• ३० असार २०८२, सोमबार

त्रिपालमुनि बिरामीको उपचार

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), असार ३० गते । म्याग्दीको मालिका गाउँपालिकामा रहेको निस्कोट स्वास्थ्य चौकीको पानी चुहिने एकतले जीर्ण भवनभित्र त्रिपालले छोपेर बिरामीको उपचार हुँदै आएको छ । करिब ३० वर्षअघि बनेको पुरानो र जीर्ण भवनबाट वडावासीलाई स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भएको छ । 

बर्सौंदेखि मर्मत नपाएको भवनको छानो चुहिन थालेपछि सेवा सञ्चालन गर्न त्रिपाल ओढाएर पानी छेकिएको छ । स्थानीयवासी र स्वास्थ्यकर्मीले पटक पटक मर्मतको माग गरे पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।  बिरामी जाँच, औषधी वितरणदेखि सामान्य उपचारसम्म जीर्ण भवनमै हुने गरेको छ । छानाबाट पानी चुहिने समस्या समाधान गर्न छानामा त्रिपाल ओढाएर अस्थायी व्यवस्था मिलाइएको छ । ३० वर्षअघि बनेको भवनको मर्मतसम्भार नहुँदा बर्खामा पानी चुहिएर समस्या भएपछि त्रिपालले छाना छोपेर बिरामीको उपचार गर्ने गरिएको स्वास्थ्य चौकीका प्रमुख अजित विकले बताउनुभयो । उहाँले भन्नुभयो, “जीर्ण भवन, त्यसमा पनि पानी चुहिएर समस्या हुने गरेको छ । विगत तीन वर्षदेखि त्रिपालमुनि बिरामी राखेर उपचार गर्दै आएका छौँ । सुविधासम्पन्न भवन नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका छैनौँ । त्रिपाल थोत्रो भएकाले यसपालि पनि वडा कार्यालयसँग त्रिपाल माग गरेका छौँ ।” 

साँघुरा कोठा भएकाले उपचारमा समेत समस्या भएको उहाँको भनाइ छ । उहाँका अनुसार भवनमा चार वटा मात्र कोठा छन् । त्रिपालमुनि भए पनि स्वास्थ्य चौकीले हालै मात्र बर्थिङ सेन्टरसमेत सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । स्वास्थ्य चौकीमा पाँच स्वास्थ्यकर्मी कार्यरत छन् । सानो र जीर्ण भवन भएकाले स्वास्थ्यकर्मी बसेर सेवा प्रवाह गर्नसमेत कठिन भएको स्वास्थ्य चौकीका प्रमुख विकले गुनासो गर्नुभयो ।  उहाँले भन्नुभयो, “बर्खा लाग्दा हामीलाई त्रिपालकै चिन्ता हुन्छ । पहिला हालेको त्रिपाल थोत्रो भएर पानी चुहिने भएको छ । सामान्य मर्मतसम्भार मात्र गरिदिए पनि स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने थियो ।”