• २५ वैशाख २०८१, मङ्गलबार

प्रदेश नामकरणपछि काम

blog

नेपालका अन्य सबै प्रदेशले गत वर्षसम्म आआफ्ना प्रदेशका न्वारान गरिसके पनि प्रदेश नं १ ले यही फागुन १७ गते मात्र आफ्नो नामकरण गरेको छ। ‘कोशी प्रदेश’ भनी नाम राखिए पनि वास्तवमा त्यो ‘कौशिकी नदी’ स्रवण क्षेत्र हो। नियमले ‘कौशिकी’ तत्समबाट तद्भवका रूपमा चलाउनुपर्ने त ‘कोसी’ हो तर पनि प्रदेश नं १ प्रदेश सभाले ‘कोशी’ नै पारित गरेपछि ‘कोसी’ चलाउन पनि त मिलेन। ‘कोसी’ राउटेहरूले बनाउने सन्दुस वा मधुस पनि हो। शब्द वा पदावलीको प्रयोगमा यस्ता खालका परिवर्तन आइरहन्छ र सरकारी कागजातमा आएपछि त्यसको उही प्रयोगमा बाध्यता पनि आइलाग्छ। कालान्तरमा बोलीचालीमा प्रयोग हुने शब्द नै लेखनमा पनि स्वीकारियो। संस्कृत तत्समबाट तद्भव भई नेपालीमा प्रयोगमा आएका सयौँ शब्द, पदावली छन्। जनमानसले बोल्ने यस्ता तद्भव शब्दलाई नै मानक बनाउँदा भविष्यमा मूल धातु वा शब्द नै हराउने चिन्ता हुन्छ।

संस्कृतको ‘मध्य देश’ बाट ‘मधेश’ शब्द आएको मानिन्छ। ‘मधेश’ पनि आगन्तुक भएकाले ‘मधेस’ मा बदलिइसकेको छ, जसको अर्थ ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ ले ‘हिमालदेखि दक्षिण, विन्ध्यपर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिमपट्टि पर्ने समथर भूभागको पुरानो नाउँ नै मधेस वा मध्यप्रदेश भएको उल्लेख गरेको छ। “इतिहासकार बाबुराम आचार्यका अनुसार नेपालमा प्रचलित मधेश शब्द आफैँमा ‘मध्य देश’ बाट बनेको र ‘मध्य देश’ चाहिँ संस्कृत भाषाको ‘मध्यम देश’ बाट र मध्यम देश आफैँमा चाहिँ पालि भाषाको ‘मज्झिमदेश’ शब्दावलीबाट निर्माण भएको मानिन्छ। इतिहासमा पनि नेपालमा मधेशबारे एउटै बुझाइ थिएन, समयअनुसार फेरिएको छ। एन्द्रियास होफरका अनुसार, पहिले मदेश/मदेसले भारतलाई त जनाउँथ्यो नै, भारत र नेपालको तराई भूभागलाई पनि प्रतिनिधित्व गथ्र्याे।” पहिलेको प्रदेश नं २ ले पनि आफ्नो नाम ‘मधेश’ राखेको छ जुन आगन्तुक शब्दका नियमले ‘मधेस’ हुनुपथ्र्याे।

भगवान् शिव कुनै देवीदेवतासँग रहँदा कुनै एक प्रसङ्गमा हाँस्दा मुखबाट निस्केको मानिएको काठमाडौँ उपत्यकाको पूर्वाेत्तरमा पर्ने वाग्द्वारबाट निस्केर बग्ने एक नदीको नाम वाग्मती (संस्कृत नाम वाग्वती = वत् + ई) भयो। भएकी, रहेकी, हुने, युक्त भन्ने अर्थ जनाउन शब्दको पछाडि स्त्रीलिङ्गी प्रत्यय वा परसर्गका रूपमा वती लेखिन्छ, जस्तै; पुत्रवती, सौभाग्यवती आदि। वाग्वती शब्द पनि बोल्दा बोल्दै वाग्मती भयो। नेपाली जिब्राले त्यसलाई अझ बाग्मती, बागमती बनाइदियो। विकिपिडियाले उल्लेख गरेको छ, “विनयपिटकमा (यस) नदीलाई नन्दबग्गा र वग्गुमुदा भनी उल्लेख गरिएको छ। यसलाई मज्झिम निकायको बत्थ सुत्तन्तमा बाहुमतिको रूपमा पनि उल्लेख गरिएको छ। नेपालको पहिलो अभिलेख संवत् ३९९ को एउटा शिलालेखमा नदीलाई वाग्वति पारप्रदेशे को रूपमा उल्लेख गरिएको छ भने पछि गोपालराज वंशावलीमा यसको वर्णन गरिएको छ।” 

विसं २०७६ पुस २७ मा बसेको तत्कालीन प्रदेश नं ३ प्रदेश सभा बैठकले ‘बागमती’लाई बहुमतले नामकरण गर्ने प्रस्तावलाई समर्थन गरेको थियो। राष्ट्रिय समाचार समिति (रासस) ले भने नेपाली बृहत् शब्दकोशमा रहेको वाग्मती नै प्रयोग गरिरहेको थियो। वाग्मती सरकारबाट भने राससले प्रयोग गरेको शब्द सही भए पनि राजपत्रमा नै प्रकाशन भएको ‘बागमती’ प्रदेश नै लेख्न आग्रह भइरह्यो र अन्तमा सोही लेख्न बाध्य हुनुप¥यो। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पनि केही चर्चा गरौँ। ‘गण्डक’ नामका ऋषिको तपस्याबाट खुसी भएका नदी भएकाले गण्डकी भनिएको जनाइएको छ। वृन्दाको श्रापबाट विष्णुले शिला रूप लिनुपर्ने भएकाले उनी कालीगण्डकीमा शालिग्रामका रूपमा प्रकट भएको विश्वास गरिन्छ। त्यसो त गण्डकको अर्थ गैँडा र गाला पनि छन्। गैँडा पाइने क्षेत्र भएर हुन सक्छ कि ? त्यतातिर खै ध्यान गएको ? मुक्तिक्षेत्रको चुचुराबाट नभएर गण्डस्थल वा अलि तल घाँटी क्षेत्रबाट निस्केको भएकाले गण्डकी भनिएको त होइन ? “आज लुम्बिनी भनेर चिनिएको क्षेत्र मध्यकालमा ‘रुमिनदेइ (रूपन्देही)’ थियो (राधाकुमुद मुखर्जी; अशोक)। चिनियाँ यात्री ह्वेन त्साङ र फाहियानको चिनियाँ लिपिको प र म को रोमन लिप्यन्तरणले गर्दा रूपन्देही चैँ रुमिनदेही भएको हुनसक्छ।” (लक्ष्मीप्रसाद खतिवडा, यसरी प्रमाणित हुन्छ महाकाली नदी नै पश्चिमी सीमा भएको नेपाली तथ्य, हिमालखबर डटकम, २०७७ साउन १)। मौर्य सम्राट् अशोकले सन् २४९ मा स्थापना गरेको अशोकस्तम्भमा ‘लुंमिनी गाम’ शब्द उल्लेख छ। रुमिनदेही वा लुंमिनी वा लुम्बिनी पहिले उपवनका रूपमा थियो। अहिलेको लुम्बिनी प्राचीनकालमा रुम्मिनदेई (रुमिनदेई) वा वनदेवीका रूपमा पुजिने गरेको विभिन्न पुस्तकमा जनाइएको छ। मायादेवी मूर्तिलाई वनका बीचमा भेटिकाले मानिसले नबुझी शक्तिका रूपमा पुज्ने गरिएको हुन सक्छ। यसरी रुमिनदेईबाट नै रूपन्देही र लुम्बिनी बनेको हुन सक्ने देखिन्छ। 

कर्णाली नाममा पनि अलि विवाद नै छ। यसलाई कोही कर्णाली लेख्छन् भने कोही कर्नाली। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव जगत्प्रसाद उपाध्याय कर्णाली शब्द कर्णाल (कर्नाल) बाट बनेको बताउँछन्। उनका अनुसार यो कर्णाल (कर्नाल) मा ‘ई’ प्रत्यय लागेर बन्छ। कर्णाल भनेको तात्कालिक मध्यपश्चिमको भेरी, कर्णाली र सुदूरपश्चिमका सेती तथा महाकाली क्षेत्रमा प्रचलित घुँगुरिएको बाजा हो । सो बाजालाई जोडले फुकेर बजाइन्छ। यसको ध्वनि चर्काे सुनिन्छ र जमिन नै थर्किने गरेर धेरै टाढासम्म जान्छ। कर्णाली नदी पनि ठूलो अनि लामो छ र नागबेलीजस्तै गरेर बग्छ। यसका छालहरूले चर्काे आवाज निकाल्छन्। योगी नरहरिनाथका अनुसार पनि कर्णालले झैँ कलनाद गर्ने हुनाले यस नदीलाई कर्णाली भनिएको हो। योगीले आफ्नो पुस्तक ‘इतिहास प्रकाश’ (२०१३) मा यही कुरा लेखेको र पछि अन्वेषक सत्यमोहन जोशीले पनि त्यसलाई स्रोतका रूपमा ‘कर्णाली लोकसंस्कृति’ (२०२८) मा उल्लेख गरेको जनाइएको छ। 

बाँकी रह्यो सुदूरपश्चिम प्रदेश। वास्तवमा पृथ्वीको कुनै कुना पनि स्वयंमा पूर्वपश्चिम, उत्तरदक्षिण भन्ने हुन्न। कुनै स्थानलाई केन्द्र मानेर मात्र सजिलाका लागि दिशा छुट्टयाइएको हो। नेपालको राजधानी काठमाडौँ धादिङ नौबिसेबाट हेर्दा पूर्व र काभ्रेपलाञ्चोक बनेपाबाट हेर्दा पश्चिम लाग्छ। अहिले युरोप, अमेरिकाले भन्ने गरेको मध्यपूर्व पनि हाम्रा लागि पश्चिम एसिया हो। गणतन्त्र आएर सङ्घीयता लागू भइसकेका अवस्थामा अब केन्द्र भन्ने नै छैन। आफूले आफूलाई स्थापित गर्न सके आफैँ केन्द्र बनिन्छ। साहित्यका हकमा पनि त्यही लागू भइसकेको छ। पत्रकारितामा पनि केन्द्र र मोफसल भन्ने भत्किसक्यो। 

यतिका भूमिका बाँध्नाको अर्थ राजतन्त्र मासिएर गणतन्त्र, नयाँ नेपाल भनिरहेका अवस्थामा हाम्रो सङ्घीयता, हाम्रो पहिचान, हाम्रो मानसिकता, हाम्रो सोचाइबारे चर्चा गर्न खोजिएको हो। त्यही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम नै बहुमतले नामकरण गर्नु थियो भने यत्तिको माथापच्ची किन ? कोशीले किराँत, बागमतीले नेवा वा ताम्सालिङ, गण्डकीले मगरात नाम किन दिन सकेनन् ? कर्णालीले ऐतिहासिक सिँजा राज्य किन ब्युँताउन सकेन ? सुदूरपश्चिमले आफूलाई किन सुदूर भन्नै मन परायो ? मधेशबाहेक अन्य नाम त पहिले पनि थिए। पञ्चायती व्यवस्थाले नै करिब २० वर्ष बोकेको नाम राजनीतिक दलहरूलाई किन प्यारो भयो ? के अब यसलाई पञ्चायती सङ्घीयता भन्न सकिँदैन ? नाममा के छ र भन्नेले आआफ्ना प्रदेशलाई समृद्धिको नारा दिएर आजदेखि नै किन बहस नचलाएको ?

खासमा अब नामकरण र राजधानीको विवाद सकियो। तथापि सुदूरपश्चिमको राजधानी तोकिएको गोदावरीका लागि पूर्वाधारको काम अझै सुरु भएको छैन। धनगढीमै फर्कनुपर्ने सोच्न थालिएको हो कि ? प्रदेशका राजनीतिक दल र राजकीय पदमा रहेकाहरूले विकासमा गर्ने प्रतिस्पर्धाले नै समग्र मुलुकको विकास र समृद्धि हुने हो। उनीहरूले जति बहस गर्नु छ, समृद्धिकै विषयमा गरेर आआफ्ना प्रदेशलाई एक न एक पहिचान दिने काम गरेमा मुलुक र जनताका लागि त्यही नै अमूल्य योगदान हुनेछ। 

लेखक राससमा आबद्ध हुनुहुन्छ ।