म्याग्दी, असार ३० गते । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो ।
विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारीखेती गरिएको जानकारी दिनुभयो ।
“धवलागिरिको इच्छा, गरिखाने शिक्षा भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरुले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाडेर तरकारीखेती गरेका हुन,” उहाँले भन्नुभयो “विद्यार्थीले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्राबासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ ।”
बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् । करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक रु पाँच हजार तिर्नेगरी भाडामा लिएका छन् ।
विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनउपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन् । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमूना आवासीय माविका प्रअ शेरबहादुर केसीले बताउनुभयो ।
छात्राबासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार सहयोग गरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा “धवलागिरिको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उहाँले बताउनुभयो । रासस