मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), पुस ५ गते । उपल्लो मुस्ताङको ल्होमन्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेसनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरियो । अक्सिजन लेभल ५३ मा झरेको र मुटुको धड्कन रेट १०२ विट्स प्रतिमिनेटभन्दा बढी थियो । शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्ने र सामान्य अवस्थमा मुटुको धड्कन रेट ६०–९० प्रतिमिनेट हुनुपर्नेमा निकै चिन्ताजनक अवस्थामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय ल्होमन्थाङका स्वास्थ्य सहायक रामलाल गुरुङले सिपिआर गर्नुभयो ।
करिब १५ मिनेट सिपिआरको माध्यमबाट छात्रालाई खतरामुक्त बनाएपछि स्वास्थ्यकर्मीले कलेजकी शिक्षक स्वस्तिका डोटेललाई जिम्मा लगाएर नेपाली सेनाको क्यापमा थप उपचार गरियो । निकै चिन्ताजनक अवस्थामा उद्धार गरिएको छात्रा बिरामी भएपछि शैक्षिक भ्रमण छोटाएर टोली फर्कियो । अत्यधिक चिसो रहेको उपल्लो मुस्ताङमा शैक्षिक तथा संस्थागत भ्रमणका लागि पुस महिनामा समेत जोखिम मोलेर सिधै पुग्न थालेपछि लेक लाग्ने समस्या देखिएको छ ।
ल्होमन्थाङ सामुदायिक स्वास्थ्य एकाइका स्वास्थ्य सहायक गुरुङले चिसोमा अक्सिजनको लेबल ह्वात्तै घटेको अवस्थामा पर्यटकलाई औषधीसहित उपचार गरी पठाउने गरेको बताउनुभयो । गुरुङले भन्नुभयो, “सिधै तलबाट माथिल्लो क्षेत्रमा घुम्न आउनेमा लेक लाग्ने समस्या देखिन्छ, अति आवश्यक नभए जाडोयाममा उपल्लो क्षेत्रमा भ्रमण नगर्दा राम्रो हुन्छ ।” बिहानबेलुकीको समयमा माइनस तापक्रम हुने उपल्लो मुस्ताङको समुद्री सतहदेखि ४,६५० मिटर उचाइमा रहेको लिजी–नेचुङ (कोरला) नाकासम्म घुम्ने गरी पर्यटक आउन थालेपछि प्रहरी चौकीमार्फत सचेत बनाउने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले बताउनुभयो ।
सहायक प्रजिअ परियारले अत्यधिक चिसोका कारण होटेलमा समेत सामान्य अवस्थामा जस्तै सेवा पाउने सम्भावना नभएकाले जाडोयाममा माथिल्लो मुस्ताङको ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पर्यटकीय स्थलमा एकल तथा सामूहिक भ्रमण तालिका नबनाउन अनुरोध गर्नुभएको छ । परियारले भन्नुभयो, “धेरै व्यवसायी पनि तल झर्न थाल्नुभएको छ, चिसोका कारण स्वास्थ्यमा समस्या देखिएका समयमै उद्धारमा समेत कठिनाइ हुन्छ ।”
जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका अनुसार पुस महिनाको १ गते एक हजार ६०७ जना, पुस २ गते एक हजार ५३६ जना र पुस ३ गते एक हजार ७२८ जना पर्यटक कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डबाट मुस्ताङ प्रवेश गरेका थिए । अधिकांश मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किए पनि हतार हतारमा माथिल्लो क्षेत्रमा समेत जाने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।
जाडोयाममा लेक लाग्ने, स्वास्थ्यमा समस्या धेरै देखिने भएकाले प्रहरीले मुस्ताङ प्रवेशद्वार घासा, लेते प्रहरी चौकी, सदरमुकाम जोमसोम, मुक्तिनाथ मन्दिरसहित उपल्लो मुस्ताङका विभिन्न स्थानमा सवारीसाधनबाट पर्यटकलाई लेक लाग्ने समस्या र उपचारका लागि आवश्यक सचेतनामूलक कार्यव्रmमलाई प्राथमिकता दिने गरेको छ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ । चिसोमा दीर्घरोगी र बालबालिकालाई यात्रामा जोखिम हुन्छ ।
टाउको हल्का दुख्नु, थकाइ र रिङ्गाटा लाग्ने, हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुरा खानुपर्ने र शरीरमा असहज महुसस भए तत्कालै आफू भएकाभन्दा तल्लो क्षेत्रमा फर्किएर उपचार गर्नु पर्छ । समयमै लेक लागेकाले सतर्क भएर यसबाट बच्ने उपाय र उपचार गरेमा निको हुने भए पनि हेल्चेक्रयाइँ गरी लेक लागेको क्षेत्रमै बसेमा वा माथि उचाइमा जाने प्रयास गरेमा मस्तिष्क वा फोक्सो सुन्निने गरेको हुन्छ ।