• १३ साउन २०८१, आइतबार

पर्यटकीय क्षेत्र हाँडीकोटको प्रवर्द्धन हुँदै

blog

बागलुङ समाचारदाता

बागलुङ, फागुन २३ गते । ऐतिहासक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण बागलुङको पर्यटकीय क्षेत्र हाँडीकोटको विकासमा स्थानीय सक्रिय भएका छन्। तत्कालीन बाइसे/चौबिसे राज्यकालीन ऐतिहासिक संरचनाका भग्नावशेष, मन्दिरहरू र हाँडीकोटबाट देखिने हिमशृङ्खलालगायतका प्राकृतिक सौन्दर्यको प्रचारप्रसारमा स्थानीयवासी जागरुक भएका हुन्। 

हाँडीकोट जैमिनी नगरपालिका जैमिनीको वडा– १० राङ्खानी, ७ जैदी र ८ छिस्तीको सङ्गमस्थल हो। यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिजस्ता दर्जनौँ हिमशृङ्खलाका मनमोहक दृश्यले हाँडीकोट पुग्ने जोकोहीलाई प्रफुल्लित बनाउँछन्। समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोटमा वर्षाको समयमा हुस्सु र कुहिरोले ढाकिने र हिउँदमा हिउँले घुम्टो हाल्दा पनि पर्यटकहरू लोभिने राङ्खानीका स्थानीय युवा मित्र थापाले बताउनुभयो। 

पर्यटकीय क्षेत्रमा पुग्नका लागि जैमिनी नगरपालिकाले पदमार्ग तथा कच्ची सडक विस्तार गरेको छ। हालसम्म भ्युटावर निर्माण, प्रतीक्षालय निर्माण, मन्दिर निर्माणका लागि २२ लाख रुपियाँ खर्च भएको छ। यस वर्ष खानेपानी व्यवस्थापनका लागि नौ लाख रुपियाँ लगानीमा ट्याङ्की निर्माण गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो। डाँडामा पानीको स्रोत नहुँदा झन्डै पाँच सय मिटर तल खानेपानीको ट्याङ्की निर्माण गरेर लिफ्टिङ प्रविधिबाट पानी माथि पु-याउने योजना रहेको छ। आगामी आर्थिक वर्षमा पनि भ्युटावरलाई थप व्यवस्थित बनाउन र तारजालीका लागि तीन लाख रुपियाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। आकर्षक पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धनका लागि हाँडीकोट सामुदायिक विकास केन्द्र राङ्खानीले फागुपूर्णिमाका अवसरमा विगत केही वर्षदेखि नियमित महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवको निहुँमा हाँडीकोट पुग्ने दर्शकले त्यहाँको प्राकृतिक सौन्दर्य बुझ्ने र त्यो सूचना फैलाएपछि पर्यटकहरू भित्रिन मित्र थापाको भनाइ छ। 

भुरेटाकुरे राजा रजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ सङ्ग्रह गरेर राखिएको छ।  त्यसका लागि सङ्ग्रहालय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना रहेको छ। ब्याडथला र डाँडाखानीबाट दुई हजार दुई सय मिटर अग्लो हाँडीकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छन्। हाँडीकोटको नजिकका डाँडाखानी र ब्याडथलामा सामुदायिक घरबास सञ्चालनमा छन्। घरबासमा खाना र बस्नका निम्ति राम्रो व्यवस्था छ। होमस्टे बस्न नचाहने पर्यटकका लागि नजिकै नान्दुक बजारमा होटलहरू पनि पर्याप्त मात्रामा छन्। पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर हरेक वर्ष हाँडीकोट महोत्सवसमेत गरिँदै आएको छ। सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटर यात्रामा ब्याडथला पुग्न सकिन्छ।