• ८ मंसिर २०८१, शनिबार

बिग्रिन थाले माइक्रोफिल्म

blog

काठमाडौँ, फागुन ३० गते । युगौँसम्मका लागि भनेर माइक्रोफिल्ममा सुरक्षित राखिएका ऐतिहासिक ग्रन्थ तथा लिखत बिग्रिन थालेका छन्। अभिलेखालयमा दुई लाखभन्दा बढी प्राचीन ग्रन्थ तथा लिखतका पोजेटिभ र नेगेटिभ गरी १८ हजार माइक्रोफिल्म छन्। तीमध्ये दुई सयवटा रिल पूर्ण रूपमा बिग्रिएका छन् भने करिब छ सय रिलमा समस्या देखिएको छ।

अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले तापक्रम नमिल्दा वा रिलको गुणस्तरका कारण बिग्रिन थालेको हुनसक्ने बताउँदै भन्नुभयो, “विगतमा बत्ती गएका बेला तापक्रम कायम राख्ने प्रविधि थिएन। पहिलेका एसिडयुक्त रिलका कारण पनि समस्या उत्पन्न भएको हुनसक्छ।”

माइक्रोफिल्मलाई २४सै घण्टा १८ देखि २१ डिग्री सेल्सियसको तापक्रममा राख्नुपर्ने हुन्छ। हाल ‘ब्याकअप’का कारण बत्ती गए पनि तापक्रम र आद्र्रतामा तलमाथि हुँदैन। रिलमा समस्या देखिएको दुई वर्षभित्र रिल कामै नलाग्ने गरी बिग्रिने समस्या देखिएको छ। महानिर्देशक प्रधानाङ्गका अनुसार समस्या आएका रिलको गन्ध निकै अमिलो खालको हुन्छ। त्यसको गन्धले आँखा पिरो हुनुका साथै माइक्रोफिल्म राखिएको कोठामा प्रवेश गर्दा निसास्सिने अवस्था रहन्छ। भिनेगर जस्तो गन्धका कारण यस समस्यालाई ‘भिनेगर सिन्ड्रोम’ नामकरण गरिएको छ।

नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाअन्तर्गत सन् १९७० बाट नेपालभरि रहेका ग्रन्थ तथा लिखत सङ्कलन गरी माइक्रोफिल्ममा राख्न थालिएको हो। सुरुमा एसिडयुक्त रिलमा राख्ने गरिएकोमा सन् १९९५ देखि पोलिस्टरयुक्त रिलमा राख्ने गरियो। एसिडयुक्त रिलमा अम्लियपन उत्पन्न भई त्यसबाट रिलमा छापिएका सामग्री मेटिनेदेखि रिल नै पग्लिएर डल्लो पर्ने समस्या सिर्जना हुँदै गएको छ।

अभिलेखालयमा पुगेका अध्ययनकर्तालाई पोजेटिभ रिल उपलब्ध गराइन्छ र उनीहरूले माइक्रोफिल्म रिडरको सहयोगले रिलमा रहेका सामग्री पढ्ने गरेका छन्। पोजेटिभ रिल बिग्रिएमा नेगेटिभ रिलबाट प्रतिलिपि तयार गर्न सकिन्छ तर पोजेटिभ र नेगेटिभ दुवै पूर्ण रूपमा क्षति भएका दुई सय रिलको प्रतिलिपि तयार गर्न सकिने अवस्था छैन र ती नष्ट भएका ग्रन्थ तत्काल उपलब्ध हुनसक्ने अवस्था पनि छैन।

नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाअन्तर्गत सन् १९७० बाट नेपालभरि रहेका ग्रन्थ तथा लिखत सङ्कलन गरी माइक्रोफिल्ममा राख्न थालिएको हो । 

“एकप्रति जर्मन सरकारसँग छ,” अभिलेखालयका महानिर्देशक प्रधानाङ्गले भन्नुभयो, “बिग्रिएकोप्रति माग गर्न सकिन्छ। त्यस्तो हुँदा जर्मन सरकारले हामीले माग गरेका प्रति उपलब्ध गराउनुपर्छ।” कम्तीमा तीन सय वर्ष सुरक्षित राख्न सकिने भनिएका रिल ५० वर्षमै बिग्रिन थालेपछि अभिलेखालयले गन्ध उत्पन्न भएका रिललाई धुने, अर्काेप्रति तयार गर्ने र डिजिटाइज गर्ने काम थालेको छ।

अभिलेखालयका छविकार ज्योति न्यौपानेले समस्या देखिएका रिललाई मेसिनबाट पखाल्दा तत्काल गन्ध हटे पनि केही समयपछि पुनः गन्ध उत्पन्न हुने समस्या देखिएको बताउँदै भन्नुभयो, “यो निको नहुने समस्या हो। 

विशेष गरी एसिडबेस्ड रिलमा समस्या देखिएको छ। यो समस्या विश्वभरि नै छ। यसलाई विस्थापित गर्नैपर्छ।”

बिग्रिन थालेका माइक्रोफिल्मको दैनिक बढीमा १० देखि १२ वटासम्म रिल कपी गर्न सकिने अवस्था छ। उहाँले भन्नुभयो, “जनशक्ति पनि कम छ। प्रोसेसर मेसिन पनि एउटा मात्र छ। त्यसैले जनशक्ति नथपिउञ्जेल छिटो काम गर्न समस्या रहन्छ।” गोरखापत्रका माइक्रोफिल्ममा भने अहिलेसम्म समस्या देखिएको छैन।