• १३ साउन २०८१, आइतबार

चोभार बन्दरगाहको सञ्चालन निजी क्षेत्रलाई

blog

काठमाडौँ, फागुुन २५ गते । काठमाडौँको चोभारमा रहेको चोभार सुक्खा बन्दरगाहको सञ्चालन निजी क्षेत्रलाई दिइने भएको छ । व्यापार सहजीकरण गर्ने उद्देश्यका साथ स्थापना भएको बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने व्यवस्था भएकाले व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन लागिएको हो । 

हाल नेपाल इन्टरमोडल यातायात विकास समितिले नियमन र सञ्चालनको काम गर्दै आएकामा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेपछि निजी क्षेत्रलाई जिम्मा दिन लागिएको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह सञ्चालन निजी क्षेत्रलाई दिन लागिएको जानकारी दिनुभयो । “यसका लागि टेन्डर आह्वान गर्दै छौँ । प्रतिस्पर्धाबाट उपयुक्त निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिन्छौँ,” उहाँले भन्नुभयो । 

अहिले देशमा सञ्चालनमा रहेका अन्य बन्दरगाह र एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पनि निजी क्षेत्रले सञ्चालन गरिरहेका छन् । अहिले मुख्य रूपमा वीरगञ्ज, काँकडभिट्टा, भैरहवा, तातोपानी र चोभार गरी पाँचवटा बन्दरगाह सञ्चालनमा छन् । वीरगञ्ज र विराटनगरमा एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा छ । व्यापारविज्ञ रविशङ्कर सैँजूले नियमन र सञ्चालन एउटै निकायले गर्दा चोभार बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउनुभयो । निजी क्षेत्रले नाफा कमाउने उद्देश्यले सञ्चालन गर्ने भएकाले सरकारले सञ्चालन गर्नुभन्दा निजी क्षेत्रलाई दिँदा उपयुक्त हुने उहाँको बुझाइ छ ।

एघार महिनामा ११० ट्रक सामान आयात

विश्व बैङ्कको सहयोगमा स्थापना भई गत वर्ष चैत २२ देखि सञ्चालनमा आएको बन्दरगाहमा ११ महिनामा ११० कन्टेनर सामान आयात भएको र चार कन्टेनर सामान निर्यात भएको समितिले जनाएको छ । 

बन्दरगाहबाट तेस्रो मुलुकमा तयारी पोसाक, कपडा, विद्युतीय सामान आयात भएका छन् । चोभार बन्दरगाहमा भित्रिएका ९५ प्रतिशत चिनियाँ सामान रहेका छन् । 

यस्तै नेपालबाट न्यून मात्रामा टेक्स्टाइल, ऊनी कपडा, हस्तकलाका सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । आयात–निर्यात सहजीकरण उद्देश्यसहित विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा बन्दरगाह निर्माण गरिएको थियो ।

बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन नसकेपछि समितिले बन्दरगाहमा पार्किङ र गोदामघरका रूपमा प्रयोग गर्न खुला गरेको थियो । उपाय कार्गाेले गाडी र सामान ल्याएर राख्न सुरु गरेको समितिले जनाएको छ । उपत्यकाको रिङरोडमा मालवाहक सवारीसाधन पार्किङ नगरी बन्दरगाहमा पार्किङ गराउन सम्बन्धित निकायलाई अनुरोध गरेको पनि समितिले जनाएको छ ।

सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा १५० वटा सवारीसाधन पार्किङ क्षमता, एक हजार २९६ वर्गमिटर क्षमताको एउटा गोदामघर, ८० मेट्रिक टन क्षमताको सवारी नापतौल, लोड/अनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था छ ।  

वीरगञ्ज आईसीपी भाडामा 

समितिले हालै वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । भारत सरकारले निर्माण गरिदिएको आईसीपी कैलाशा टर्मिनल्स प्रालिले पट्टा बहाल (लिज)मा सञ्चालनको जिम्मा लिएको समितिले जनाएको छ । यसअघि समिति आफैँले सञ्चालन र नियमन गरेको थियो । 

कैलाशा टर्मिनल्समा भ्याली ग्रुपअन्तर्गतको विन्ध्यवासिनी लजिस्टिक्स तथा भारतीय कम्पनी टीआरएस लिफ्ट एन्ड सिफ्ट र एपिजय सीपीको संयुक्त लगानी छ । आईसीपीको सञ्चालन गर्ने जिम्मा पाएको कैलाशाले समितिलाई पाँच वर्षमा एक अर्ब ८० करोड ९० लाख एक हजार दुई सय रुपियाँ तिर्ने कम्पनीले जनाएको छ ।

वीरगञ्जस्थित एकीकृत जाँचको निर्माण पाँच वर्षअघि सम्पन्न भएको थियो । समिति इन्टरमोडल सुविधाको नियमनकारी निकाय हो । समितिले आईसीपी र सुक्खा बन्दरगाहको उचित व्यवस्थापन गर्दै आएको थियो ।