• १३ साउन २०८१, आइतबार

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा

blog

‘जिपलाइन’मा रमाउँदै पर्यटक । तस्विर : रेखीराम राना ।

रेखीराम राना

पाल्पा, फागुन २५ गते । साहसिक खेलका रूपमा लिइने 'जिपलाइन'ले पाल्पा आउने पर्यटकलाई आकर्षित गरेको छ । जिल्लाको रिव्दीकोट-४, स्थित भैरवस्थान मन्दिर परिसरमा रहेको 'जिपलाइन'मा खेल्न आउने पर्यटक बढेका छन् । 

दश महिनाअघिदेखि भैरवस्थान मन्दिर परिसरमा सञ्चालनमा आएको जिपलाइनमा पाका पुस्ताको तुलनामा युवायुवतीको भिड लाग्ने गरेको छ । पछिल्लो सात महिनाको अवधिमा चार हजार बढी पर्यटकले जिपलाइन चढेको पाल्पा दर्शन प्रालिका कार्यकारी प्रमुख देवबहादुर पचभैँयाले जानकारी दिनुभयो । जिपलाइन चढ्ने अधिकांश युवायुवती तथा किशोर-किशोर रहेको उहाँले जानकारी दिनुभयो । 

तीन करोडभन्दा बढी लगानीमा जिपलाइन निर्माण भएको हो । यसले पाल्पाका पर्यटन क्षेत्रको विकासमा टेवा पुगेको छ । जिपलाइनमा लुम्बिनी, भैरवस्थान, रानीमहल, पाल्पा दरबार घुम्न आउने पर्यटक सहभागी हुने गरेको पचभैँयाले बताउनुभयो । उहाँका अनुसार भैरवस्थान मन्दिरमा दर्शन गर्न आउने पर्यटक मन्दिरको दर्शनसँगै जिपलाइन पनि खेल्ने गरेका छन् ।

जिपलाइन ९०० मिटर दुरीमा रहेको र उक्त दुरी पार गर्न एक देखि दुई मिनेट लाग्छ । यसका साथै आफ्नो सेल्फी फोटोसँगै जिपलाइनमा यात्रा गर्ने भिडियो र तस्बिर समेत खिच्ने व्यवस्था रहेको प्रालिले जनाएको छ । यस्तै, सोही स्थानमा ३८० डिग्रीको साइक्लिङ् गर्ने व्यवस्था पनि गरिएको छ । 

जिपलाइन भनेर सुनेपनि भैरवस्थानमा आएर पहिलो पटक यसको आनन्द लिएको बगनासकाली–७ की देवकी थापाले बताउनुभयो । सुरुमा जिपलाइन खेल्न डर लागेजस्तो भएपनि खेलेपछि आफूलाई बेग्लै आनन्द महसुस भएको थापाले बताउनुभयो । 

जिपलाइन स्थापनाले पाल्पाको पर्यटक क्षेत्रलाई थप व्यावसायिक बनाउन सहयोग पुगेको रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । जिल्लामा पर्यटकीय क्षेत्रमा पूर्वाधार लगानी हुनु खुसीको कुरा भएको बताउँदै कार्कीले जिपलाइनमा आनन्द लिने मानिसको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।