• ३ असार २०८१, सोमबार

लोकसेवा आयोगको दुई दिने सम्मेलन सम्पन्न

blog

सम्मेलनमा सहभागी आयोगका अध्यक्षहरु । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन २० गते । लोकसेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा आज सम्पन्न भएको छ । विभिन्न निर्णय गर्दै आयोगको तेस्रो राष्ट्रिय सम्मेलन आज सकिएको हो । सम्मेलनले निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । सङ्घ, प्रदेश तथा स्थानीय तहको पदपूर्ति प्रक्रियामा रहेको अन्याेल हटाउन  निजामती सेवा ऐन चाँडै जारी गर्न अनुरोध गर्ने निर्णय गरिएको हो । 

यसैगरी, लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरुको मर्यादाक्रमसम्बन्धी प्रचलित कानुनी व्यवस्था, नियुक्ती र बर्खास्तको प्रक्रिया तथा वहन गर्नुपर्ने जिम्मेवारीसमेतलाई दृष्टिगत गरी पुनरवलोकन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । नेपाल सरकारले आयोगका अध्यक्ष र सदस्यहरुको मर्यादाक्रम २०७६ वैशाख १६ गते निर्धारण गरेको थियो । 

सम्मेलनले प्रदेश लोकसेवा आयोगको सङ्गठन संरचना र शाखागत कार्य विवरणमा एकरुपता कायम गर्न लोकसेवा आयोगका प्रशासन तथा निरीक्षण महाशाखा प्रमुखको संयोजकत्वमा प्रदेश लोकसेवा आयोगका सचिवहरु सदस्य रहनेगरी समिति गठन गर्ने निर्णय गरेको छ । 

लोकसेवा आयोगका संस्थागत मूल्यहरु योग्यता, निष्पक्षता, स्वच्छताको मूल मर्मअनुसार गोपनीयता एवम् विश्वसनीयता सुनिश्चित हुनेगरी काम गर्ने उद्देश्यले समिति गठन गर्ने जनाइएको छ । 

यस्तै, सङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका कर्मचारीको सेवा प्रवेश, वृत्ति विकासलगायत तीन वटै तहका कर्मचारीको सेवा, शर्त, सुविधाका आधारभूत पक्षमा एकरुपता ल्याउन सङ्घीय निजामती सेवामा समावेश गर्नुपर्ने विषयमा लोकसेवा आयोगले प्रदेश लोकसेवा आयोगहरु समन्वय गर्ने निर्णय गरिएको छ । 

प्रदेश लोकसेवा आयोगहरुले पदपूर्तिका सम्बन्धमा अपनाएका सिद्धान्त तथा मापदण्डमा एकरुपता ल्याउन लोकसेवा आयोगले प्रतिपादन गरेको सिद्धान्त र मापदण्डहरु पालना गर्न गराउन प्रदेश लोकसेवा आयोगलाई आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ । 

लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगको कार्यसम्पादनमा हासिल भएका असल अभ्यासहरु एकापसमा आदानप्रदान गर्ने निर्णय सम्मेलनले गरेको छ । लोकसेवा आयोगको पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिकाको आधारमा प्रदेश लोकसेवा आयोगका पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिकामा सामान्यतया एकरुपता कायम गर्न आवश्यक पहल गर्ने निर्णय गरिएको छ । 

यसैगरी, उपयुक्त उम्मेदवार छनोटका लागि प्रयोगमा ल्याउन सकिने नवीनतम परीक्षण विधिको विकास एवम् प्रयोगका लागि लोकसेवा आयोगले प्रदेश लोकसेवा आयोगहरुलाई आवश्यक सहयोग एवम् सहजीकरण गर्ने निर्णय सम्मेलनमा गरेको छ । साथै, आगामी राष्ट्रिय सम्मेलन २०८० फागुन २३ र २४ गते आयोजना गर्ने निर्णय गरिएको छ । 

लोकसेवा आयोग केन्द्रीय कार्यालयको आयोजनामा दुई दिनसम्म भएको सम्मेलनमा सात वटै प्रदेशका प्रदेश लोकसेवा आयोगका पदाधिकारी र कर्मचारीको सहभागिता थियो । सम्मेलनले धनगढी घोषणापत्र जारी गरेको छ ।