• १३ असोज २०८१, आइतबार

इलामको माङसेबुङ गाउँपालिकामा तालाबन्दी

blog

प्रेम अधिकारी

इलाम, फागुन २७ गते । कोशी प्रदेश खारेजीको माग गर्दै इलामको माङसेबुङ गाउँपालिकामा आन्दोलनरत पक्षले तालाबन्दी गरेको छ । प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा उत्रिएको समूहले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । 

कोशी प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त सङ्घर्ष समितिले गाउँपालिकासहित वडा कार्यालयमा तालाबन्दी गरेपछि पालिकाबाट प्रवाह हुँदै आएको सेवा प्रभावित भएको छ । ‘लिम्बुवान किरात’ संयुक्त सङ्घर्ष समितिले शुक्रबार साझा पालिकासहित  वडा कार्यालयमा तालाबन्दी गर्दै कोशी प्रदेश नाम खारेज गर्न र पहिचानको आधारमा पुनःनामाकरण गर्न माग गरेको हो । 

आन्दोलनकारीले माङसेबुङ गाउँपालिका कार्यालयसँगै वडा नम्बर २, ३, ४ र ६ को कार्यालयमा तालाबन्दी गरेका हुन् । यसअघि आन्दोलनकारीहरूले माङसेबुङ गाउँपालिकाको वडा नम्बर ३ को शाखा कार्यालय भञ्ज्याङ र ५ को वडा कार्यालय, इलाम नगरपालिका ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी भएपछि गाउँपालिका र वडाको कामसमेत ठप्प भएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिनुभयो । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले तालाबन्दी गरिएका केही वडामा यसअघि नै समन्वय गरेर ताला खोलिएको जानकारी दिनुभयो । उहाँले स्थानीय जनप्रतिनिधिले तालाबन्दीका कारण पालिका र वडाको काममा असहज भएको जानकारी गराए प्रशासनले तत्काल समन्वय गरेर ताला खोल्ने जानकारी दिनुभयो । 

आन्दोलनकारीहरूले प्रदेशभर प्रदर्शन र कोणसभा गर्दै जनदबाब दिँदै आएका छन् । आन्दोलनकारीहरूले कोशी नामका बोर्डहरू हटाउने, कोशी नामका लेटरप्याड जलाउने, कोशी प्रदेश नाममा मत हाल्ने सांसदलाई प्रतिकार गर्ने, वडा तहसम्म सङ्घर्ष समिति विस्तार जारी राख्ने, पर्चा निर्माण र वितरण गर्ने, भित्ते लेखन गर्ने, राँके जुलुस गर्ने, आम हडताल र प्रदेश राजधानीमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

आन्दोलनकारीहरूले आइतबार प्रदेशव्यापी आम हडताल आह्वान गरेका छन् भने ५ चैतमा प्रदेश राजधानी विराटनगरमा जनप्रदर्शन गर्ने प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको  छ । 

लिम्बुवान आन्दोलनका अगुवा कुमार लिङदेनले कोशी प्रदेश खारेज गरी सबैको पहिचानको आधारमा नाम नराखे सम्म आन्दोलन गरिरहने जानकारी दिनुभयो ।