• १२ असार २०८१, बुधबार

जलवायुको असर कम गर्न नयाँ योजना

blog

सोलुखुम्बु (खुम्जुङ), फागुन २७ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा जलवायु असर कम गर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले नयाँ योजना अघि बढाएको छ। 

आगामी पाँच वर्षभित्र जलवायु परिवर्तनका मुद्दामा ठोस काम गर्ने गरी गाउँपालिका र यस क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैबीच रणनीतिक साझेदारीसमेत भएको छ।

सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुमा पदयात्रा गर्दै पुगेको प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरसहितको उपस्थितिमा गाउँपालिकाले नयाँ योजना अघि बढाएको हो। सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट उपाध्यक्ष टासील्हामु शेर्पा र साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गर्नुभएको छ। 

उपसभामुख रानामगरले आफूले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाहरूले धेरै समस्या देखे भोगेको भन्दै राज्यले नीतिगत रूपमै हिमाली भेगमा जलवायु अनुकूलनका कार्यक्रमको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। 

सोलुखुम्बुका सांसद मानवीर राईले जलवायु परिवर्तनले यस क्षेत्रमा विविध समस्या देखिएको र त्यसले स्थानीयवासीलाई प्रत्यक्ष प्रभाव पारेको भन्दै जलवायुको असर कम गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। 

गाउँपालिका अध्यक्ष मिङमारछिरि शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पत्ति रहेकाले यस क्षेत्रको संरक्षणमा सबैको ध्यान जानुपर्ने बताउनुभयो।

समझदारीपत्रमा खुम्बु क्षेत्रमा जलवायु परिवर्तनले पारेका असर विषयमा अध्ययन, अनुसन्धान र विकासका काम साथै जलवायु परिवर्तनले पु¥याएको हानिनोक्सानी, जलवायु न्याय, शिक्षा, स्वास्थ्य, स्थानीय पर्यटन, महिला, बालबालिकासहित जनजीवनमा पारेको असरबारे सहकार्य हुने उल्लेख छ।