• १२ असार २०८१, बुधबार

समाजले हेर्ने दृष्टिकोणबाट मानसिक समस्या : महिला श्रमिक

blog

अन्तरक्रिया कार्यक्रममा सहभागी महिला मजदुर । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक
बागलुङ, फागुन २६ गते ।
बागलुङ जैमिनीका २३ वर्षीया कविता शर्माले बागलुङ बजारको एक होटलमा काम गर्न थालेको चार वर्ष भयो । उच्च शिक्षासँगै होटलमा काम गरेर जीवन निर्वाह गर्दै आउनुभएको शर्मालाई होटलबाट आजको दिनसम्म कुनै दबाब र समस्या छैन । आफ्नो समयमा काममा आउने, तोकेको जिम्मेवारी पूरा गर्ने उहाँको नियमित काम हो ।

होटलमा क्यासियर वा वेयटरको काम गर्दा आफूलाई कुनै समस्या नभए पनि समाजले हेर्ने दृष्टिकोणबाट बेला बेलामा मानसिक समस्या हुने दुःख व्यक्त गर्नुभयो । बागलुङ नगरपालिका सामाजिक विकास शाखाले आयोजना गरेको होटलका श्रमिक महिलासँगको छलफल कार्यक्रममा बोल्नुहुँदै शर्माले भन्नुभयो, ‘‘होटलमा काम गर्ने महिलाहरु गलत कामका लागि मात्र प्रयोग हुन्छन् भन्ने मानसिक बदलिएन । काम गरेर खाँदा पनि समाजमा सम्मान पाउन मुस्किल भएको छ ।’’

विशेष गरी अविवाहित र विवाह गर्ने उमेर पुगेका किशोरीहरुलाई धेरै समस्या हुने गरेको उहाँको भनाइ थियो । ‘‘होटलमा काम गर्दै पढ्दै गछौँ भन्दा धेरैले नाक खुम्च्याउनु हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘हामीले श्रम बेचेको हो, शरीर बेचेको होइन  ।’’ समाजले हेर्ने नकरात्मक दृष्टिकोणको कारण होटल क्षेत्रमा कार्यरत महिला मजदुर समस्यामा परेको उहाँको भनाइ छ ।

‘‘बजारमा बेरोजगारको समस्या छ, जीविकोपार्जन गर्न काम गछौँ,’’ अर्काे होटल श्रमिक अन्जु थापा मगरले भन्नुभयो, ‘‘किशोरी भएकै कारण काम गर्दा पनि अपमान खेप्नुपरेको छ ।’’ कार्यक्षेत्रमा होटल व्यवसायीहरुले विभेद नगरे पनि ग्राहक र समुदायले गलत आशय प्रकट गर्ने गरेको उहाँको गुनासो थियो ।

श्रमिकहरुले होटलमा कामको समय तालिका र बिदाको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । हप्तामा एक दिन बिदा नहुँदा कामको बोझ बढी हुने उनीहरुको गुनासो थियो । एक महिना काम गर्दा कम्तीमा दुई दिन बिदा, दिनमा आठ घण्टा काम र थप समय काम गर्दाको पारिश्रमिक थप हुनुपर्ने, होटल तथा रेष्टुँराहरुले प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । महिला कामदारका लागि कार्य क्षेत्रमा स्यानिटरी प्याड उपलब्ध हुने गरी व्यवस्थापन गर्न श्रमिक गीता थापाले आग्रह गर्नुभयो । 

होटलको वर्गीकरणको समयमा त्यहाँ महिला श्रमिक मैत्री कार्यक्षेत्र नभए/नभएको, मजदुरहरुको नियुक्ति, प्राथमिक उपचार व्यवस्थालाई पनि मापदण्ड बनाउन सुझाव दिए ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले व्यवसायी र श्रमिकबीच छलफल सुरुवात गरेको भन्दै सबै पक्षलाई लाभ हुने गरी कार्यक्रम ल्याउने बताउनुभयो । ‘‘हामी नगर क्षेत्रको व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने अभियानमा छौँ,’’ उहाँले भन्नुभयो, ‘‘सबै क्षेत्रका मजदुरको सम्मान हुने गरी अभियान चाल्छौँ । होटल मजदुरका लागि एउटै पोसाक बनाउन नगरपालिकाले योगदान गर्नेछ ।’’

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले श्रमिक महिलाहरुको समस्या समाधानका विषयमा सुक्ष्म ढङ्गल नगरपालिकाले काम गर्ने बताउनुभयो । होटल व्यवसायी सङ्घ नेपाल बागलुङका अध्यक्ष सञ्जय श्रेष्ठले दक्ष जनशक्ति होटल तथा रेष्टुराँ व्यवसायको क्षेत्रमा पाउनै कठिन रहेको जानकारी दिनुभयो । श्रमिकहरुले लामो समय काम नगर्ने, अर्धदक्ष जनशक्ति दक्ष बनेपछि छोडेर हिँड्नेलगायतका समस्या रहेको उल्लेख गर्नुुभयो ।