बैतडी समाचारदाता
बैतडी, फागुन २४ गते । सिद्धेश्वर मावि हुक्केडाँडा सरकारीस्तरबाट तीनतारे विद्यालय घोषणा गरिएको छ। बाल उद्यान, खेलमैदान र सरसफाइ स्वच्छताका दृष्टिले विद्यालयको शैक्षिक र भौतिक वातावरण निकैलोभलाग्दो छ। यो विद्यालय सरकारी योजनाले भन्दा पनि फागुलगायतका चाडबाडले यस्तो बनेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटका अनुसार यो विद्यालयका शिक्षकलाई फागु आएपछि मात्रै तलब खुवाउने गरिएको छ। किनकि फागु खेलेर सहयोग सङ्कलन गरी शिक्षकको तलब सुविधा भुक्तानी गरिन्छ। यो वर्ष फागु खेलेर एक लाख ७५ हजार रुपियाँ सङ्कलन गरिएको छ।
कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा २७० जना विद्यार्थी छन्। प्राविमा सरकारी दरबन्दीका तीन जना शिक्षक हुनुहुन्छ। निजी स्रोत जुटाएर नौ जना शिक्षकलाई फागुमा सङ्कलन भएको रकमले तलब खुवाउने गरिएको छ।
बैतडीको पाटन नगरपालिका–९, हुक्केडाँडास्थित विद्यालयले चार दिन फागु खेलेर आर्थिक सङ्कलन गरेको हो। प्रधानाध्यापक शिवराज भट्टका अनुसार नगरपालिकाबाट निमावि शिक्षकलाई १६ र माविका शिक्षकलाई १७ हजार रुपियाँका दरले अनुदान आउँछ तर शिक्षकलाई मासिक २८ हजार तलब दिनुपर्छ। जसका कारण विद्यालयलाई आर्थिक भार थपिएको छ। त्यो आर्थिक भार सहयोग सङ्कलनबाट परिपूर्ति हुँदै आएको छ।
उहाँका अनुसार निमाविको पढाइ सुरु गर्न २०६५ बाट फागु खेल्न सुरु गरिएको हो। २०७४ सालमा माविको पढाइ सुरु भएपछि नियमित फागु खेल्न थालिएको र फागु खेल्दा सङ्कलन हुने सहयोग नै विद्यालयको मुख्य श्रोत हो।
विद्यालयले मैनबत्ती उद्योग, च्याउ खेती, पोतेका कलात्मक माला बनाउने र विद्यालय हाताभित्रको खाली जग्ग्गामा तरकारी खेती गरेर थप स्रोत जुटाउने गरेको छ। सो रकमबाट एसईई परीक्षा दिने विद्यार्र्थीलाई थप कक्षा सञ्चालन गर्ने गरिएको छ। विद्यालयमा सिकेको जीवनउपयोगी सीपले मैनबत्तीबाट विद्यार्थीलेसमेत आम्दानी गर्ने गरेका छन्। सिद्धेश्वर मावि हुक्केडाँडा नगरपालिका भरिकै उत्कृष्ट विद्यालय भएको पाटन नगरपालिकाका शिक्षा संयोजक ललितकुमार पाण्डेयले जानकारी दिनुभयो। नगरपालिकाले बनाएको मापदण्डअनुसार शिक्षकलाई तलब दिन रकम कम भएपछि विद्यालय आफैले श्रोत जुटाउने गरेको छ।
सिगासमा चार लाख सङ्कलन
पाटन नगरपालिका–३, गुरुडास्थित सिगास मावि गौरीशङ्कर पोखरीले फागु खेलेर चार लाख रुपियाँ सङ्कलन गरेको छ। फागु खेलेर सङ्कलन भएको रकमले विद्यालयमा पुस्तकालय, खानेपानीका धारा निर्माण र कक्षाकोठा व्यवस्थापनमा खर्च गरिने प्रधानाध्यापक धनीदत्त पन्तले जानकारी दिनुभयो।
सिगास माविले लैङ्गिक हिंसा, बालबालिकाको हक अधिकार र सामाजिक सञ्जाल फेसबुको दुरुपयोग रोक्नुपर्नेजस्ता विषय समेटेर सन्देशमूलक फागु खेलेको उहाँले बताउनुभयो। त्यसैगरी पाटन नगरपालिका–१० स्थित सरस्वती मावि सल्लेवासाले फागु खेलेर एक लाख ४६ हजार रुपियाँ सङ्कलन गरेको प्रधानाध्यापक लोकराज भट्टले जानकारी दिनुभयो। सङ्कलन भएको रकम विद्यालयको शैक्षिक गुणस्तर विकासमा खर्च हुने उहाँले बताउनुभयो।
बैतडीको सुर्नया गाउँपालिका–४, डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयले फागु खेलेर एक लाख ८० हजार रुपियाँ सङ्कलन भएको शिक्षक भानबहादुर महराले जानकारी दिनुभयो।