• १२ असार २०८१, बुधबार

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी दर्ता

blog

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुहुँदै जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहाय प्रसाद यादव । तस्बिर : रासस

काठमाडौं, फागुन २७ गते । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

शनिबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर नेता यादवले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको हो ।

यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी हुनुहुन्छ भने भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी हुनुहुन्छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

उम्मेदवारी दर्ताका क्रममा जसपा नेताहरूको साथै नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रमुख सचेतक प्रकाश ज्वाला पनि सहभागी हुनुहुन्थ्यो ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवर्द्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि, नेकपा (एमाले)बाट पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ हुनुहुन्छ भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहनुभएको छ ।

निर्वाचन आयोगले आज (शनिबार) उपराष्ट्रपतिका लागि मनोनयन दर्ताको समय दिएको छ । आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ ।

यो पनि पढ्नुहोस

उपराष्ट्रपतिमा एमालेबाट शाक्यको उम्मेदवारी दर्ता