• १३ साउन २०८१, आइतबार

सहरिया प्रवृत्ति उजागर गर्ने नाटक ‘लङ टाइम नो सी’

blog

दमक, चैत २ गते । सिनेमाघरमा नेपाली सिनेमाको पोस्टर लागेको छ । टिकट काट्ने ठाउँमा खचाखच भीड छ । ठेलामठेल लाइन । कुनै सरकारी अस्पतालमा स्वास्थ्य बीमा सुविधा लिनेको भीडभन्दा कम छैन । कोही लाइन मिच्न तम्सिरहेका छन् भने कोही फिल्म हेर्न नपाउने निराशामा घरै फर्किन खोजिरहेका छन् । त्यसैबेला एक युवक सिनेमाघरको टिकट काउन्टरभन्दा पर घर फर्किन लागेको एक अधबैँसेलाई गएर झ्याप्प अँगालो मार्छ । अधबैँसेले युवकलाई चिन्दैनन् । युवक छक्क पर्छन् । उनी अधबैँसेलाई आफ्नै दाजुभन्दा नजिकको मानेर सम्बोधन गरिरहन्छन् । लाइन मिचेरै फिल्मको अर्को टिकट आफ्नो दाजुका लागि भनेर ल्याउँछन् । 

यसरी दुवै जना सिनेमाहलभित्र चलचित्र हेर्न छिर्छन् तर अधबैँसेले युवकलाई चिन्न सक्दैनन् । यही कुराको समिश्रण हो– नाटक ‘लङ टाइम नो सी’ ।

दमकको कदम थिएटरमा बढ्दो सहरीकरणले मानिसमा ल्याउने सहरिया प्रवृत्ति उजागर गर्ने नाटक ‘लङ टाइम नो सी’ मञ्चन भइरहेको छ । साहित्यकार नयनराज पाण्डेको कथा महानगरलाई नाट्य रूपान्तरण गरेर बनाइएको नाटकलाई दीपक खरेलले निर्देशन गर्नुभएको छ । 

नाटकले बढ्दो सहरीकरण र मान्छेमा ल्याउने सहरिया प्रवृत्तिले आफ्नै आफन्तबीचका सम्बन्ध नै कति टाढा बन्दै छ भन्ने कुरा प्रस्ट देखाउँछ । पाण्डेको कथा महानगरले केही वर्षअगाडिको कथा भने पनि यो कथा अहिलेको समयमा झनै सान्दर्भिक हुने भएको बताउनुहुन्छ नाटक निर्देशक खरेल । दमकमा नियमित रूपमा नाटक मञ्चन गरिरहेको कदम थिएटरले नाटक ‘लङ टाइम नो सी’ फागुन २९ गते सोमबारदेखि चैत ६ गतेसम्म नियमित रूपमा मञ्चन गर्दै छ । नाटकमा अग्रज रङ्गकर्मी सुवास खरेल, पासाङ चोमु शेर्पा, मनिक शङ्कर, नवीन रिजाल, रश्मी उप्रेती, शिखर लाम्गादेलगायतका कलाकारको अभिनय छ भने युसन बान्तवा राई र सुजन भण्डारीको प्रत्यक्ष वाद्यवादन रहेको छ ।