• १३ साउन २०८१, आइतबार

पाँचपोखरीमा बाह्रैमास पर्यटक

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, फागुन २७ गते । भूकम्प, बाढीपहिरो, कोरोना महामारीपछि पनि आन्तरिक पर्यटकका लागि प्रसिद्ध पाँचपोखरी धार्मिक गन्तव्य बन्दै आएको छ। 

समुद्री सतहबाट चार हजार १५१ मिटर उचाइमा अवस्थित पाँचपोखरीमा पाँचवटा पोखरी छन्। ती पोखरी प्राकृतिक रूपमा सुन्दर र मनमोहक छन्। प्राकृतिक रूपमै रहेका पाँचवटा पोखरीका कारण यसको नाम पाँचपोखरी तीर्थस्थल राखिएको हो।

उक्त पाँचपोखरीमा जनैपूर्णिमाका दिन मेलासमेत लाग्ने गरेको छ। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ मा अवस्थित पाँचपोखरी विश्वकै अग्लो स्थानमा पर्ने पोखरीहरूमध्येको भएकाले पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा समेत विकसित हुँदै गएको छ। पाँचपोखरी क्षेत्रमा बाह्रै महिना आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्। नेपाल भ्रमण वर्ष २०२० मा घुम्नै पर्ने पर्यटकीय गन्तव्यको १६औँ स्थानमा सिन्धुपाल्चोकको पाँचपोखरीलाई राखिएको थियो। 

पाँचपोखरीमा आन्तरिक तथा बाह्य पर्यटक बाह्रै महिना आउने गरेको स्थानीय मङ्गल तामाङले जानकारी दिनुभयो। भोताङ छिम्तीदेखि पाँचपोखरीसम्मको गोरेटो बाटो व्यवस्थित र स्तरोन्नति गरिएपछि आमायाङ्ग्री, लाङटाङ घुम्न आउने पर्यटक हेलम्बु हुँदै पाँचपोखरी पुग्ने गर्छन्। 

बाहै्र महिना आन्तरिक र बाह्य पर्यटक घुम्न आउन थालेपछि होटल चलाएर धेरैजसो स्थानीयको गुजारा चलेको छ। सामान्य होटल चलाएर बालबच्चालाई पढाउन, लुगाफाटो र खुवाउन पुगेको स्थानीय होटल व्यवसायी छिङ्गे्रल तामाङले बताउनुभयो। 

उहाँका अनुसार गाउँमा पर्यटकको चाप बढदै गएपछि स्थानीय विदेशिनबाट रोकिएका छन्। 

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले उक्त पाँचपोखरीलाई थप व्यवस्थित र आकर्षक बनाउने काम गरिरहेको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो। प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीलाई पर्यटकको गन्तव्य स्थल बनाउन विभिन्न निकायसँग सहकार्यमा जुटेको उहाँले जानकारी दिनुभयो। पाँचपोखरी क्षेत्र पर्यटन प्रवद्र्धन गर्न सके उक्त क्षेत्रका स्थानीयको आम्दानीमा वृद्धि हुने उहाँले बताउनुभयो।