माघ महिना थियो, दिनहरू धुम्मिएका थिए । पानी परेपछि जाडो बढ्दै थियो । त्यही बखत शरद्को छोरीको जन्म भयो । जन्मिएको केही समयपछि नर्सले छोरीलाई आमासँग ल्याएर सुताइदिइन् । आफूसँगै सुतिरहेकी छोरीको हातका औँलाहरू छोरीकी आमाले छाम्न थालिन् । औँला छामिरहँदा उनी झसङ्ग भइन् । उनले छोरीको औँला त चारवटा मात्र भएको पाइन् । छोरीको अर्को हातको आँैला पनि छामिन्, त्यसमा पनि चारवटा मात्र भएको उनले फेला पारिन् ।
उनी दिक्क भएर बसिरहेकी थिइन्, त्यहीबेला उनको श्रीमान् आए । श्रीमान्लाई यो कुरा भनेपछि श्रीमान् पनि झसङ्ग भए । दुवै बाबुआमा दिक्क भएर बसिरहे । शरद् विचार गर्दै थियो– अब त यसको बिहे गर्न पनि गाह्रो हुने भयो । यस्तै कुरामा ऊ पिल्सिरहेको थियो । यो कुरा उनीहरूले कसैलाई पनि बताउन चाहेनन् । केवल पिर गरिरहे । केहीबेरपछि शरद्ले खै त हात हेरुँ भनेँ । अनि हात हेर्दा त, छोरीले मुठी बनाउँदा बूढी औँला त मुठीभित्र लुकेको थियो । छाम्दा मात्र चारवटा भएको थियो । छोरीका आँैलाहरू त पाँचैवटा थिए । यो थाहा पाएर उनीहरूले सन्तोषको सास फेरे । उनीहरूको खुसीको सीमा रहेन ।
शरद् सधैँ बेलेुकी दैनिकी लेख्ने गथ्र्याे । सधैँ कालो मसीले लेख्ने दैनिकी आज भने उसले छोरी जन्मिएको शुभ अवसरमा रातो मसीले लेख्यो । दैनिकी यस्तो थियो– “आज छोरी जन्मिई । छोरी लक्षिनकी छे । बिग्रिएको काम बन्दैछ । मेरो जागिरमा पनि प्रमोसन भयो । चारैतिर सुख, शान्ति छाएको छ । मित्रहरूले बधाई दिएका छन् । छोरी चिरञ्जीवी होओस् । चन्द्रमा उसको सधैँ दाहिना होऊन् । भाग्यमानी होओस् । विद्वान् होओस् । सबै आफन्त लक्ष्मीको आगमन भयो भन्छन् । मलाई कताकता लाज पनि लागेको छ । भोलि गएर एउटा कालो गग किन्नु परेको छ । आफन्तसँग छोरी जन्मिएको आँखामा आँखा जुधाएर कुरा गर्दा लाज लाग्ने भएको छ ।” यस्तै कुरा लेखेर उसले एक पाना भरेको थियो ।
छोरीको जन्म भएपछि, धुम्मिएका दिनहरू खुल्न थाले । घाम लाग्न थाल्यो । दिन उज्यालो भयो । बिस्तारै आरुको बोटमा फूल खेल्न थाल्यो । खङ्ग्रङ्ग भएर पात झरेका जाईको बोटमा पनि हाँगा हाँगामा हार मिलेर कोपिला लाग्दै फूल फुल्न थाल्यो । छाँटकाँट गरेको गुलाफको बोटमा पनि पालुवा लाग्न थाल्यो । चारैतिर आभा फैलिन थाल्यो । शरद्ले श्रीमतीसँग सल्लाह गरेर छोरीको नाम पनि ‘आभा’ राख्यो ।
चिसोयाम बिहान बेलुका त जाडो थियो । दिउँसो आभाकी आमाले छोरीलाई घाममा ल्याएर तेल लगाउँथिन् । नवजात शिशु पनि घामको न्यानोमा आफ्ना कलिला गोडाहरू बिस्तारै तन्काउँथी । बाबु शरद् छोरीको नजिक बस्थ्यो र छोरीको कोमल गुलाबी सफा सुकुमार पैतालालाई आफ्ना गालामा राख्थ्यो । सुतिरहेकी छोरी निद्रामै हाँस्थी । कहिले झसङ्ग हुन्थी । यो सबै हेरेर ऊ आफैँ दङ्ग हुन्थ्यो ।
छोरी शुक्ल पक्षको चन्द्रमा जस्तै बढ्दै गई । बिस्तारै मीठो बोल्न थाली । धङ्धगाउँदै हिँड्न थाली । तर जे भए पनि शरद्को मनमा भने एउटा चिन्ताले भने डेरा जमाएको थियो । त्यो चिन्ता भने थियो, छोरीको विवाहको । छोरी सानै थिई तर किन विवाहको चिन्ता उसको मनमा आएको होला ? भन्ने प्रश्नको जवाफ भने सजिलै पाउन सकिन्थ्यो । उसको वरिपरि छरछिमेकमा छोरीको विवाह गर्न निकै कठिन उसले देखेको थियो । विवाह नै हुन कठिन । बिहे नै भए पनि प्रायः केटा राम्रा भने उसले कसैको पनि देखेको थिएन । उसलाई छोरी जन्मेदेखि नै यही चिन्ताले बारम्बार सताइरहन्थ्यो । छोरीले दुःख पाउली भन्ने साह्रै ठूलो चिन्ता ।
छोरी पनि दिन प्रतिदिन बढ्दै गई । लेखपढ गर्न थाली । साथीहरूसँग रमाउन थाली । पढाइमा पनि अब्बल हुँदै जान थाली । विभिन्न सङ्घ संस्थाबाट भएको प्रतियोगितामा पुरस्कार प्राप्त गर्न थाली । छोरीका क्रियाकलापले नातागोता छरछिमेकबाट उसले स्याबासी पाउन थाली । आमाबाबु पनि दङ्ग पर्न थाले । आफन्तहरूले पनि उनको मिलनसारिता गुणबाट प्रभावित भई सराहना गर्न थाले ।
समय बित्दै गयो । आभाको शैक्षिक योग्यता पनि बढ्दै गयो । उच्च शिक्षाका लागि उनले विदेशको विश्वविद्यालयबाट छात्रवृत्ति पाइन् । आमाबाबु खुसी भए तर छोरीलाई एक्लै विदेश पठाउन उनीहरूलाई गाह्रो भयो । मनमा शङ्का उपशङ्का उब्जन थाल्यो । तर उनीहरूले आफ्नो मनलाई बाँधे । छोरीको भविष्यका लागि विदेश पठाउन तयार भए । आभाको विदेश जाने दिन पनि आयो । आफन्तसहित बाबुआमा आभालाई पु-याउन एयरपोर्ट पुगे । उनी बिदाइ गर्न आएकालाई हात हल्लाउँदै प्लेनतिर गइन् । आभाको आँखामा आँसु टल्पलाएको देखियो । पु-याउन आएका सबैको आँखाका परेली भिजे । एकैछिनपछि ठूलो आवाजका साथ जेट विमान आकाशमा देखियो । आमाबाबु घर फर्के । बाबुआमालाई भने छोरीले हात हल्लाइरहेको भान धेरैबेर भयो । उनीहरू बारम्बार प्लेनको आवाज सुन्न थाले । छोरीको नियास्रो उनीहरूमा दिनप्रति दिन बढ्दै गयो ।
समय बित्न समय लाग्दै लागेन । समय यसरी बित्यो कि कसैलाई पत्तै भएन । छोरी आफ्नो उच्च शिक्षा हासिल गरेर आफ्नो मातृभूमि फर्कने भइन् । आज मात्रै छोरी घर फर्किइन् । घरमा रमाइलो भयो । आभाले जागिर खाइन् । तलब राम्रो थियो । उनलाई पैसाको दुःख थिएन । समय यसरी नै बितिरहेको थियो । उनलाई विभिन्न ठाउँबाट विवाहका लागि केटाका कुरा आउन थाले । मनले खाएको चित्त बुझ्दो कुरा भने त्यति आएको थिएन । यसरी नै उनको बिहेका कुरा आउँथे र टर्थे पनि ।
वर्षा ऋतुको अन्त्य र शरद् ऋतुको आगमन हुँदै थियो । शरद् बिहान उठेर पत्रिका पढ्दै थियो, त्यही बखत उनको मोबाइलको घण्टी बज्न थाल्यो । फोन परिचितको थिएन । तर नम्रभावमा आभाको विवाहको कुरा आएको थियो । कुरा बुझ्दै जाँदा सम्बन्ध गाँस्न हुने देखियो । केटा सुसंस्कृत, पढेको, ज्ञानी र चित्तबुज्दो थियो । घर सल्लाह भयो । अनि छोरीको विवाह मङ्सिर महिनामा हुने तय पनि गरियो । विवाहका लागि बिस्तारै तयारी सुरु भयो ।
मङ्सिर महिना पनि आइहाल्यो । जन्ती लिएर दुलाहा आए । राति धूमधामका साथ विवाह सम्पन्न भयो । विवाह मण्डपमा बारम्बार ‘बुबा’ भनेर शरद्लाई दुलाहाले सम्बोधन गर्दा खुसीले उसको छाती ढक्क फुल्यो । ऊ यसै गद्गद् भयो । भर्खरै ज्वाइँ बनेका केटाप्रति उसको प्रेम झाङ्गियो । छोरीलाई झैँ उसले ज्वाइँलाई पनि माया गर्न थाल्यो । धेरै पहिले नै परिचित मान्छेझैँ उसलाई ज्वाइँ लाग्न थाल्यो ।
छोरीको जात नदिई नहुने । बिहान पनि हुन थाल्यो । बिस्तारै पूर्वमा लाली छाउन थाल्यो । छोरी अन्माउने बेला भयो । छोरी अन्माउने चटारो थियो । उसले ठिक यही बखत पुरानो कुरा झलझल सम्झियो । त्यो कुरा भने यस्तो थियो, “आज म मेरो मुटुको टुक्रा हजुरलाई दिँदैछु ।” उसको साथीले आफ्नो ज्वाइँलाई बिहेमा भनेको थियो । उसलाई पनि आज त्यस्तै भइरहेको थियो ।
बिस्तारै रातो बाल सूर्यनारायण पूर्वमा देखियो । शरद्ले छोरीको निधारमा लगाएको रातो गोलो टीका देख्यो । त्यो टीका उनलाई त्यही बाल रातो सूर्य आएर छोरीको निधारमा टाँसिएझैँ लाग्यो । उनले मनमनै सम्झियो, “अहो । छोरीको निधारमा त सूर्यनारायण आएछन्, छोरीको जीवन पनि त्यस्तै उज्ज्वल होस् ।” उनको मनमा छोरी अन्माउँदाको पीडा थियो तर पनि त्यो पीडालाई उसले छोरीज्वाइँको उज्ज्वल भविष्यमा लगेर जोड्यो ।
छोरी अन्माएपछि ऊ सरासर आफ्नो घरभित्र पस्यो र सिधै छोरीको कोठामा छि-यो । कोठा एकदम शून्य थियो । उसलाई नरमाइलो लाग्यो । कोठाको वरिपरि छोरीले प्रयोग गर्ने सामान हेरेर ऊ रुन थाल्यो । उसलाई मुटुमा गाँठो परेर आयो । गला अवरुद्ध भएर आयो । कतैबाट छोरीले ‘बुबा’ भनेको आवाज आएझैँ उसलाई भान भयो । छोरीको यादमा ऊ गरुङ्गो मन लिएर टोलाइ रह्यो । उसको मनमा भने छोरी ! छोरी !!
छोरी !!! गुन्जिइरह्यो ।