ललिता साह
वोदेवर्साइन (सप्तरी), फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का दसन चौधरी वडाको सबै काम सकाएर छोरीको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धाएको एक साता बितिसक्दा पनि उहाँको काम भएन ।
यस्तै, जिल्ला प्रशासन राहदानी फाँटमा प्रमुख नभएर रुपनी– २ का रामभगत सदा पासपोर्ट बनाउन पाएका छैनन् । जिल्ला प्रशासन कार्यालय सप्तरीमा तीन शाखा अधिकृतको दरबन्दी रहे पनि हाल एक जना मात्र काम गर्दै आउनुभएको छ । सहायक सिडिओ, दुई जना प्रशासकीय अधिकृत सरुवा भएको दुई महिना भयो कर्मचारी पठाइदिन मन्त्रालयलाई दैनिक ताकेता गर्छु तर सुनुवाइ भएको छैन, सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । कर्मचारी छैन काम नभएर एउटै सेवाग्राही दिनैपिच्छे आउनुपरेकाले कार्यालयमा भिडभाड बढेको उहाँको भनाइ छ ।
नागरिकलाई जति जरूरी र हतारो भए पनि सोही दिन सेवा दिन नसकिएको उहाँले स्वीकार गर्नुभयो । “अनुगमन तथा कार्यसम्पादन सम्झौता लगायतको काम गर्न सकिएको छैन । जसबाट मेरो आफ्नै र जिल्ला प्रशासन कार्यालयको समग्र मुल्यांकन प्रभावित हुने देखिएको छ” उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “सप्तरी बढी जनघनत्व भएको जिल्ला हो । ६८ किलोमिटर लामो खुला सिमानाका छ । कुनै दिन कार्यक्रम पर्छन्, जिल्ला प्रशासन प्रमुख भएको नाताले सबैतिर भ्याउनुपर्ने बाध्यता हुन्छ ।” प्रायः आफू फिल्डमा रहने भएकाले कार्यालयमा कर्मचारी अभाव भइरहँदा सेवाग्राहीलाई सेवा प्रवाहमा सामना गर्नुपरेको उहाँको भनाइ छ।
प्रशासन कार्यालय समक्ष कर्मचारीकै सेटिङमा नक्कली आमाबुबा खडा गरेर जिल्लाको छिन्नमस्ता गाउँपालिकाका एक महिलाले नागरिकता लिएको विषयमा छानबिन हुँदा संलग्न कर्मचारीमाथि कानुनी कारबाहीको अनुसन्धान भइरहेको छ । त्यही सिलसिलामा यस कार्यालयमा कार्यरत रहनुभएका तत्कालीन शाखा अधिकृतद्वय राजु दाहाल र शिशिर घिमिरेको सरुवा भएको छ । अधिकृतद्वयको सरुवा भएलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी घिमिरेको पनि सरुवा भएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा जनतालाई सेवा दिन समस्या परेको उहाँले बताउनुभयो ।