रमेश विश्वकर्मा
गुल्मी, फागुन २८ गते । गुल्मीको इस्मा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि यस गाउँपालिकाले पहिलो चरणको बैठक सम्पन्न गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका उपाध्यक्ष कुँवरका अनुसार स्थानीय पाठ्यक्रममा स्थानीय मौलिक विषयवस्तु समेटिनेछ । ऐतिहासिक पहिचान कायम रहने गरी सो पाठ्यक्रम निर्माण गरिने तथा आगामी शैक्षिक सत्रदेखि नै स्थानीय पाठ्यक्रमलाई लागू गर्ने गाउँपालिकाको लक्ष्य छ ।
बैठकमा उत्पादन र व्यवसायी कुरालाई जोडेर पाठ्यक्रम निर्माण गर्ने सुझाव आएको छ । कार्यपालिकाको बैठक बसेर स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरी काम अगाडि बढाइने भएको छ ।
पाठ्यक्रम निर्माण गर्दा स्थानीय तहका विज्ञलाई प्राथमिकता दिएर निर्माण गर्नुका साथै छिमेकी स्थानीय तहका विज्ञ र आवश्यकता अनुसार सङ्घ र प्रदेशबाट पनि विज्ञ लिएर पाठ्यक्रम निर्माण गरिने यस गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो ।