अमरराज नहर्की
तनहुँ(चुँदीरम्घा), असार ३० गते । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै जीर्ण बनेको छ । भानु जन्मस्थललाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले निर्माण गरिएको भए पनि त्यसको सदुपयोगमा ध्यान नदिँदा जीर्ण बन्दै गएको हो ।
रामायण भवन प्रयोगमा नआउँदै भत्किन थालेको छ । रामायण भवन प्रयोग विहीन बनेकाले महँगो मूल्य खर्च गरेर बुट्टा कुँदेर बनाइएका काठका आकृतिलाई धुलिया लागेर र धमिराले खाएर नष्ट हुँदै गइरहेको छ । चार वर्ष अघि निर्माण पूरा भएको उक्त भवन उपयोगविहीन हुँदा अलपत्र अवस्थामा छ । पौने तीन करोड लागतमा निर्माण गरिएको भवन प्रयोगमा नआउँदा ताला लगाएर राख्नुपर्दा संरचना कमजोर बन्दै गएको हो ।
भानुभक्त सम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवर्धन र प्रचारका उद्देश्यका साथ स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समिति, भानु नगरपालिका र राज्यले भाषिक एकताका प्रणेता भानुभक्त जन्मस्थानप्रति गरेको बेवास्ताले गर्दा रामायण भवन अलपत्र परेको स्थानीय बासिन्दाको भनाइ छ । आफ्नो पालिकाभित्रको साहित्यिक स्थल भएकाले चासो देखाए जस्तो गरे पनि बेवास्ता हुँदा रामायण भवन भत्किन थालेको स्थानीय पम्फा परियारले बताउनुभयो ।
सडक खराब भएकाले घुम्न आउने पर्यटक र स्थानीय बासिन्दालाई पैदल हिँड्नुपर्ने भएकाले असुविधा भएकोले यो क्षेत्र पछाडी परेको परियार बताउनुहुन्छ । परियारले भन्नुभयो, ‘‘नाला नहुँदा भलपानीले बिग्रिएर सडक सवारी चल्न सक्ने अवस्थाको छैन, यस्तो अवस्थामा पर्यटकलाई आकर्षण गर्न सकिदैन ।’’ रामायण भवन प्रयोगमा नआउँदै भत्किएको देख्दा मन रोएको सोही ठाउँ नजिकै घर हुनु भएको भानु नगरपालिका–५ पुरनडिही निवासी भरत पोख्रेलले बताउनुभयो । कलात्मक बुँदा कुँदेर बनाइएको काठलाई धमिराले खान थालेको देखेर दुःख लागेको पोख्रेल बताउनुहुन्छ ।
पोख्रेलले भन्नुभयो, ‘‘रामायण भवनलाई अलपत्र पार्नु भनेको राष्ट्रिय विभूति भानुप्रतिको अपमान हो ।’’ सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रामायण भवन निर्माण गरेको हो । करिब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्तकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भए पनि हाल अलपत्र अवस्थामा छ ।
उक्त गुरुयोजनाका लागि अनुमानित लागत १६ करोड छ । पर्यटकलाई थप आकर्षित गर्न आदिकविको १०० फिट अग्लो सालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजना छ । चुँदीरम्घाबेंसीदेखि शिखरकटेरीसम्म पुग्ने धनञ्जय मोटर मार्ग स्तरोन्नति नहुँदा सवारी साधन सञ्चालन गर्न सकिएको छैन । साहित्यिक कार्यक्रम गर्ने सभा हल, भवनको भित्तामा रामायणमा भएका श्लोकहरू, रामायणसँग सम्बन्धित तस्बिरहरू कुँदिने योजना छ ।
राष्ट्रिय विभूतिको स्मृतिमा निर्मित रामायण भवन अलपत्र हुँदा साहित्यकारहरु दुःखित भएका छन् । भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्ने गोरखा निवासी साहित्यकार नारायणप्रसाद पोख्रेलले बताउनुभयो । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले त्यस क्षेत्र वरपर बस्ती नहुँदा संरक्षण गर्न कठिन भएको बताउनुभयो ।
संरक्षणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सैनिक टुकडी राख्न आग्रह गरिएको बताउनुभयो । सुरक्षाकर्मीको व्यवस्था गर्न सके रामायण भवनको संरक्षण गर्न सकिने र भग्नावशेष बनेको भानुको घर पुनर्निर्माण गर्न सहज हुने उहाँको भनाइ थियो ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट नेपालीलाई एकतामा बाँध्नुभएको थियो । वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रूपमा भानुभक्त जन्मिनुभएको थियो । आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो ।
नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । नेपाली साहित्य जगत्मा प्राथमिक कालका कवि मानिँदै आउनुभएका आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते चुँदीबेँसी रम्घा तनहुँमा भएको थियो । नेपाली भाषालाई मौलिकता प्रदान गर्नुभएका आदिकविका साहित्य नेपाली समाजमा आजपर्यन्त उत्तिकै लोकप्रिय छन् ।
विशेष गरी उहाँले नेपाली संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषा र लोकशैलीमा उल्था गरेर समाजका जनजिब्रोमा पुर्याउन सक्नुभएको छ । यसबाहेक उहाँद्वारा रचिएका भक्तमाला (१९१०), वधु शिक्षा (१९१९), प्रश्नोत्तरमाला (१९१०) र रामगीता (१९२५) को महत्व आज पनि उत्तिकै लोकप्रिय छ । आदिकवि आचार्यले पूर्वीय दर्शन, धर्म संस्कृतिमा आधारित कविताले समाजमा नैतिक सन्देश प्रवाह गर्न निकै ठुलो भूमिका निर्वाह गरेको छ । नेपाली साहित्य जगतका चम्किला तारा मानिनुहुने भानुभक्तको मृत्यु विसं १९२५ मा तनहुँको रम्घामै भएको थियो । भानुभक्तका कृतिका पाण्डुलिपि सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकका रूपमा प्रकाशन गरेपछि उहाँ नेपाली साहित्यमा स्थापित हुनुभएको थियो ।