• १६ भदौ २०८१, आइतबार

मधेशमा फागुपर्वको उमङ्ग, जनकपुरधाममा माध्यमिकी परिक्रमा

blog

मधेश प्रदेश ब्युरो 

जनकपुरधाम, फागुन २३ गते  । मधेश प्रदेशका जिल्लामा रङहरूको पर्व फागुको उमङ्ग छाएको छ। सहरदेखि गाउँटोलसम्म फागुपर्वको उत्सवमा सबै रमाएका छन्।  

मधेशका जिल्लामा सोमबार, मङ्गलबार र बुधबार रङ खेलिँदै छ। मधेशमा बसोबास गरिरहेका पहाडी समुदायले सोमबार फागुपर्व मनाएका छन्। धनुषाबाहेकका जिल्लामा मङ्गलबार र धनुषामा बुधबार फागु खेलिँदै छ। 

जनकपुरधाम समाचारदाताका अनुसार मिथिलाञ्चलको बहुचर्चित धार्मिक एवं सांस्कृतिक उत्सव मिथिला माध्यमिकी परिक्रमा सोमबार जनकपुरधाम आइपुगेको छ। फागुन ८ गते औँसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको परिक्रमा जनकपुरधाम आइपुगेको छ। 

मिथिलाविहारी मन्दिरबाट सुरु भएको परिक्रमा हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विशौल हुँदै जनकपुरधाम आइपुगेका छन्। 

मङ्गलबार बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि यो परिक्रमा विधिवत सम्पन्न हुनेछ। यस परिक्रमामा भाग लिन नसकेका श्रद्धालु अन्तरगृह परिक्रमामा सहभागी हुने गर्दछन्। अन्तरगृह परिक्रमामा सहभागी हुन पाए पनि मोक्ष प्राप्ति हुने जनविश्वास छ। परिक्रमामा सहभागी यात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिको पैदलयात्रा तय गरेका थिए। 

ठूलो सङ्ख्यामा जनकपुरधाम भित्रिएका परिक्रमावासी बाह्र बिघा, अग्नी कुण्ड, तिरहुतिया गाछी, गङ्गासागरलगायतका स्थानमा बसोबास गरी मङ्गलबार यहाँ आइपुगेको हो। बिहान स्नान गरी अन्तरगृह परिक्रमाअन्तर्गत जनकपुरधाममा लगभग आठ किलोमिटर नगर वरिपरि परिक्रमा गरेपछि परिक्रमाका यात्रीहरू घर फर्किन्छन् र फर्केको भोलिपल्ट बुधबार फागुको रङ खेल्ने छन्। 

नगरप्रमुखलाई ढहलेल पुरस्कार 

महोत्तरी समाचारदाताका अनुसार जिल्लामा पहिलो ढहलेल(मुर्ख) श्री पुरस्कारबाट मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल सम्मानित हुनुभएको छ। मिथिला सांस्कृतिक विकास केन्द्र जलेश्वरको आयोजनामा आइतबार साँझ सम्पन्न भएको फगुवा फुर्रर दङ्ग तथा व्यङ्ग्य विनोद कवि सम्मेलन कार्यक्रममा मण्डललाई सम्मानित गरिएको हो। ढहलेल श्री र समाजसेवी तथा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार रहनुभएका रामआधार कापरलाई भकचोन्हर श्री २०७९ ले सम्मान गरिएको छ। दुवै पुरस्कृत भएकालाई ढहलेल र भकचोन्हर लेखिएको नाङ्लोको तक्मा, गम्छा, बाँसको चस्मा तथा तरकारीको माला लगाएर केन्द्रका अध्यक्ष ताराकान्त झाले सम्मान गर्नुभएको थियो। 

नगरप्रमुख मण्डलले व्यङ्ग्यात्मक रूपमा फागुमा गरिने सम्मानको विशेष अर्थ हुने बताउँदै आफू यो सम्मानबाट गौरवान्वित भएको बताउनुभयो। उहाँले केही नगरी जथाभाबी गर्नेलाई ढहलेल भनिए पनि आफूले इच्छाशक्ति र जनताको चाहनालाई समातेर विकास गरेको जानकारी दिनुभएको थियो। 

‘होरी’ महोत्सव र महामूर्ख सम्मेलन 

जनकपुरधाम समाचारदाताका अनुसार मिथिला नाट्यकला परिषद् (मिनाप)ले सोमबार पहिलो दिन होली गायनसहितको प्रतियोगिता आयोजना गरिएको छ भने मङ्गलबार महामूर्ख सम्मेलनको आयोजना गरिने भएको छ। 

होरी महोत्सवमा डम्फा वादन र उद्घाटन, होलीमाथि विशेष चर्चापरिचर्चा, हास्य कवि गोष्ठी, निश्चित मापदण्डअनुसार होली गायन, उत्कृष्टताको छनोटसँगै पुरस्कार वितरण गरिनेछ। मङ्गलबार विशिष्ट शैलीमा उद्घाटन, होली गायन, मिनापको हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुति, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा उपहार वितरण गरिने मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो।

मिनापले आयोजना गरेको महोत्सवमा मधेश प्रदेशका आठवटै जिल्लाका प्रतियोगीलाई सहभागी गराउने योजना रहे पनि अहिलेसम्म पाँच जिल्लाले मात्र सहभागिता जनाएका छन्। ती पाँच जिल्लामध्ये प्रत्येक जिल्लाबाट दुई/दुई टोली गरी जम्मा १० टोली सहभागी हुने महासचिव मल्लिकले जानकारी दिनुभयो। 

उपाधि पाउन तँछाडमछाड  

ढल्केबर समाचारदाताका अनुसार ठूल्ठूला ओहदामा पुगेका व्यक्तित्व पनि महामूर्ख भनेर घोषित गरिँदा पनि आफूलाई गौरवान्वित महसुस गर्छन्। 

मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्खको उपाधि प्रदान गर्दै आएको छ। उपाधिसँगै भान्टा, मुलालगायत विभिन्न तरकारीले उनिएको माला लगाएर सम्मान गरिन्छ। यसवर्ष भने यो उपाधि पाउन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवदेखि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसम्मको तँछाडमछाड भइरहेको छ। मिनापका अध्यक्ष परमेश्वर झाका अनुसार यस वर्ष महामूर्खको उपाधिका आकाङ्क्षी मुख्यमन्त्री यादव, कांग्रेस नेता निधि, जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साह रहेको बताउनुभयो। भाषा, संस्कृति, कला, सामाजिक रूपान्तरण, राजनीतिक क्षेत्रमा उल्लेखनीय काम गर्नेलाई महामूर्खको उपाधि प्रदान गरिँदै आइएको छ।