• १३ साउन २०८१, आइतबार

साहुखर्कमा भैँसी पालेर खीरको व्यापार

blog

अमरगढी समाचारदाता 

डडेल्धुरा, फागुन २२ गते । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग महाकाली राजमार्गको साहुखर्क हुँदै यात्रा गर्ने जोकोही यात्रुले खीरको स्वाद नचाख्नु अचम्म मानिन्छ। २०३२ सालदेखि साहुखर्कमा खीर बेच्दै आएका शेरबहादुर देउवाको परिचयन नै खीरबाजेका रूपमा प्रख्यात छ। 

गन्यापधुरा गाउँपालिका–१, साहुखर्कमा खीरको व्यापार गरेरै देउवाले करिब ४० रोपनी जमिन जोड्नुभएको छ। त्यो जग्गालाई पक्की पर्खालले घेर्नुभएको छ। 

उहाँले हालसम्म करिब ३० लाख रुपियाँ लागतमा आफ्नो खेतबारीका गह्रा–कान्लामा पक्की पर्खाल लगाउनुभएको छ। २०२४ सालदेखि महाभारत पर्वत क्षेत्रको साहुखर्कमा उहाँले भैँसी पालन गर्दै आइरहनुभएको छ। उहाँको भैँसी पाल्ने खर्कमा २०३२ सालमा सडक पुग्यो। र उहाँले भैँसीको दूघको खीर पकाएर बेच्न थाल्नुभयो। 

भैँसी पाल्ने खर्क भएर सडक डडेल्धुरा, बैतडी, डोटी गयो। सडकमा काम गर्नेहरू खर्कमा बस्न थाले। सडक खनिएपछि गाडी चल्न थाले। ८१ वर्षीय देउवाले भन्नुभयो, “अनि मैले त्यति बेला खीर पकाएर एक प्लेटको पाँच रुपियाँका दरले बेच्न थाले।” 

सडक किनारमा काठको सानो टहरा बनाई खरले छानो छाएर खीर बेच्न थाल्नुभएका देउवाले हाल सोही स्थानमा दुईवटा पक्की भवनसमेत बनाउनुभएको छ। हाल पनि उहाँको गोठमा १२ वटा भैँसी छन्। हाल एक प्लेट खीरको मूल्य ८० रुपियाँ छ। दैनिक रूपमा ४०–४५ लिटर दूधको खीर पकाउने गरेको उहाँले बताउनुभयो। 

खीर बिक्री गरेर कमाएको रुपियाँले रुवाखोला गाउँमा रहेको खेतका सबै कान्लामा पक्की पर्खाल लगाएको उहाँले बताउनुभयो। गत वर्ष मात्रै १८ लाख रुपियाँ खर्च गरेर साहुखर्कमै रहेको आफ्नो जमिनमा पक्की पर्खाल निर्माण गरेको उहाँले बताउनुभयो। भिरालो जमिनमा वर्षाले पहिरो जाने र जमिन बगेर जाने समस्याका कारण पक्की पर्खाल लगाएको उहाँले बताउनुभयो। 

रुवाखोलाका खेतमा धान रोपाइँ गरेर सोही धानको चामलले खीर पकाएर बेच्ने गरेको उहाँले बताउनुभयो। हाल १३ वटा भैँसीपालन गर्न चार जना स्थानीयलाई रोजगारी दिएको देउवाले बताउनुभयो।

केही वर्ष पहिलेदेखि उहाँले खीरसँगै मिठाईका परिकारसमेत बिक्री गर्दै आइरहनुभएको छ। दूधबाट बनेको खोया, पेडालगायतका मिठाईका परिकारसमेत उहाँले बिक्री गर्दै आउनुभएको छ। 

महाकाली राजमार्ग भएर तराई–पहाड आवतजावत गर्नेहरू साहुखर्कमा खीर, मिठाई र चियाको स्वाद लिने गर्नुहुन्छ। 

पहिलेको तुलनामा पछिल्ला वर्षहरूमा खीरको व्यापार घटेको उहाँको भनाइ छ। साहुखर्क क्षेत्रमा हाल दर्जन बढी खीर खुवाउने पसल खुलेपछि आफ्नो व्यापार घटेको उहाँले बताउनुभयो।