• १३ असोज २०८१, आइतबार

विराटनगर महानगरमा सकारात्मक परिवर्तन

blog

शशिधर पराजुली 

विराटनगर, फागुन २२ गते । लामो समयदेखि एउटै शाखामा बस्दै आएका कर्मचारीलाई सरुवा गरी आन्तरिक प्रशासन सञ्चालन शैलीमा परिवर्तन गरेपछि विराटनगर महानगरपालिकामा केही सुधारका सङ्केत देखा परेको छ। 

महानगरले कर्मचारी सरुवामार्फत सबै महाशाखा र शाखाको नेतृत्वदेखि अन्य कर्मचारी परिवर्तन गरेपछि सबैजसो शाखामा नयाँपन आएको छ। त्यसको सबैभन्दा सकारात्मक प्रभाव महानगरको राजस्व महाशाखामा देखिएको छ। 

हरेक वर्ष राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न नसक्ने र विगत वर्षको अनुपातमा पनि राजस्व सङ्कलन गर्न नसक्ने समस्याबाट गुज्रँदै आएको महानगरले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा राजस्व सङ्कलनमा उल्लेख्य सुधार गरेको हो। यसबाट महानगरले कर्मचारी सरुवामार्फत सकारात्मक नतिजा ल्याउन गरेको प्रयासलाई बल पुगेको देखिन्छ। 

आर्थिक मन्दीका कारण अधिकांश आर्थिक क्षेत्र प्रभावित भइरहेका बेला विराटनगर महानगरपालिकाले राजस्व सङ्कलनमा उल्लेख्य सुधार गरेको हो। भन्सार, आन्तरिक राजस्व कार्यालय तथा अन्य राजस्व असुली गर्ने अड्डाले निर्धारित लक्ष्य पूरा गर्न नसकिरहेको बेलामा महानगरपालिकाले अघिल्लो वर्षको समान अवधिको तुलनामा बढी राजस्व सङ्कलन गर्ने सफलता प्राप्त गरेको छ। 

महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को माघ १४ गतेसम्म २९ करोड ५० लाख रुपियाँ राजस्व सङ्कलन गरेकोमा चालू आर्थिक वर्ष २०७९/८० को माघ १४ गते आइतबार अपराह्नसम्म ३२ करोड ६७ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरिसकेको जनाएको छ। समान अवधिमा महानगरले अघिल्लो आर्थिक वर्षको भन्दा तीन करोड १७ लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो। 

विराटनगर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा कतिपय करका दर परिमार्जन गरी घटाउने निर्णय लिएको थियो। महानगरको उक्त निर्णयले आन्तरिक आम्दानीमा नकारात्मक असर पुग्ने चिन्ता गरिएकोमा महानगरको राजस्व महाशाखाको योजना र सक्रियताले राजस्व सङ्कलनमा सकारात्मक वृद्धि देखिएको छ। 

निर्वाचनबाट महानगरपालिकामा नयाँ राजनीतिक नेतृत्व आएपछि लोकप्रियताका लागि करको दर घटाउने निर्णय भएको भन्दै सुरुवातमा टिप्पणी भएका थिए। कतिपय करको दर घटेका कारण अघिल्लो आर्थिक वर्ष सङ्कलन भएको राजस्व रकमका आधारमा महानगरले चालू आर्थिक वर्षका लागि लिएको लक्ष्य भेटाउनु चुनौतीपूर्ण भएकोले महाशाखाले कर बढाउन विभिन्न विकल्प अगाडि सारेको थियो। जसले महानगरपालिका अघिल्लो वर्षको भन्दा बढी कर सङ्कलन गर्न सफल भएको हो। 

महानगरपालिकाले कर सचेतना अभियानसँगै दर्ता नगरी सञ्चालन भएका व्यवसायलाई दर्ता गराउन पाँचवटा वडामा अभियान सञ्चालन गरिरहेको छ। महानगरका १९ वटै वडामा अभियान सञ्चालन गर्ने तयारी भए पनि पाँचवटामा नमूना अभियान सञ्चालन गरिएको हो। त्यसबाट सकारात्मक नतिजा आएकोले महानगरले अभियानलाई अन्य वडामा पनि विस्तार गर्ने तयारी गरिरहेको छ। 

महानगरपालिकाले अनुमति नलिइकन निर्माण भएका पुराना घरको नक्सा पास गर्दा लाग्ने जरिवाना छुट गर्नेदेखि नक्साबिना बनाइएको कम्पाउन्ड वाल भत्काउनेजस्ता कार्यक्रमअगाडि सारेर राजस्व सङ्कलन बढाउने नीति लिएको थियो। त्यसैगरी व्यवसाय दर्ता गर्न प्रोत्साहन गर्ने र दर्ता गरेर नवीकरण नगरेकालाई पनि नवीकरणको प्रक्रियामा ल्याउन सक्रियता बढाएको थियो। जसले गर्दा महानगरले तीन महिनाको अवधिमा पुराना सातभन्दा बढी व्यवसायको नवीकरण गर्ने सफलता प्राप्त गरेको थियो। यस्तै यस अवधिमा ३१५ वटा नयाँ व्यवसाय दर्ता भएको र थुप्रै दर्ताको प्रक्रियामा प्रवेश गरेको महानगरका अधिकृत तथा राजस्व महाशाखाका प्रमुख सरोज गौतमले जानकारी दिनुभयो। “महानगरले राजस्व वृद्धि गर्न सक्रियता बढाएकै कारण अहिलेको मन्दीमा पनि हामीले गत वर्षको तुलनामा बढी राजस्व सङ्कलन गर्न सफल भएका छौँ,” अधिकृत गौतमले भन्नुभयो, “यो अभियानलाई अझ विस्तार गरी महानगरको राजस्व सङ्कलनलाई प्रभावकारी बनाउने तयारी गरिरहेका छौँ।”

पार्किङ व्यवस्थापन गर्न सफल

विराटनगर महानगरपालिका लामो समयदेखि सवारी पार्किङ गर्न असफल रहँदै आएको थियो। महानगरका प्रमुख नागेश कोइरालाले बढ्दो सवारी चापलाई व्यवस्थापन गर्दै बजार क्षेत्रमा हुने भीड घटाउन जथाभाबी पार्किङ गर्न नदिने नीति अगाडि सारेको थियो। झन्डै दुई महिनाको निरन्तर प्रयत्नपछि विराटनगरका सडकमा यत्रतत्र हुने सवारी पार्किङ पूर्ण रूपमा नियन्त्रण भएको छ। ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगरले नगर रक्षक परिचालन गरी अनधिकृत पार्किङ नियन्त्रण अभियान सञ्चालन गरेपछि त्यसको सकारात्मक परिणाम प्राप्त भएको हो। महानगरले बजार क्षेत्रमा भएका खाली जमिनलाई पार्किङका रूपमा प्रयोग गरी सडकमा सवारी पार्किङ गर्ने प्रवृत्तिमा पूर्ण रोक लगाएको छ। जसले सहरलाई सफा र खुला बनाउन सहयोग पुगेको महानगरले जनाएको छ। 

सरसफाइ व्यवस्थापनमा सुधार 

विराटनगर महानगरपालिकाको जटिल समस्याका रूपमा रहँदै आएको सरसफाइ पछिल्लो समय व्यवस्थित हुँदै गएको छ। समयमा फोहोर नउठ्ने, सडक गल्ली तथा घरहरूबाट फोहोर सङ्कलन नहुने समस्या पछिल्लो समय समाधान भएको छ। महानगरपालिकाले वातावरण शाखाको नेतृत्व परिवर्तन गरेसँगै यसमा पनि सुधार आएको हो। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले भन्नुभयो, “महानगरलाई फोहोरमुक्त बनाउने अभियानमा छौँ, यहाँ फोहोर गर्ने छुट छैन। त्यसैले हामी यसको सुधारका लागि निरन्तर सक्रिय छौँ।”