• १३ साउन २०८१, आइतबार

लागू औषध ब्युरोको कारबाही विवादमा, माथिल्लो तहबाटै अनुसन्धान हुने

blog

सचिन पोख्रेल

इटहरी, फागुन २० गते । नेपाल प्रहरीको लागू औषध व्युरो अन्तर्गत झापामा परिचालित टोलीले गरेको एउटा सर्च र कारबाही प्रक्रियाको घटना विवादित बनेको छ । 

गत माघ १८ गते ब्युरोको टोलीले दमक नगरपालिका वडा नम्बर २ खरखरेबाट तीनजनालाई केही परिमाणको लागू औषधसहित पक्राउ गरेको घटना अहिले आएर विवादित बनेको हो । 

ब्युरोका प्रहरी नायव निरीक्षक सचिन्द्र लामिछानको नेतृत्वमा गएको टोलीले दमक २ खरखरेबाट दमकका ३७ वर्षका तेजकुमार खबास, ३५ वर्षका सुनिल श्रेष्ठ र २२ वर्षका विजय धिमाललाई पक्राउ गरेको थियो । 

सो क्रममा टोलीले खबास र श्रेष्ठको साथबाट १९ ग्राम लागू औषध ब्राउनसुगर पनि बरामद गरेको दाबी गर्दै व्युरोले इलाका प्रहरी कार्यालय दमकमार्फत जिल्ला अदातल झापाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । 

तर उनीहरुलाई पक्राउ गर्ने क्रममा उनीहरु बसेको घरको खानतलासी गर्दै ब्युरोको टोलीले बरामद गरेको चार चक्के सवारी साधन, छ लाखभन्दा बढी नगद, केही परिमाण सुन, ल्यापटप, आइप्याड, प्रोजेक्टर, केही थान मोबाइल, जुत्तालगायतका विभिन्न सामग्री लिएर गए पनि प्रहरी प्रतिवेदन र मुचुल्कामा उल्लेख नगरेको पाइएपछि पक्राउ गर्ने प्रहरी टोलीको नियतमाथि शंका बढेको हो । 

व्युरोको टोलीले उनीहरुलाई पक्राउ गर्दा साथबाट लागूऔषध र त्यससँग प्रत्यक्ष सम्बन्धित सामानमात्र बरामद गर्नुपर्नेमा अन्य सामानसमेत लिएर गएको र त्यसलाई प्रहरी प्रतिवेदन, मुचुल्कामा पनि उल्लेख नगरेको घटना सार्वजनिक भएपछि प्रहरीको नियतमा शंका देखिएको हो ।  

पक्राउ परेका तेजकुमार खबासकी आमा बेदकुमारी, सुनिल श्रेष्ठकी बहिनी माया गुरुङ, ज्वाइ अनुप गुरुङ र अन्य आफन्तले मात्र होइन, प्रहरी प्रतिवेदन र सर्जिविन मुचुल्कामा सही छाप गरेका छिमेकी पुष्प धिमालले समेत घरबाट बरामद गरिएका अधिकांश सामान प्रहरीले प्रतिवेदनमा नदेखाएको बताउनु भएको छ । 

 यता, इप्रका दमकको हिरासतमा रहेका यस घटनासँग सम्बान्धित तीनजना आरोपीसमेतले व्युरोको टोलीले आफूहरुलाई फसाएको दाबी गर्नुभएको छ । उहाँहरुले आफूहरु लागूऔषध सेवनकर्ता रहेको तर व्युरोको टोलीले आफूहरुसँग रहेको करिब एक ग्राम ब्राउनसुगरमा अठार ग्राम थप गरी मुचुल्कामा देखाएको आरोप लगाउनु भयो । 

खानतलास गर्ने क्रममा घरबाट छ लाख भन्दा बढी नगद, सुन, बा ५ च २३०० नम्बरको किया मोटर्सको चार चक्के गाडी, प्र १–०२–४८ प ६६५७ र ज २२ प ५५५७ नम्बरको मोटरसाइकल, को २८ प ३१४६ नम्बरको स्कुटी, ल्यापटप, प्रोजेक्टर, मोवाइललगायत अन्य धेरै सामान लगेको आरोपीहरुको भनाइ छ ।

घटनास्थलबाट बरामद गरिएका नगद र सामानमध्ये मुचुल्कामा ९७ हजार रुपियाँ नगद र तीनवटा मोटरसाइकल र स्कुटी समावेश गरिएको र अन्य नगद र सामान समावेश नगरिएको भन्दै पक्राउ परेका परिबार र मुचुल्कामा सहीछाप गर्नेले आपत्ति जनाएका टन् ।  अन्यत्र चर्चा नगर्ने सर्तमा बा ५ च २३०० गाडी भने फिर्ता गरिएको आरोपी एक पीडितको भनाइ छ ।

घटनास्थलबाट आरोपीहरुलाई पक्राउ गर्ने र घरका खानतलासी गरी सामान बरामद गर्ने क्रममा व्युरोको तीनजना मात्र रहेको र सबै काम सकेपछि मात्र इप्रका दमकसँग मद्दत मागेर अन्तिममा प्रहरी टोली मगाइएको पनि बताइएको छ । 

यस विषयमा इप्रका दमकका प्रहरी नायब उपरीक्षक मनोज लामाले कुनै प्रतिक्रिया दिन चाहनु भएन । लागूऔषध व्युरोको टोलीले पक्राउ गरी इप्रकामार्फत अनुसन्धान भइरहेको, आफूले इप्रकाको नेतृत्व सम्हाल्नुभन्दा पहिलाको घटना भएको र प्रहरीको केन्दीय नीति अनुसार मिडियामा केही बोल्न नमिल्ने प्रनाउ लामाको भनाइ छ । 

यस विवादित घटनाको सन्दर्भमा लागूऔषध व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालसमेतले व्युरोको टोलीले निजहरुको घरबाट केही सामान प्रहरी प्रतिवेदन र मुचुल्कामा समेत जनाउ नगरी लगेको पाइएको स्वीकार्नु भएको छ । 

उहाँले व्युरोको टोलीले किन के प्रयोजनका लागि विभिन्न सामग्री बरामद गरेको र के कारणले मुचुल्कामा समावेश नगरेको भन्ने कुरा खोजी र अनुसन्धानको विषय बनेको पनि बताउनु भयो । 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई पनि यस घटनाको विषयमा जानकारी भइसकेको छ । उहाँले यस विषयमा आन्तरिक छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले समन्वय गर्ने बताउनु भयो ।