• १३ साउन २०८१, आइतबार

आर्मी र जावलाखेल विजयी (फोटो फिचर)

blog

मच्छिन्द्रविरुद्ध गोल गरेपछि आर्मीका खेलाडी । तस्बिरहरु : केशब गुरुङ

काठमाडौं, फागुन २५ गते । विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र जावलाखेल यूथ क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् ।

च्यासल फुटबल मैदानमा बिहीबार भएको खेलमा आर्मीले मच्छिन्द्र फुटबल क्लबलाई २–० गोलले हरायो । साबिक विजेता मच्छिन्द्रको यो लगातार दोस्रो हार हो ।

एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको अर्को खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलले पराजित गरेको हो । जावलाखेलको यो लगातार दोस्रो जित हो । 

आर्मीको जितमा दीपक गुरुङ र कप्तान नवयुग श्रेष्ठले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा दीपकले ४८औँ र नवयुगले ५९औँ मिनेटमा गोल गर्नुभएको थियो ।


जितसँगै आर्मीले दुई खेलबाट चार अङ्क बनाएको छ । आर्मी पहिलो खेलमा सङ्कटा क्लबसँग बराबरीमा रोकिएको थियो । पहिलो खेलमा जावलाखेलसँग हारेको मछिन्द्रले अङ्कको खाता खोल्न सकेको छैन । 

यस्तै एन्फा मैदान सातदोबाटोमा जावलाखेललाई जिताउन सीमान्त थापा र फोडे फोफानाले गोल गर्नुभयो । एनआरटीका सञ्जीव विष्टले सान्त्वना गोल फर्काउनुभयो ।

सीमान्तले ६८औँ मिनेटमा गोल गर्दै जावलाखेलको उत्साह जगाउनुभयो । ७७औँ मिनेटमा फोफानाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि ८०औँ मिनेटमा सञ्जीवले गोल गर्दै एनआरटीलाई खेलमा फर्काउने प्रयास गरेपनि टोलीको हार टरेन । दोस्रो जितसँगै जावलाखेलले ६ अङ्क बनाएको छ । लगातार दोस्रो हार खेपेको एनआरटीले अङ्कको खाता खोल्न सकेको छैन ।