• १३ असोज २०८१, आइतबार

ओखलढुङ्गा क्याम्पसमा ताला

blog

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, फागुन २२ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मिति नजिकिँदै गर्दा ओखलढुङ्गा क्याम्पसमा विवाद उत्पन्न भएको छ। सङ्गठन विशेषको आधारमा क्याम्पसले भर्ना शुल्कमा विभेद गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घ एकाइ कार्यसमिति ओखलढुङ्गा क्याम्पस आन्दोलित भएको छ। क्याम्पसले विद्यार्थी भर्ना गर्दा विभेदपूर्ण ढङ्गले शुल्क असुलेको दाबी गर्दै सत्यतथ्य विवरण सार्वजनिक गर्न नेविसङ्घले माग गरेको छ। यस क्रममा सङ्घले आइतबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ। 

आइतबार बिहान क्याम्पस प्रशासनका सम्पूर्ण कार्यालयमा ताला लगाइएको नेपाल विद्यार्थी सङ्घ एकाइ कार्यसमिति ओखलढुङ्गा क्याम्पसका सभापति रामकृष्ण बानियाँले बताउनुभयो। नेविसङ्घले उठाएका मागहरू सम्बोधन नगरी ताला खोल्ने प्रयास गरे जुनसुकै मूल्य चुकाउन आफूहरू तयार रहेको सभापति बानियाँको भनाइ छ। माग सम्बोधन गर्ने विषयमा क्याम्पसले चासो नदिएको नेविसङ्घको ठहर छ। 

गत फागुन १५ गते स्नातक तह प्रथम वर्षको एउटै सङ्कायका विद्यार्थी भर्ना हुँदा सङ्गठन विशेषका आधारमा क्याम्पसले फरक शुल्क लिएको एकाइ कार्यसमिति ओखलढुङ्गा क्याम्पसको दाबी छ। यस विषयमा क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउँदै फागुन १५ गते भर्ना भएका सम्पूर्ण विद्यार्थीको विवरण, बैङ्कमा दाखिला गरिएको भौचरको प्रमाणित प्रतिलिपि तथा सूचना सार्वजनिक गर्न नेविसङ्घले माग गरेको थियो।

एउटै मितिमा भर्ना भएका एउटै सङ्कायका विद्यार्थीबाट कसैलाई दुई हजार ८५० र केहीलाई छ हजार १५० रुपियाँसम्म भर्नाबापत क्याम्पसले असुलेको नेविसङ्घ एकाइ कार्यसमिति ओखलढुङ्गा क्याम्पसले जनाएको छ। 

यस विषयमा चाँडै सम्पूर्ण विद्यार्थी सङ्घसङ्गठनका प्रतिनिधि साथै सरोकारवालालाई उपस्थित गराएर छलफल गरिने क्याम्पस चिफ राजभण्डारीको भनाइ छ। नेविसङ्घले क्याम्पसमा गरेको तालाबन्दीका कारण विभिन्न तहका लागि परीक्षा फाराम भर्ने विद्यार्थीलाई मार परेको छ। त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी सङ्गठनहरूको गतिविधि बढेको छ।