• १३ साउन २०८१, आइतबार

अवरोध हटाउन प्राधिकरणको पहल

blog

काठमाडौँ, फागुन २४ गते । नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ । 

देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीय बासिन्दाले विगत तीन वर्षदेखि प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका छन् । स्थानीयवासीको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चारवटा टावर निर्माण हुन सकिरहेको छैन । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोष सम्मिलित उच्चस्तरीय टोलीले निर्माणमा अवरोध भइरहेको फलेवास–६, देवीस्थानको स्थलगत निरीक्षण गरेको छ । पर्वतका जिल्ला समन्वय प्रमुख विष्णुराम विक, फलेवासका नगरप्रमुख गङ्गाधर तिवारीसमेतको उक्त टोलीले प्रसारण लाइन निर्माण स्थलको स्थलगत निरीक्षण गरी स्थानीय बासिन्दासँग छलफल गरेको थियो । 

टोलीले कालीगण्डकी र यसका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि यो लाइन महत्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन आग्रह गरेको थियो । लाइन अभावमा जलविद्युत् आयोजनाहरूको विद्युत् मुख्य रूपमा वर्षायाममा प्रवाह गर्न नसकिएको भन्दै टोलीले यसबाट राष्ट्रलाई ठूलो क्षति भइरहेकाले निर्माणमा सहयोग गरिदिन अनुरोध गरेको थियो । 

प्रसारण लाइनको टावर सार्न सम्भव भए/नभएको विषयमा प्राविधिक टोलीले चार/पाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । “प्रसारण लाइन तल विद्यालय पर्छ भन्ने स्थानीयवासीको कुरा थियो तर स्थलगत निरीक्षणबाट मार्गधिकारमा विद्यालय नपर्ने देखिएको छ,” उहाँले भन्नुभयो । उहाँले विद्यालयलाई जोगाएर प्राविधिक रूपमा सम्भव भएसम्म रङ्गशालालाई पनि कम असर पर्ने गरी टावर निर्माण गरिने प्रस्ट पार्नुभयो । 

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाबाट पर्वतको कुस्मा नगरपालिका–२, खुर्कोटसम्मको ३९.६ किलोमिटर पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा छ । खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ । 

कोरिडोरको दोस्रो खण्डअन्तर्गत कुस्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३, भुमहीस्थित (नयाँ बुटवल सबस्टेसन)सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने २३५ वटा टावरमध्ये फलेवासमा पर्ने चारवटाको निर्माण बाँकी रहेको छ । प्रसारण लाइन निर्माण असारभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले बताउनुभयो ।