• १३ साउन २०८१, आइतबार

राष्ट्रपति निर्वाचन : रास्वपा दुवै उम्मेदवारको पक्षमा नखुल्ने

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक । फाइल तस्बिर

काठमाडौं, फागुन २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनमा संसदीय दलको बैठकमा भएको सहमति अनुसार मतदान गर्ने निर्णय गरेको छ ।

रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले आज बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सो निर्णय गरेको जानकारी दिनुभयो । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने व्यवस्था भएकाले यस्ता निर्णयहरू सार्वजनिक गर्नु ऐन र संविधानको मर्म विपरीत भएकाले मतदान गर्ने उम्मेदवारको नाम सार्वजनिक नगरिएको उहाँको भनाइ छ ।

यद्यपि, रास्ववपाको एक नेताका अनुसार रास्वपाले नौ दलीय गठबन्धनलाई सघाउने भएको छ । यस बीचको राजनीतिक घटनाक्रम र पार्टीको सङ्गठन विस्तारको व्यवस्थाका कारण पार्टीले यो निर्णय आज गरेको उहाँको भनाइ छ ।

“यसबीचमा जे जस्ता राजनीतिक घटनाक्रम भए । सङ्गठन विस्तरको क्रममा थियो, राजनीतिक पार्टीको हिसाबमा, राजनीतिक सङ्घर्षको रूपमा जुन व्यवस्था छ, हामी राष्ट्रपति निर्वाचनमा भाग लिनेछौँ ।,” बैठकपछि रास्वपाका ती नेताले भन्नुभयो, ‘‘निर्वाचन आयोगले आचारसंहिता लगाएको छ । हामीले यो गर्ने वा त्यो गर्ने भन्न पाउँदैनौँ । संविधानले परिकल्पना गरेको राष्ट्रपतिको भूमिका कस्तो रह्यो भनेर बैठकमा समीक्षा गर्‍यौँ ।”

दलीय गठबन्धनलाई सहयोग गर्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले लोकतन्त्र एवम् संविधानको रक्षा गर्ने उद्देश्यले सो निर्णय भएको बताउनुभयो ।