नेपाली महिलाले समकालीन विश्वमा मनग्य विकासका अवसर प्राप्त गर्नुपर्छ भन्नेमा असहमत कोही छैन। अहिले उनीहरूलाई प्राप्त वातावरण पर्याप्त छैन भन्ने कुरा स्पष्ट नै छ। उनीहरूलाई द्रुत गतिमा सशक्तीकरण गरी विकासको मूलधारमा तान्नुपर्छ भन्ने सवालले महिला रणनीतिको आवश्यकतालाई इङ्गित गर्छ। व्यवस्थालाई सुदृढ पार्न त्यसकै वरिपरि अल्मलिने किसिमको तदर्थवादी नीति हिजो पनि थियो, आज पनि छ। भएको नीतिको कार्यान्वयन पक्ष पनि अशक्त हुन्छ भने त्यसबाट नेपाली महिलाको सशक्तीकरण नहुने कुरा पूर्व–स्पष्ट हुन्छ। तर पूर्वका कमीकमजोरीबाट पाठ सिकेर रणनीति निर्माण र कार्यान्वयनका दुवै पाटोलाई तात्त्विक रूपमा परिवर्तन गर्न सकिन्छ।
महिला सशक्तीकरणअन्तर्गत मूलतः महिलामा आलोचनात्मक तथा विश्लेषणात्मक क्षमताको वृद्धि गर्दै उनीहरूको निर्णय क्षमतामा तात्त्विक परिवर्तन ल्याउने मुद्दा मुख्य हुन्छ। सरकारैपिच्छे गुन्जने नानाभाँतीका लोलीबोलीले अस्पष्टता र सतहीपनको आभास हुनु स्वाभाविक छ। सूचना तथा सञ्चार प्रविधि–जडित वर्तमान विश्वमा नेपाली महिला सशक्तीकरणको मुद्दालाई पनि डिजिटल पहुँचको मुद्दासँग जोड्नु अत्यावश्यक ठहर्छ। किनभने जतिजति नेपाली महिलाको डिजिटल पहुँच बढ्छ, उतिउति उनीहरूको सार्वजनिक मञ्चमा सहभागिता र सामाजिकीकरण पनि बढेर जान्छ। डिजिटल पहुँचका कारण जति मात्रामा नेपाली महिलाको सार्वजनिक मञ्चमा सहभागिता एवं सामाजिकीकरण बढेर जान्छ त्यही अनुपातमा उनीहरूको सूचनामा पहुँच बढ्छ।
डिजिटल पहुँचले महिलालाई मानसिक तथा नैतिक तवरले सशक्त कसरत गर्ने अवसरसमेत सँगै लिएर आउँछ। त्यसबाट महिलालाई प्रशस्त लाभ दिलाउन सरोकारवाला भूमिका प्रदायकले कटिबद्धतापूर्वक अध्ययन–अनुसन्धानको आधारमा उपयुक्त नीति, ऐन र रणनीति प्रस्तुत गर्नुपर्छ, ता कि नेपाली महिलाले डिजिटल पहुँच मात्र हासिल गर्ने नभई आफ्नो सशक्तीकरणका लागि सहभागितामूलक कसरतसमेत गर्न सकून्। यसबाट नेपाली महिलामा बढ्दै जाने सूचना प्रशोधनको क्षमताले उनीहरूलाई मानसिक दासत्वको साङ्लोबाट मुक्त हुनसमेत सहयोग मिल्नेछ।
बुद्धले आजभन्दा २५०० वर्षअघि नै मानवजातिको मानसिक उन्मुक्तिका निम्ति वर्तमान विश्वका भौतिकशास्त्री, रसायनशास्त्री, र जीववैज्ञानिकलाई अचम्मित पार्ने ब्रह्माण्डीय प्रकृतिको विपास्सना ध्यान सिकाएका थिए। कुनै जाति वा साम्प्रदायिक कर्मकाण्ड वा राजनीतिसँग साइनो नराख्ने तर प्राकृतिक विज्ञानको आँखाबाट बहुउपयोगी ठहर्ने विपास्सनाको वैज्ञानिक पक्ष भने मूलतः मनोवैज्ञानिक शल्यक्रिया तथा मानसिक उन्मुक्तिसँग सम्बन्धित छ। यसले अनेक मानसिक विकृति र भ्रमबाट मुक्त भई व्यावहारिक अर्थमा मानसिक उन्मुक्ति प्राप्त गर्न टेवा पु-याउँछ। नेपाली महिलाको सशक्तीकरणको सन्दर्भमा पनि मानसिक उन्मुक्ति उनीहरूको जीवनको स्वतन्त्र व्यवस्थापन तथा निर्णय क्षमता र राष्ट्रकै प्रगतिका लागि पनि औचित्यपूर्ण मुद्दा हो।
मानसिक उन्मुक्तिकै सन्दर्भमा, जमैकाका अश्वेत मुक्ति आन्दोलनका एक प्रखर अभियन्ता मार्कस गार्वेले आफ्नो एक भाषणको क्रममा सन् १९३७ मा भनेका थिए, ‘हामी मानसिक दासत्वबाट आफूले आफैँलाई मुक्त गर्दैछौँ। अरूले हाम्रो शरीरलाई मुक्त गर्न सके पनि, मनलाई हामी आफैँले बाहेक अरू कसैले मुक्त गर्न सक्तैन। मन हाम्रो एक मात्र शासक हो; सार्वभौम।’ गार्वेको यो उद्गारबाट प्रेरित भएर जमैकाकै विश्वप्रसिद्ध रेग्गे गायक बब मार्लीले ‘मानसिक दासत्वबाट आफैँलाई मुक्त गर, आफूबाहेक अरू कसैले हाम्रो मन मुक्त पार्न सक्तैन’ भन्ने हरफ राखेका हुन्। मानिसले आफ्नो मनलाई स्वतन्त्रतापूर्वक परिचालन गर्नुपर्छ। आफ्नो मनको मालिक आफैँ बन्नुपर्छ वा मनलाई कुनै किसिमको पनि दासत्वमा राख्नुहुन्न भन्ने बुद्धले उहिल्यै दिएको शिक्षा यस सन्दर्भमा पुनः स्मरणीय छ।
प्रविधि र माध्यमको उपलब्धताले मात्रै महिला सशक्तीकरण भएहाल्ने होइन। नागरिक सशक्तीकरणकै एक भाग महिला सशक्तीकरण हो। आमनागरिकको मस्तिष्कमा हामीले कस्तो गुदी भरिरहेका छौँ ? यो प्रश्न सम्पूर्ण सरोकारवाला पक्षको दायराभित्रै पर्छ। उदाहरणतः ज्ञान, गुण र विज्ञानका स्रोत इन्टरनेटमा उपलब्ध भए पनि थोरै नेपालीले तिनको खोजी गरी उपयोग गर्छन् तर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती तैरिरहेका अश्लील भिडियोले समाजको नैतिक एवं बौद्धिक विचलन र विखण्डनलाई द्रुत बनाइरहेका छन्। अत्याधुनिक प्रविधि केका लागि कसरी प्रयोग गर्ने र त्यसको दुरुपयोगले के कस्ता दुष्परिणाम आउँछ भन्नेबारे महिलालाई मात्र होइन सम्पूर्ण नागरिकलाई प्रशिक्षित गर्ने नीति चाहिन्छ।
विश्वमा हाल उपलब्ध सूचना तथा सञ्चार प्रविधि नेपाली महिलाका लागि सहज प्रयोगको आम वातावरण बन्नु नै उनीहरूको डिजिटल पहुँच बढ्नु हो भन्ने सोझो अर्थ लाग्छ तर डिजिटल पहुँचले यतिलाई मात्र जनाउँदैन। उपलब्ध प्रविधिले दिएका सुविधा सुरक्षित तवरले प्रयोग गर्न सक्ने, आफ्नो सशक्तीकरणका लागि उचित विषयवस्तुको खोजी तथा चयन र डिजिटल मञ्चमा आफ्नो अन्तर्वस्तुसहित प्रभावकारी सहभागिता जनाउन सक्ने तौरतरिकासँग नेपाली महिलालाई परिचित गराउने नीति र कार्यक्रम यथाशीघ्र आउनु आवश्यक छ।
डिजिटल प्रविधि र यसमा महिलाको पहुँचलाई उनीहरूको सशक्तीकरणसँग जोड्ने सवाललाई विशेष जोड दिएर यो वर्ष यूएन विमेनले डिजिटल प्रविधि र यसको नवप्रवर्तन लैङ्गिक समानताका लागि हुनुपर्ने ठोस विषयवस्तु अघि सरेको छ। डिजिटल पहुँच र सीपमा विद्यमान सबै खाडल पुर्नुपर्ने, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र व्यवस्थापन शिक्षामा बढीभन्दा बढी महिलाको पहुँच बढाउनु पर्ने, महिलाको आवश्यकता सम्बोधन गर्ने प्रविधिको सिर्जना गर्नु पर्ने र प्रविधि–सहजीकृत लैङ्गिकतामा आधारित हिंसाको सम्बोधन गर्नुपर्ने विषयवस्तुसहित यो वर्षको अभियान चालू छ।
सूचना र ज्ञान शक्ति हुन् भन्ने सूत्र संसारभरि स्थापित भइसकेको छ। डिजिटल युगले नेपाली महिलाको सशक्तीकरणका लागि अभूतपूर्व अवसर सिर्जना गरेको वर्तमान सन्दर्भमा, डिजिटल पहुँच र डिजिटल प्रविधिसम्बन्धी सीपमा महिला–पुरुषबीच रहँदै आएको खाडल पुर्नुपर्ने मुद्दाले विशेष महत्व राख्छ। सरकारले नेपाली महिलालाई डिजिटल तवरले ससुरक्षा सशक्तीकरण गर्दै उत्पादनशील एवं नेतृत्वदायी भूमिकामा ल्याउने नीति ल्याउनुपर्छ।
–लेखक सञ्चार क्षेत्रको स्वतन्त्र अध्येता हुनुहुन्छ।