• १३ साउन २०८१, आइतबार

पर्यटकको आकर्षण जिप लाइन

blog

तानसेन समाचारदाता

पाल्पा, फागुन २८ गते । साहसिक खेलका रूपमा लिइने ‘जिप लाइन’ व्यवसायले पाल्पा आउने पर्यटकलाई आकर्षित गरेको छ। रिब्दीकोट–४ स्थित भैरवस्थान मन्दिर परिसरमा रहेको ‘जिप लाइन’मा रमाइलो गर्न आउने पर्यटक बढेका हुन्। 

दस महिनाअघिदेखि भैरवस्थान मन्दिर परिसरमा निर्माण भएपछि जिप लाइनमा चढ्न आउने पर्यटक बढेका हुन्। पाका पुस्ताको तुलनामा युवकयुवतीले जिप लाइन चढेर मनोरञ्जन लिने गरेका छन्। 

पछिल्लो सात महिनाको अवधिमा चार हजार बढी पर्यटकले जिप लाइन चढेको पाल्पा दर्शन प्रालिका कार्यकारी प्रमुख देवबहादुर पचभैयाले जानकारी दिनुभयो। 

जिप लाइन चढ्ने अधिकांश युवकयुवती तथा किशोर–किशोर रहेको उहाँले जानकारी दिनुभयो। तीन करोडभन्दा बढी लगानीमा जिप लाइन निर्माण भएको हो। यसले पाल्पाका पर्यटन क्षेत्रको विकासमा टेवा पुगेको छ।

जिप लाइनमा लुम्बिनी, भैरवस्थान, रानीमहल, पाल्पा दरबार घुम्न आउने पर्यटक सहभागी हुने गरेको पचभैयाले बताउनुभयो। उहाँका अनुसार भैरवस्थान मन्दिरमा दर्शन गर्न आउने पर्यटक मन्दिरको दर्शनसँगै जिप लाइन पनि खेल्ने गरेका छन्।

यो जिप लाइन नौ सय मिटर दूरीको रहेको छ। उक्त दूरी पार गर्न दुई मिनेट लाग्ने गरेको छ। पर्यटकका लागि सेल्फी फोटोसँगै जिप लाइनमा यात्रा गर्ने भिडियो र तस्बिरसमेत खिच्ने व्यवस्था रहेको प्रालिले जनाएको छ। 

सोही स्थानमा ३८० डिग्रीको साइक्लिङ गर्ने व्यवस्था गरिएको छ। साइक्लिङसमेत एक प्रकारको साहसिक खेल नै हो। जिप लाइन भनेर सुने पनि भैरवस्थानमा आएर पहिलो पटक यसको आनन्द लिएको बगनासकाली–७ की देवकी थापाले बताउनुभयो। जिप लाइनको स्थापनाले पाल्पाको पर्यटक क्षेत्रलाई थप व्यावसायिक बनाउन सहयोग पुगेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो।