• १३ साउन २०८१, आइतबार

एउटै योजनाका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता

blog

एउटा योजनाका लागि दुई वटा समितिसँग सम्झौता गर्ने सिमकोट गाउँपालिकाको कार्यालय । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, फागुन २८ गते । सिमकोट गाउँपालिकाको योजना शाखाले एउटा योजनाका लागि एउटै समुदायका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको पाइएको छ । गाउँपालिकाले दुई महिनाको अन्तरमा घेरवारको योजनाका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको हो । 

सिमकोट गाउँपालिका– ७ का वडा अध्यक्ष बलवीर शाहीले जबुका गाउँको गोठीपोरीदेखि माल ढुङ्गासम्म घेरबार योजनाका लागि गाउँपालिकाको योजना शाखाले एउटै समुदायका दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको बताउनुभयो । उहाँले विवाद भए सम्झौता भएको उपभोक्ता समितिलाई विवाद समाधान नगरी काम अगाडी नबढाउन पत्र काट्नुपर्नेमा त्यसो नगरी अर्को सम्झौता गर्नु नियमविपरीत भएको बताउनुभयो । उक्त योजना पाँच लाख बजेटको छ ।

बजेट भने वडाले व्यवस्था गरेको हो । उहाँले विवाद भए त्यसलाई समाधान गर्नतर्फ नगई गाउँपालिकाको योजना शाखाले गत मङ्सिर महिनामा प्रकाशबहादुर सिंह अध्यक्ष रहेको समिति र माघ महिनामा धनकला सिंह अध्यक्ष रहेको समितिसँग काम एउटै तर छुट्टाछुट्टै सम्झौता गरेको बताउनुभयो । योजना शाखाले मङ्सिरमा गाउँपालिकासँग सम्झौता गर्नु भएका प्रकाशबहादुर सिंह अध्यक्ष रहेको समितिलाई सम्झौतापछि काम अगाडि बढाउनका लागि कार्यादेश दिएको छ भने उक्त सम्झौताका लागि वडा अध्यक्ष शाहीको सिफारिस  रहेको छ । 

पछिल्लो सम्झौताका लागि वडा अध्यक्षले सिफारिस नगरेको भए पनि मङ्सिरमा भएको सम्झौताका लागि दिएको सिफारिस नै धनकला सिंहसँग भएको सम्झौतामा नै राखिएको छ । उहाँले यसका लागि योजना शाखा जिम्मेवार रहेको बताउँदै पहिले सम्झौता भएको समितिसँग निर्माण कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो । 

दुई समितिसँग निमित्त प्रमुख प्रशासकीय अधिकृत ममता रोकायाको हस्ताक्षर छ । प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले आफू कार्यालयमा नभएको बेला धनकला सिंह अध्यक्ष रहेको पछिल्लो समितिले नियमविपरीत काम गरेर सम्झौता गरेको बताउँदै कर्मचारीको लापरवाहीले यो गल्ती भएको र अब समुदाय बसेर वडामा छलफल गरी विवाद समाधान गरेर आउन पठाइएको र नमिले पहिलेकै समितिलाई नै काम गर्न दिन गाउँपालिका बाध्य हुने बताउनुभयो । उहाँले पछिल्लो समितिले खाली उपभोक्ता समिति मात्र नयाँ बनाएको र अरू वडा सिफारिस प्राविधिक इष्टिमेट सबै पहिलेकै समितिको राखेर नयाँ सम्झौता गरेको बताउनुभयो । यसमा जिम्मेवार कर्मचारीहरूको कमजोरी रहेको देखिएको छ ।