुद्ध शिक्षालाई सतही रूपमा मात्रै नभई बुद्धभूमिमै आएर प्रव्रज्या (अल्पकालीन भिक्षु) ग्रहण गरी व्यवहारमै बुझ्नु अत्यन्तै सकारात्मक रहेको उहाँको भनाइ छ । 

कार्यक्रममा अखिल नेपाल भिक्षु सङ्घका महास्थवीर शोभनले भिक्षु सङ्घको निर्देशनअनुसार प्रव्रज्या ग्रहणका लागि देशभरिबाट सहभागी भएकालाई स्वागत गर्दै बुद्ध शिक्षालाई नजिकबाट चिन्ने र व्यवहारमा अङ्गाल्न आग्रह गर्नुभयो । 

बुद्धजन्मस्थल लुम्बिनीमा कोभिड महामारीपछि एकैदिन प्रव्रज्या (अल्पकालीन भिक्षु) कार्यक्रम पहिलो पटक भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । उहाँले एकै दिन पाँच सय जना अल्पकालीन भिक्षु हुने कार्यक्रमले बुद्ध शिक्षाको प्रवर्द्धन र लुम्बिनीको महत्त्वलाई थप उजागर गर्ने बताउनुभयो । 

कोभिडअघि सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना र सन् २०१९ मा एक हजार ११९ जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एवं कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले बताउनुभयो । 

कोभिडका कारण अहिले सङ्ख्या घटाएर पाँच सय गराइएको र आगामी दिनमा एकै दिन १० हजारलाई प्रव्रज्या गराइने योजना रहेको शाक्यको भनाइ छ । प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्यहरू विश्वराज पौडेल, नेत्रबहादुर शाही, थाई विहारका प्रमुख भिक्षु सुबोध भिक्षुलगायतको उपस्थिति थियो । प्रव्रज्यामा नेपालको २० बढी जिल्लाबाट सहभागिता छ । चैत १७ गते अल्पकालीन भिक्षुहरूको समय सकिनेछ ।