• १३ असोज २०८१, आइतबार

ताप्लेजुङबाट एसइईमा दुई हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै

blog

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङ ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २५ गते । आगामी चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ताप्लेजुङमा दुई हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस वर्षको एसईईमा कुल दुई हजार एक सय २१ जना विद्यार्थी (परीक्षार्थी) ले सहभागिता जनाउने छन् । 

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार परीक्षामा सहभागी हुने कुल सङ्ख्यामध्ये नियमिततर्फ एक हजार ९५२ जना विद्यार्थी रहेका छन् । यस्तै ग्रेडवृद्धितर्फ ६६ र प्राविधिक धारतर्फका एक सय तीन जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउने इकाई प्रमुख भट्टराईले जानकारी दिनुभयो । 

एसइई सञ्चालनका लागि ताप्लेजुङमा १६ वटा केन्द्र निर्धारण गरिएको छ । उहाँका अनुसार यस वर्ष सबैभन्दा बढी परीक्षार्थी बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालय मेदिबुङमा २५३ र सबैभन्दा कम गणेश माध्यमिक खेबाङमा ६८ परीक्षार्थी सहभागी हुनेछन् । बाँकी भानुजन माध्यमिक विद्यालय मा २२९ जना, सिँवा माध्यमिक विद्यालयमा १३८, युवा वर्ष माध्यमिक विद्यालय २२२ जना, जनता माध्यमिक विद्यालयमा ९५ जना परीक्षार्थी सहभागी हुनेछन् । 

यस्तै, मोती माध्यमिक विद्यालयमा १३२ जना, त्रिभुवन माध्यमिक विद्यालयमा १०८, सिनाम माध्यमिक विद्यालयमा १५२, थेचम्बु माध्यमिक विद्यालयमा ११७ जना, तेल्लोक माध्यमिक विद्यालयमा १३४ जन विद्यार्थी सहभागी हुनेछन् । 

यसैगरी, भञ्ज्याङ माध्यमिक विद्यालयमा १०३ जना, मैवाखोला माध्यमिक विद्यालयमा १७५ जना, सरस्वती माध्यमिक विद्यालयमा १५६, सिद्धकाली माध्यमिक विद्यालयमा १०३ र दुर्गा माध्यमिक विद्यालयमा १०४ जना परीक्षार्थीले सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । सहभागी विद्यार्थी र परीक्षा केन्द्र निर्धारण भएसँगै सोहीअनुसार एसइईको तयारी सुरु भएको पनि इकाई ले जानकारी दिएको छ ।