• १३ असोज २०८१, आइतबार

बालिकाको शव शंकास्पद भएपछि पोष्टमार्टम गर्न धरान पठाइयो

blog

ताप्लेजुङ ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २० गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार फेला परेको बालिकाको शव शंकास्पद भएपछि पोष्टमार्टम गर्न धरान पठाइएको छ। घरबाट हराएको तीन सातापछि भेटिएको बालिकाको शव पोष्टमार्टम गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना तथा समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको आयुजिम्बामा भेटिएको शव गणेश लिम्बूकी छोरी छ वर्षीया सोनिया लिम्बूको रहेको छ। गत माघ २५ गतेदेखि बेपत्ता भएकी बालिकाको खोजतलास गर्ने क्रममा बिहीबार शंकास्पद अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो।

प्ररही निरीक्षक कार्कीकै नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले शुक्रबार घटनास्थलको मुचुल्का (विवरण) उठाई शव सदरमुकाम ल्याइएको थियो। कार्कीका अनुसार घटना शंकास्पद भएकाले शवको पोष्टमार्टम (परीक्षण) गर्न शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। 

यता घटना शंकास्पद भएपछि बालिकाकी आमा फूलमाया लिम्बू र कान्छाबाबु (झर्केलो बाबु) पूर्णकुमार लिम्बूलाई घटनाबारे सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। उहाँहरुसँग घटनाबारे सोधपुछ भइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक बालिकाकी आमा फूलमायाले पूर्णकुमारसँग केही महिनाअघि मात्र दोस्रो विवाह गरेको बताइएको छ।