• ८ मंसिर २०८१, शनिबार

खुले ढोरपाटनका विद्यालय

blog

बागलुङ समाचारदाता 

बागलुङ, फागुन २४ गते । अत्यधिक चिसो बढेपछि करिब एक महिना बन्द भएका बागलुङको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यकाका विद्यालय पुनः सञ्चालनमा आएका छन्। जाडो छल्न बेँसी झरेका बालबालिका गर्मी मौसमको सुरुवातसँगै ढोरपाटन उक्लेपछि विद्यालय सञ्चालन गरिएको हो। गत पुस १८ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन्। 

चिसो बढेपछि ढोरपाटन उपत्यकाको विकास आधारभूत विद्यालय, सल्लाथान प्रावि, ढोरपाटन दुर्गम प्रावि, बालज्योति प्रावि, सिद्धथान प्राविको पठनपाठन बन्द गरिएको थियो। विद्यालय बन्द भएपछि चिसो छल्न विद्यार्थी अधिकारीचौर, बोवाङ, बुर्तिवाङतिर झरेका थिए। फागुन लागेपछि बालबालिका ढोर क्षेत्र फर्केको ज्योति विकास आधारभूत विद्यालयका शिक्षक श्याम विकले जानकारी दिनुभयो। 

ढोरपाटन उपत्यका विद्यालयले असार, साउनमा हुने बर्खे बिदा गर्दैनन्। बर्खे बिदा नलिने विद्यालयले चिसो बढेपछि हिउँदे बिदा लिने ढोरपाटन नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक ज्ञानेन्द्र सापकोटाले जानकारी दिनुभयो। 

अर्धवार्षिक परीक्षा सकिएपछि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालय बन्द हुन्छन्। हिउँदे बिदा लामो हुने हुँदा बर्खामा नियमित, दशैँमा एक हप्ता र तिहारमा पाँच दिन मात्रै विद्यालय बन्द गरिँदै आएको छ। ढोर क्षेत्रकै जनवादी घुम्ती विद्यालयले बोवाङमा नियमित पठनपाठन गरेको छ। गर्मी मौसममा उपत्यका क्षेत्र र जाडो मौसममा बोवाङमा कक्षा सञ्चालन हुन्छ।